शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
तिहार

कैलालीका दुई पालिकामा कृत्रिम फूलमाला बिक्री गर्न नपाइने

मङ्गलबार, २१ कात्तिक २०८०, ११ : ०९
मङ्गलबार, २१ कात्तिक २०८०

धनगढी । तिहार नजिकिँदै गर्दा कैलालीको दुई पालिकाले सार्वजनिक सूचना नै जारी गरी कृत्रिम फूलमालाको बिक्री वितरणमा रोक लगाएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका र बर्दगोरिया गाउँपालिकाले प्लास्टिकका कृत्रिम फूलमालाको बिक्री वितरणमा रोक लगाएका हुन् ।  

गत वर्षदेखि प्लास्टिक उत्पादन, आयात, भण्डारण, बिक्री र प्रयोगमा बन्देज लगाएको धनगढी उपमहानगरपालिकाले यसपालिदेखि प्लास्टिकका फूलसमेत प्रतिबन्ध लगाएको हो । तिहार लक्षित गरी उपमहानगरपालिका आफैँले फूलखेती गर्नुका साथै २६ जना किसानलाई तालिम दिएर फूल उत्पादन गराएको छ । केही किसानले धनगढीमा पहिलेदेखि नै फूलखेती गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिकाका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थीले यसपालि तिहारमा पूर्णरुपमा प्लास्टिकका फूल माला बिक्री र प्रयोग बन्द गरिने बताए । उनले प्लास्टिकको फूललगायतका कुनै पनि प्लास्टिकजन्य वस्तु आयात, भण्डारण, बिक्री र प्रयोग गरेको पाइएमा ‘धनगढी उपमहानगरपालिका प्लास्टिकजन्य वस्तु प्रतिबन्ध ऐन २०७९’ अनुसार कारबाही गरिने बताए ।

उनले यसै आर्थिक वर्षमा प्लास्टिकजन्य वस्तु बिक्री र प्रयोग गरेको भेटिएर जरिवानामार्फत एक लाख ७० हजार रुपैयाँ राजस्व असुली भएको बताए । उपमहानगरपालिकाले प्लास्टिक बिक्री र प्रयोग गर्नेलाई जरिवाना गर्नुका साथै प्रयोग वा बिक्री भइरहेको प्लास्टिक जफत गर्ने गरेको छ । अवस्थीका अनुसार धनगढी उपमहानगरपालिकाबाट बिक्री गरी अन्य पालिकामा पठाउनसमेत बन्देज लगाइएको छ ।

‘धनगढी उपमहानगरपालिकाभित्र प्लास्टिकका कुनै किसिमको कारोबार गर्न पाइँदैन’ उनले भने, ‘कतिपय व्यापारीले धनगढीमा भण्डारण गरी धनगढी बाहिरका ग्राहक र पसललाई बिक्री गर्ने प्रस्ताव गर्नुभएको थियो । पालिकाले त्यस्तो गर्न नपाइने कुरा प्रस्टै भनेको छ । यस पालिकाले तिहारमा पहिलेको जस्तो गरी प्लास्टिकको फूलमाला बिक्री गर्न पनि पाइँदैन । त्यस्तो गरेको पाइएमा नगर प्रहरी खटाएर जफत गरी जरिवाना तिराउँछौँ ।’

त्यस्तै, बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले प्लास्टिकको फूलमालाले वातावरणमा समेत प्रतिकुल असर पार्ने भएकोले उत्पादन तथा प्रयोग नगर्न, नगराउन सूचना जारी गरिएको बताए । कृत्रिम माला बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि कात्तिकसम्म ६४ हजार ४२० रुपैयाँको १०७ क्विन्टल प्लास्टिक फूल आएकोमा आर्थिक वर्ष २०७७/०७८ मा १४ गुणा बढी भारतबाट आयात भएको थियो । सो वर्ष तिहारसम्म छ लाख ६२ हजार १८३ रुपैयाँको एक हजार ५७५ क्विन्टल कृत्रिम माला भित्रिएको थियो । त्यसपछि नेपालमा ४० माइक्रो एमएम भन्दा कमको प्लास्टिक आयात बन्देज लागेको छ ।

‘उद्योगहरूले प्रयोग गर्ने र्‍यापरको रोल, प्लास्टिक फर्निचर र भाँडालगायत सामानबाहेक प्लास्टिक ब्यागलगायत ४० माइक्रो एमएम भन्दा कमका प्लास्टिक आयात वातावरणीय सुरक्षाका लागि प्रतिबन्धित छ’ कैलाली जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले भने, ‘प्लास्टिकको फूल पनि ल्याउन बन्देज छ ।’

प्लास्टिकका फूल आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको भए पनि बजारमा भने चोरी पैठारी गरी त्यस्ता सामग्री बिक्री भइरहेकै छन् । धनगढीको सरसफाइ शाखा प्रमुख अवस्थीले अनुगमनको क्रममा कतिपय प्लास्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको बताए ।

तिहारमा भारतबाट प्लास्टिकको फूलमालासँगै दियो, बत्ती, मैनबत्ती, झिलमिले बत्तीलगायतका सामानको आयात बढ्ने गरेको छ । धेरैजसो स्थानीयले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुँदा धनगढीसहितका सहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ ।

पछिल्लो समय जिल्लामा फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन । धनगढी उपमहानगरपालिकाले तिहारमा फूलको माग धान्नका लागि नगरभित्रका २६ जना किसानलाई तालिम दिएर फूलखेती गराउनुका साथै आफैँले पनि ११ कट्ठा जमिनमा फूलखेती गरेको छ ।

ती किसानलाई पहिलो पटक फूल खेती तालिम र दोस्रो पटक फूलको बजारीकरण तालिम दिएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । उनले यसपालि ती किसानले गरेको फूलखेतीबाट २० टन फूल उत्पादन हुने अनुमान गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप