बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरी फाउण्डेनद्वारा राहतसँगै ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय

मङ्गलबार, २१ कात्तिक २०८०, १३ : ४१
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ ।

फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरिरहेको हो ।

 चौधरी फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याएको छ । फाउन्डेसनले तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’हरूको खाँचो रहेकाले त्यसका लागि पनि काम गर्ने बताएको छ । ‘भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्दो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहीन हुनु भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पु¥याउनु आवश्यक छ’, फाउन्डेसनले भनेको छ, ‘यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको छ ।’

 स्थानीय प्रशासन÷स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने फाउन्डेसनको भनाइ छ । 

 यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भने, ‘भूकम्पका कारण जाजरकोट, पश्चिम रुकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उनीहरूको पीडामा मलहम लगाउने काममा हामीले कत्ति पनि विलम्ब गर्नु हुँदैन ।’

यही मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउन्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहीन बनेका प्रभावितलाई चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तीव्रता दिने निर्णय लिएको जनाइएको छ । 

फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रुकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको जनाइएको छ । चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीबिच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको हो । 

उक्त सहमतिपछि मेयर वादीले भने, ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्दो छिटो ओतमा पुर्‍याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउन्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीबिच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’ यसै गरी अन्य स्थानीय निकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने फाउन्डेसनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप