बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : यमपञ्चक

शनिबार, २५ कात्तिक २०८०, ०९ : १८
शनिबार, २५ कात्तिक २०८०

‘आमा ! यो यमपञ्चक भनेको भनेको के हो ? अनि यसलाई किन यति बढी महत्त्व दिइएको हो ?’ तिहारको झिलिमिली देखेर दस वर्षीय छोरो सुशान्तले आमा सोभितालाई सोध्यो ।  

‘यमपञ्चक भनेको नेपालीहरूको राष्ट्रिय पर्व हो, जसलाई हामी तिहार भन्छौँ । दसैँपछिको सबैभन्दा ठुलो पर्व पनि यही हो बाबु !’ आमा शोभिताले छोटो उत्तर दिइन् । 

‘यस पर्वमा केके गरिन्छ नि आमा !’ छोरो सुशान्तले थप प्रश्न ग¥यो । 

‘यस पर्वमा काग, कुकुर, गाई, गोरु, गोवर्द्धन पर्वत र दिदीबहिनीले यमराज, यमुना तथा दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्ने गर्छन् । दीपावली गरेर धनकी देवी माता लक्ष्मीको समेत पूजा गर्ने गर्ने गरिन्छ बाबु !’ आमा शोभिताले सम्झाइन् ।  

‘यो काग भनेको कस्तो चरा हो र उसको मात्र पूजा गर्नुपर्नाको कारण के हो नि आमा ?’ छोरोले थप जान्न चाह्यो ।

‘यसो त काग भनेको अरूजस्तै सामान्य चरा हो तर यहाँ चराहरूको प्रतिनिधि पात्र मानेर पूजा गरिएको हो । चराहरू परापूर्व कालदेखि नै मानव जतिलाई शान्ति, सुरक्षा, सरसफाइ, वातावरण आदि क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएका छन् । चराहरू समय सूचक पनि हुन् । उनीहरूको सन्देश हामी बुझ्छौँ, बुझ्दैनौँ छुट्टै कुरा हो तर उनीहरूले मानिसलाई मौसम परिवर्तनको सन्देश दिन छाडेका छैनन् । कागलाई त सन्देश बाहकसमेत मानिन्छ र गाउँघरतिर काग कराउँदा शुभबोल भन्ने गरिन्छ । यस बाहेक उसले कुनै नयाँ चीज वा प्राणी देख्यो भने कराएर मानिसलाई त्यसको जानकारी दिने कामसमेत गर्छ । परेवालाई सूचना आदान प्रदानका लागि व्यावहारिक प्रयोगमै ल्याइएको इतिहास छ । त्यसैले कागको पुजा गरेर यस पर्वले हामीलाई सबै चराहरूप्रति सदैव इमान्दार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको छ बाबु !’ आमाले कागपूजाबारे प्रष्ट्याइन् । 

‘अनि कुकुरको पूजा गर्नुको कारण के होला नि आमा !’ छोराले थप प्रश्न ग¥यो ।

‘कुकुर पनि मानिसको ज्यादै नजिकको हितैषी प्राणी हो । संसारमा एकगाँस जुठोपुरो खाएर अरुका लागि ज्यानै दिन पनि पछि नपर्ने कुनै प्राणी छ भने कुकर नै छ । मानिसले सर्वप्रथम घरपालुवा बनाएको जनावर पनि कुकुर नै हो । उनीहरूको चर्चा वेदमा पनि आएको छ, इतिहास र पुराणमा पनि आएको छ । उनीहरू राजा रामको सहयोगमा पनि पुगेका छन् ।  महाराज युधिष्ठिरको सहयोमा पनि उभिएका छन् । त्यसैले यस पर्वले कुकुर पूजा गर्न लगाएर मानिसको व्यवहार सदैव कुकुरमैत्री हुनुपर्छ भन्ने सन्देश दिन खोजेको छ बाबु !’ आमाले छोराको जिज्ञासा शान्त पार्ने प्रयास गरिन् । 

‘अनि दीपावली गरेर लक्ष्मीको पूजा गर्नुपर्नाको कारण नि आमा !’ छोराको थप प्रश्न थियो ।  

‘माता लक्ष्मीलाई फोहर तथा आलस्य र आपसी झगडा मन पर्दैन । जहाँ यस्तो वातावरण हुन्छ त्यहाँ लक्ष्मी आउँदिनन्, कदाचित आइहाले पनि टिक्दिनन् । त्यसैले लक्ष्मीलाई पाउन उनलाई मन पर्ने व्यवहार गर्नुपर्छ । यो भनेको आपसी मेलमिलाप, सरसफाइ, सहयोग र उज्यालो नै हो । उज्यालोको अर्थ घर आँगन मात्र होइन मन पनि हो । जति घरआँगन उज्यालो हुनुपर्छ त्योभन्दा बढी मन उज्यालो हुनुपर्छ । दीपावली गरेर उनको पूजा गर्नुको उद्देश्य यही हो ।’ आमाले बुझाउने प्रयास गरिन् । 

‘अनि गाई, गोरु र गोवर्द्धन पर्वको पूजा गर्नुको कारण के होला नि आमा !’ छोरोले अर्को प्रश्न ग¥यो ।   

‘यी कार्यलाई खेतीपातीको कामसित जोडेर हेर्नुपर्ने हुन्छ । खेतीपातीका लागि गाई पनि चाहिन्छ  गोरु पनि चाहिन्छ । रुखबिरुवा वनस्पति वा वनजङ्गल पनि चाहिन्छ । त्यसैले गाई, गोरु तथा गोवर्द्धन पर्वतको पूजा गर्नु भनेको मानिसको व्यवहार उनीहरूमैत्री हुनुपर्छ भन्ने हो । यसको सुरुवात कृष्णले द्वापर युगमै गरेका थिए, जतिबेला उनले इन्द्रको पूजा रोकी गोवर्द्धन पर्वतलाई अघि सारेका थिए । हाल हामीले त्यसलाई निरन्तरता दिएका त छौँ तर केवल कर्मकाण्डमै सीमित हुँदै आएका छन् । यसमा भने सुधार हुनुपर्ने देखेको छु बाबु !’ आमाले सम्झाउने प्रयास गरिन् ।

‘अनि दाजुभाइ र दिदीबहिनीको पूजा गर्नुपर्नाको कारण नि आमा !’ छोराले थप जान्न खोज्यो । 

‘यो भनेको प्रेम र सद्भावको आदान प्रदान हो । यतिबेला दिदी बहिनीले यमराज र यमुनाको पूजा गरी दाजुभाइको पनि पूजा गरी दीर्घ जीवनको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई पनि पूजा गरी यथोचित उपहार दिएर प्रेम र सद्भाव प्रकट गर्छन् । दाजुभाइ र दिदी बहिनी भनेका एउटै परिवारका सदस्य हुन् । उनीहरूमा जति बढी प्रेम र सद्भाव कायम हुन सक्यो त्यति नै बढी जीवन सहज हुन्छ । त्यसैले यस पर्वले यस्तो परम्परा बसाएको हो ।’ आमाले सटीक उत्तर दिइन् । 

आफ्ना सबै प्रश्नको उत्तर पाएर सुशान्त निकै खुसी भयो र त्यस दिनदेखि उसले पनि त्यस्तै गर्ने निधो ग¥यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप