मूर्तिकला रामबहादुरको जिउने आधार
कञ्चनपुर । शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।
“विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भने, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनले बताए । “काम गर्न भ्याइ नभ्याइ छ,” उनले भने, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।”
मूर्तिकलानै जीवन जिउने आधार बनेको बिष्टले बताए । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई पछुतो छैन ।
“उच्च शिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो,” बिष्टले भने, “मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिए, अहिले यही पेशा प्यारो लागेको छ, पढाई पूरा गर्न नसकेको पछुतो छैन ।”
नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको बिष्टले बताए । मूर्ति बनाउने तालिम भने उनले लिएका छैनन् । अरुले बनाएका मूर्ति हेर्दै सिक्दै गएको उनको भनाइ रहेको छ ।
“काम गर्दै जाँदा सीप निर्खादै गए, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्न भए,” बिष्टले भने । आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको उनले बताए । काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको कार्य गरेवापत रु दुई हजार पाँच सयप्रति वर्गफिटका दरले उनले ज्याला लिए ।
बिष्टले मूर्ति बनाउनका लागि रु १० हजारदेखि रु ८० हजारसम्म रकम लिन्छन् । “मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु,” उनले भने, “हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठूला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन ।” सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको बिष्टको भनाइ छ । मूर्ति बनाउने कार्यसँगै उनले प्रशिक्षण पनि दिँदै आएका छन् ।
मूर्ति बनाउने कार्यबाट आएको रकमले बिष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिदै आएको छ । यस पेशाबाट आएको रकमले उनले घरघरेडी पनि जोडेका छन् ।
बिष्टले भने, “यस पेशालाई अपनाए पछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु ।” पैशाकै लागि विदेशिने युवालाई उनले स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण