बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री बस्नेतले गरे उर्लाबारी आगजनीका घाइतेहरुसँग भेट

बिहीबार, ३० कात्तिक २०८०, १८ : ३२
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको राती भएको आगजनीमा परेर घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घाइतेहरुको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन मन्त्री बस्नेत बिहीबार कीर्तिपुर बर्न अस्पताल पुगेका थिए । उर्लाबारीमा भएको आगजनीमा घाइते भएकाहरुमध्ये २५ जनाको उपचार कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

अस्पतालका अनुसार उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ भने बाँकीको प्लास्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्री बस्नेतले उपचाररत घाइतेहरु, उनीहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकहरुलाई भेटेर उपचार अवस्थाको जानकारी लिनुका साथै उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिए ।

मन्त्री बस्नेतले उपचारमा कुनै कमी नहुने र सरकारले उपचारमा सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘पैसा नभएको कारण कसैको पनि उपचार रोकिनु हुँदैन । पैसा तिर्न नसक्नेहरुका लागि सरकार छ । सरकारले त्यो कर्तव्य पुरा गर्छ ।’

मन्त्री बस्नेतले जलनका बिरामीहरका लागि कीर्तिपुर अस्पतालले उत्कृष्ट काम गरिरहेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने पनि आश्वासन दिए ।

कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा। शंकरमान राईले उर्लाबारी घटनाका समेत गरी अहिले अस्पतालमा ४४ जना जलनका बिरामीको उपचार भइरहेको जानकारी गराए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए । अस्पतालको जलन विभाग प्रमुख डा। किरण नकर्मीले उर्लाबारी आगजनी घटनाका उपचाररत २५ जना घाइतेमध्ये ५ जनाको भोलि शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी दिए ।

उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप