आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
विश्व

राष्ट्रपति सीको अमेरिका भ्रमणले चिनियाँहरूमा उत्साह !

शुक्रबार, ०१ मङ्सिर २०८०, १५ : १९
शुक्रबार, ०१ मङ्सिर २०८०

चीन । चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमणका क्रममा चीनले गरेको प्रविधिको विकास र चिनियाँ जनजीवनको अवलोकनका लागि आगामी पाँच वर्षभित्र अमेरिकाका ५० हजार युवा चीन यात्रा गर्ने बताएका छन् ।

 अमेरिकाको सान फ्रान्सिस्को भ्रमणमा गएका राष्ट्रपति सीले गरेको सो घोषणालाई चिनियाँ सञ्चार माध्यमले प्रमुखताका साथ प्रसारण गरेका छन् । उक्त समाचारलाई चिनियाँ युवायुवतीले सामाजिक सञ्जालमा चीन–अमेरिका सम्बन्धमा खुसीको खबर भनी सेयर गरिरहेका छन् । 

राष्ट्रपति सी र अमेरिकाका राष्ट्रपति जो बोइडेनबीच भएको वार्ता र संवादका विषयमा चीनका अधिकांश सञ्चार माध्यमले चीन–अमेरिका सम्बन्धका विविधि आयामका बारेमा बहस चलाइरहेका छन् । 

विश्वका दुई महाशक्ति राष्ट्र प्रमुखबीच भएको संवाद र सहमतिले विश्वमा शान्ति स्थापना, चीन अमेरिका सम्बन्धमा नयाँ रणनीतिक दृष्टिकोण, दुई देशका जनताबीचको सम्बन्धमा नयाँ आधारहरू बनेका खबरले चिनियाँहरूमा उत्साह छाएको हो । 

सन् २०१९ मा कोभिड महामारी सुरु भएपछि विश्वकै आर्थिक परिदृश्य बिग्रँदै गएको अवस्था छ । पछिल्लो समय रुस–युक्रेनबीच युद्ध भइरहेको छ । पछिल्लो केही महिनाअघि मात्र सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ । यस्तो विश्व परिवेशमा दुई महाशक्ति राष्ट्र प्रमुखको भेट र सहमतिले विश्व शान्ति तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै आगामी दिनमा जनस्तरको सम्बन्ध विस्तारले विश्वमा शान्तिको बाटोको विकल्प नभएको सन्देश दिन खोजेको छ । 

पछिल्लो समय अमेरिका र चीन दुवैको अर्थतन्त्रमा केही नकारात्मक सूचकहरू देखा परेका छन् । तर चीनले भने पछिल्लो समय आफ्नो अर्थतन्त्रमा केही सकारात्मक बदलाव भएको तथ्याङ्क पेस गरेको छ । 

केही समयअगाडि अमेरिका विदेशमन्त्री र अमेरिकी उद्यमी, अमेरिकीका विपक्षी दलका नेताहरूको चीन भ्रमणले पनि चीन अमेरिका सम्बन्धमा रहेका विवाद वार्ताबाट सुल्झाउन दुवै देश अगाडि बढेको सङ्केत देखिएको थियो ।  

अर्थतन्त्रमा आएको नकारात्मक सङ्केतपछि पछिल्लो समयका चिनियाँहरू कम खर्चालु र अर्थ बचत अभियानमा लागेका छन् । दुई वर्ष यता चिनियाँहरूको वैदेशिक यात्रा कम भएको छ । उनीहरूको किनमेलमा पनि कमी आएको छ । करिब दुई महिनाअघि मात्र चीन सरकारले अर्थतन्त्र सुधार भएको सङ्केत दिएको छ । उसले आन्तरिक पर्यटन यात्रामा जनतालाई घुमाउनका लागि मजदुर दिवस र राष्ट्रिय दिवसमा अतिरिक्त सापटी छुट्टी दिई घुम्नका लागि प्रोत्साहन गरेको छ ।  

राष्ट्रपति सीको अमेरिका भ्रमणका क्रममा चीन–अमेरिकाबीच लामो समयदेखि जारी आर्थिक असहमतिलाई वार्ताबाट समाधान गर्ने गरी २० वटाभन्दा बढी बुँदामा सहमति भएको छ । यी सहमतिका आधारमा दुई देशबीचको सम्बन्धलाई नयाँ कोणबाट विश्लेषण गर्नुपर्ने तर्क चिनियाँ अध्येताले गरिरहेका छन् । 

एक चिनियाँ विज्ञले भनेका छन्, ‘दुवै देशले अर्थतन्त्र सुधारका लागि काम गर्ने बेला हो, अहिलेको अवस्थामा पौँठेजोरी खेल्ने बेला होइन, सहमति र छलफल चाहिन्छ ।’   

शक्ति सम्पन्न दुवै देशले राजनीतिक, कूटनीतिक, मानव संस्कृतिको आदानप्रदान, सुरक्षा र अर्थतन्त्रलाई बलियो बनाउनेका विषयमा सहमति भएकाले नयाँ उत्साह थपिएको हो । 

चीन–अमेरिकाबीच दौत्य सम्बन्धको ४५ औँ वार्षिकोत्सवको अवसर पारेर सन् २०२४ मा दुवै देशले विगतका तिक्तता भुलेर आपसी विश्वास र जनस्तरको सम्बन्ध बलियो बनाउने प्रयास हुने चिनियाँ पक्षले अमेरिकी अधिकारीलाई आस्वस्त पारेका छन् ।   

चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका छन्, ‘शान्तिपूर्ण सहअस्तित्व स्थापना गर्दै चीन र अमेरिकाबीच स्वस्थ सम्बन्ध, दिगो विकासका सहकार्य गरेर अगाडि बढेको छ ।’ चीन र अमेरिकाका राष्ट्रपतिबीचको भेटमा प्रमुख गरी निम्न पाँच विषयको उठानमा जोड दिइएको छ ।  

पहिलोमा दुई देशबीच उचित सहमति कायम हुनुपर्छ । दोस्रोमा संयुक्त रूपमा चीन–अमेरिकाबीचको मतभेदलाई नियन्त्रण गर्नुपर्छ । तेस्रोमा चीन–अमेरिकाबीच आपसी हित हुने सहयोगलाई अगाडि बढाउनुपर्छ । चौथोमा ठूला मुलुक भएका कारण हामीले मिलेर जिम्मेवारी बोध गर्नुपर्छ । पाँचौँमा चीन–अमेरिकाबीच मानवीय र सांस्कृतिक आदान प्रदानलाई अझ बढी अगाडि बढाउनु पर्छ । 

उक्त पाँच बुँदाले चीन अमेरिका सम्बन्ध र विश्व अर्थतन्त्र र विश्वलाई सद्भाव र शान्तिको सन्देश दिने कुरा भएको चिनियाँ विज्ञहरूले व्याख्या गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी अध्ययन, अनुसन्धानका काममा संयुक्त कार्यटोली गठन गर्न नेताद्वय सहमत भएका छन् । जलवायु सङ्कट र त्यसको समाधान गर्न पछिल्लो समयमा चिनियाँ विश्वविद्यालयमा विश्वका विभिन्न विज्ञलाई आमन्त्रण गर्दै अध्ययन, अनुसन्धान सुरु भइसकेको छ । 

ताइवानबारे सीको अडान

चीनको एक मात्र घरेलु मामला ‘ताइवान’ समस्याका बारेमा राष्ट्रपति सीले बाइडेनलाई आफ्नो अडान पुनः स्पष्ट पारेका छन् । अमेरिकाले ताइवानलाई हतियार दिन नहुने, चीनको शान्तिपूर्ण एकीकरणको समर्थनका लागि अमेरिकाले साथ सहयोग हुनुपर्ने भनेका छन् । चीनले ताइवानलाई एकीकृत गरेर छाड्ने चीन नीतिगत अडानका कायम रहेको भनेका छन् । 

चिनियाँ जनता र सैन्य विज्ञले सरकारलाई ‘ताइवान’ मामला समाधान गर्न ढिलाइ भएको सुझाव दिएका छन् । तर चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले ताइवानको शान्तिपूर्ण समाधानमा समयको प्रतीक्षा गरिरहेको बताएको छ । जनता र सैन्य विज्ञहरूले दिएको दबाबलाई सुनेर, बुझेर पनि  उपयुक्त समय आउने भन्दै  ‘ताइवान’ क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको चीनले आफ्नो घरेलु समस्यामा बाह्य देशको हस्तक्षेप स्वीकार गर्न नसक्ने बताएको छ । 

चिनियाँ सैन्य विज्ञहरूले भनेका छन्, ‘ताइवान चीनको घरेलु समस्या हो, त्यसका लागि चीनले उपयुक्त समय कहिले हुन सक्छ भनेर अनेक आयामबाट कुरिरहेको छ ।’ 

पछिल्लो समय इजरायल र हमासबीच गाँजा क्षेत्रमा भएको आक्रमणको दृश्य देखेका ‘ताइवानी’हरूमा मनोवैज्ञानिक त्रास बढेको भन्ने आशयका अभिव्यक्तिहरू चिनियाँ सैन्य विज्ञहरूले दिएका छन् । तर चीनले ताइवान मामिला सौहार्दपूर्ण तवरले समाधान गर्न हरतरह प्रयास गरिरहेको छ । 

सी–बाइडेन भेट अग्रगामी

चीन–अमेरिकाबीच व्यापारिक असमझदारीलाई संवादबाट हल गर्ने, उच्चस्तरीय सैनिक सम्पर्क जारी राख्ने, चीन र अमेरिकाबीच रक्षा मन्त्रालयबीच सहकार्य गर्ने बताइएको छ । त्यस्तै समुद्री सैन्य सुरक्षा, चीन अमेरिकाबीचको हवाइ उडान, शैक्षिक, सांस्कृतिकलगायतका क्षेत्रमा आपसी असमझदारीबाट दु्वै देशका अधिकारीहहरू अगाडि बढ्ने बताइएको छ । 

चिनियाँका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो भने अमेरिकी कम्पनीहरूका लागि चीन सबैभन्दा ठूलो बजार हो । यो समझदारीले विश्व अर्थतन्त्रमा, शान्तिपूर्ण यात्रामा हिँड्नुपर्ने अग्रगामी सन्देश दिएको विश्लेषण समेत हुने गरेको छ । 

चीनले पछिल्लो समय प्रविधिमा मारेको फड्को, विकास परियोजनाको बृहत् सोच, जनताको आत्मबल र मेहनतको परिणाम त्यहाँका हरेक क्षेत्र आत्मनिर्भर भएका छन् । 

अब चीन आन्तरिक रूपमा सबल र सक्षम बनेको छ । ‘हामी आफू मात्र शक्तिशाली भएर हुँदैन, हाम्रा सहयोगी देशहरूलाई पनि समृद्ध बनाउने अभियान चलाउँछौँ’ भन्ने सन्देश अमेरिकालाई दिएको चिनियाँहरूको भनाइ छ ।  

यो भ्रमणभन्दा केही महिना पहिलोदेखि नै चिनियाँ विज्ञहरूले चीन–अमेरिका सम्बन्ध र आगामी दिनमा दुई शक्तिबीच हुनुपर्ने सहमतिका आयामका बारेमा चिनियाँहरूले पूर्वतयारी गरेका थिए ।       

चिनियाँ विद्यार्थीको गन्तव्य अमेरिका 

प्रसिद्ध विश्वविद्यालय पेकिङ र छिङ्वामा अध्ययन गरेका मेधावी चिनियाँ विद्यार्थीको रोजाइको देश अमेरिका हुँदै गएको छ । चीनका सम्पन्न परिवारका छोराछोरी अध्ययनका लागि अमेरिका जाने इच्छालाई चीन सरकारले रोक्न सकेको छैन । हजारौँ चिनियाँहरू निजी खर्चमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेपछि अमेरिकामा काम गरेर उतै बसेका पनि छन् । यस विषयलाई चीन सरकारले पछिल्लो समय चासोसाथ भनेको छ, ‘अमेरिकामा रहेका आफ्ना मेधावी छात्रहरूलाई आफ्नो देशमा फर्काइने छ ।’

पछिल्लो समय पनि चीनका प्रमुख विश्वविद्यालय र मुख्य सहरका सम्पन्न छात्र–छात्राले चीनमा स्नातक र स्नातकोत्तरका लागि अमेरिकी विश्वविद्यालय छनोट गर्ने गरेका छन् । चिनियाँ नयाँ पुस्तामा अङ्ग्रेजी भाषाप्रतिको मोह जागेकोे छ । चीनमा अहिले हरेक विश्वविद्यालयमा चिनियाँ भाषाका साथै अङ्ग्रेजी भाषा पढाइ हुने गरेको छ । 

अङ्ग्रेजी भाषा अध्ययन र अमेरिका भ्रमणमा चिनियाँ युवाहरूको रोजाइ हुनु स्वाभाविक पनि हो ।  

युनान विश्वविद्यालयमा अध्ययतरत एक जना चिनियाँ छात्राले सी–बाइडेन भेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेकी छन्, ‘अमेरिकी युवायुवतीलाई हाम्रो देशमा स्वागत छ, हामी पनि अमेरिका घुम्न जाने समयको प्रतीक्षामा छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप