शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद् अधिवेशन नचलेको समयमा के गर्दैछ संसद् सचिवालय ?

शुक्रबार, ०८ मङ्सिर २०८०, १५ : ०२
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद् अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेका जनाएको छ । 

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन सुनसान बनेको छ । 

यता, सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरूको चाप निकै कम भएको छ । संसद्को अधिवेशन अन्त्य भएको यो बेलामा पनि सङ्घीय संसद् सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरू जारी रहने जनाएको छ । 

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेका बताए । उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि विस्तृत रूपले छलफल  गर्ने बताए ।  त्यसै गरी समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरू समेत गर्ने उनले जानकारी दिए ।  प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरू अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका कामहरू गर्ने गर्छ । त्यसै गरी वेबसाइटहरुलाई परिष्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरू पनि सङ्घीय संसद् सचिवालयले सम्पन्न गर्ने बताए । 

उनले भने, ‘अधिवेशन अन्त्य भएपछि पनि समितिहरू सञ्चालनमै रहेका हुन्छन् । यी अवधिमा समितिमा विचाराधीन विधेयकहरूमाथि समितिमा विस्तृत रूपमा छलफल हुन्छन् । संसद्को अर्को काम सरकारको निगरानी गर्नु पनि हो । यो बिचमा समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरकार अथवा सम्बन्धित मन्त्रालयसँग जानकारी लिने, कार्य प्रगतिको बारेमा बुझ्ने, आवश्यकता अनुसार निर्देश गर्ने लगायतका विभिन्न तरिकाबाट निगरानीको कार्यसम्पादन पनि भइरहेको हुन्छ । त्यसै गरेर सचिवालयले पनि नियमित प्रकृतिका कामहरू, जस्तोः वार्षिक कार्यक्रमहरू यही अवधिमा प्राथमिकता दिएर कार्य सम्पादन गर्छ सचिवालयले । जस्तोः सफ्टवेयरहरु अपडेट, भिडियो व्यवस्थापन, अडियो रेकर्डहरूलाई व्यवस्थापन गर्ने । वेब पेजहरूलाई अझ स्तरिकृत गरेर नयाँ बनाउने काम हुनसक्छ । यस्ता हाम्रा वार्षिक रूपमा स्वीकृत गरिएका विभिन्न कामहरू हुन्छन्, विभिन्न प्रकृतिका कामहरू केही नीतिगत प्रकारका, केही कार्यक्रम आयोजना नै गरेर गर्नुपर्ने हुन्छन् । कतिपय क्षमता अभिवृद्धिका कार्यक्रमहरू हुन्छन् । ती कार्यक्रमहरूलाई सचिवालयले यही समयमा अझ बढी प्राथमिकताका साथ कार्यान्वयन गर्ने गर्दछ ।’

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरू सुचारु अवस्थामा रहेको बताए । उनले कतिपय समितिहरूले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरू गर्ने गरेको बताए । उनले समसामयिक विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने काम पनि समितिहरूले गर्नसक्ने र सोही अनुरूप गरिरहेका पनि बताए । 

पन्थले भने, ‘संसद् अधिवेशन नभए पनि समितिहरू निरन्तर सुचारु हुनसक्छ । समितिमा विचाराधीन भएका विधेयकहरूको विषयमा छलफलहरू गर्न सक्छ । फिल्डमा गएर अनुगमन गर्न सक्छ । अध्ययन, अनुसन्धानका कामहरू गर्न सक्छ । संसद् नहुँदा सांसदकै रूपमा समितिले सरकारलाई ध्यानाकर्षण गराउने, निर्देशन दिने, समसामयिक विषयमा छलफल गर्ने, जनताको समस्या, गुनासोहरूमा जनताको ध्यानाकर्षण गराउने लगायत थुप्रै तरिकाले संसद् सरहकै कामहरू समितिले गर्न सक्छ । ती कामहरू गरिरहेको पनि छ ।’

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप