आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न, ४७ औँ सम्मेलन सिंगापुरमा हुने

शुक्रबार, ०८ मङ्सिर २०८०, १५ : ५६
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै ४६ औँ इफाप्का सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलन अन्तर्गत शुक्रवार भएको समापन सत्रमा इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १४ बुँदे काठमाडौँ घोषणा पत्र जारी गरेका हुन् । 

दिगो पूर्वाधारले आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएतापनि बढ्दो जनसंख्या, शहरीकरण, जलवायु परिवर्तन लगायतका कारण दिगो पूर्वाधारको उद्देश्यमा चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

 प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भएको भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने उल्लेख छ । 

जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदाहरू पनि घोषणापत्रमा समेटिएका छन् । सहरी पूर्वाधार सहित ऊर्जा, यातायात लगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदाहरू घोषणापत्रमा रहेका छन् ।

 इफाप्का आबद्ध सदस्य राष्ट्रहरूबीच अझ बलियो साझेदारी कायम गरिनुपर्ने बुँदा पनि घोषणापत्रमा रहेको छ । दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित मंसिर ५ बाट शुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।  प्रधानमन्त्री सहित मन्त्रीहरु समेत सहभागी सम्मेलनमा स्वदेश तथा विदेशका गरी ४ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए । 

इफाप्का सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई सम्मान गरे ।  जस अन्तर्गत सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्शन प्रा.लिले गोल्ड अवार्ड जितेको छ । यसै विधामा सिल्भर अवार्ड जय विष्णु निर्माण सेवा प्रा.लिले हात पारेको छ । बिल्डिङ कन्स्ट्रक्शन विधामा समानान्तर निर्माण सेवा प्रा. लिले गोल्ड अवार्ड जितेको छ । सिल्भर अवार्ड न्यू टेक्निकल इन्फ्रा प्रा. लिले हात पारेको छ । 

यसैबीच इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रवार आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरेका छन् ।  

लुलाई इफाप्का अध्यक्षको रूपमा निवर्तमान अध्यक्ष सिंहले शपथ गराएसँगै ४७ औँ इफाप्का सन् २०२५ को अप्रिलमा सिंगापुमा हुने भएको छ । नेपालले यस अघि सन् १९९९ मा ३० औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप