आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउँछु: मन्त्री यादव

मङ्गलबार, १२ मङ्सिर २०८०, १६ : १२
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् । 

काठमाडौंवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलवार अर्थमन्त्री डा. प्रकाश शरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन् । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको बताए । मन्त्री यादवले फेरि उपभोक्ता र भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौँ ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिए । 

उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर यो पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाडौँको जनतालाई पानी खुवाउँछौँ ।’

यता, काठमाडौंवासीले भने एक हप्ता भित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ता भित्र पनि सो पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ता भित्र काठमाडौँ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । गौतमकाअनुसार ११ करोड, ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

यसैबिच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनैपनि अवरोध नगरेको स्पष्ट पारे । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप