शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बजेटको आलोचनाबारे मुख्यमन्त्रीको प्रतिवाद

‘सांसदको घर अगाडिको कुलेसोमा पैसा हाल्नुपर्छ भने म मुख्यमन्त्री खान्न, अहिले नै फिर्ता लैजानुहोस्’

मतदानबाट बजेट पारित गर्ने अवस्था आए सरकार सङ्कटमा पारिदिने एमालेको चेतावनी
मङ्गलबार, १२ मङ्सिर २०८०, १९ : ३५
मङ्गलबार, १२ मङ्सिर २०८०

विराटनगर । प्रदेशसभाका अधिकांश सांसदहरूले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको बजेटप्रति गरेको तीव्र आलोचनाको मुख्यमन्त्री केदार कार्कीले खरो प्रतिवाद गरेका छन् ।

कोशी प्रदेश सरकारले गत मङ्सिर ९ गते ल्याएको विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथिको छलफलमा सांसदहरूले मुख्यमन्त्रीको खरो आलोचना गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोलेका सत्ता पक्ष तथा विपक्षका ३१ जना सांसदहरूले बजेट विचारविहीन रहेको र हावादारी भएको टिप्पणी गरेका थिए । 

सांसदहरूले उठाएका यस्ता टिप्पणी तथा प्रश्नको जवाफ दिन आर्थिक मामिला तथा योजनामन्त्रीको समेत हैसियतमा रहेका मुख्यमन्त्री कार्कीले मंगलबारको दोस्रो बैठकमा जवाफ दिएका थिए । त्यस क्रममा उनले आफूले मानवीय विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जिकिर गरे । उनले १० वर्ष मुनिका बालबच्चाको निःशुल्क उपचार गर्ने, भूमिहीन तथा सुकुमबासीले घडेरी किन्नका लागि लिएको ऋणको ब्याज मिनाहा गर्ने, छात्रवृत्तिमा विपन्न समुदायका बालबालिकालाई पढाउने विषयमा सम्झौता गर्नुपरे मुख्यमन्त्रीबाट राजीनामा दिन पनि तयार भएको बताए । 

‘मैले अस्पतालमा बच्चाको उपचार गर्न नसकेर छटपटिँदै रोएका अभिभावकहरु देखेको छु । उनीहरुले नाकमा लगाएका, कानमा लगाएका मात्रै होइन घरमा भएका बाख्रा पाठा, घडेरी बेचेर पनि बच्चा बचाउनलाई कुदिरहेको, रोइरहेको मैले देखेको छु । मलाई माननीयहरूले फोन गरेको पनि मैले थाहा पाएको छु,’ मुख्यमन्त्री कार्कीले भने, ‘ती बच्चाको जीवन बचाउने पैसालाई काटेर म माननीयज्यूहरूको संसद्को घर अगाडिको कुलेसोमा पैसा हाल्नुपर्छ भने म मुख्यमन्त्री छोड्छु, जेल जान पनि तयार छु ।’

उनले लोकतन्त्र चाहियो भनेर निरङ्कुश शासनको विरुद्धमा अगाडि बढ्दै गर्दा छातीमा गोली थाप्न आफू तयार भएको दृष्टान्त दिँदै आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने गरी बजेट ल्याएको जिकिर गरे । ‘जसका लागि हामी यो माननीय पदमा आउन निर्वाचन लड्यौँ, त्यही मान्छेलाई बिर्सिएर, कोट पाइन्ट लगाएर, गाडी र झण्डा हल्लाउन म मुख्यमन्त्री भएको होइन, म सांसद भएको होइन,’ मुख्यमन्त्री कार्कीले भने,  ‘सुरक्षित मातृत्वको लागि, गर्भवती महिलाहरूको सेवा गर्न । आफ्नो बच्चालाई खुवाई नखुवाई समाजका बच्चाहरूलाई भिटामिन खुवाउन जाने, महिलालाई सुत्केरी गराउन लाने र २०–२१ वर्षमा तीनवटा, चार वटा बच्चा पाएका महिलाहरूको सेवामा खट्ने स्वयंसेवीलाई दिएको पैसा मैले माननीयज्यूहरूको आँगनको सडकका लागि बजेट राख्नुपर्छ भने म त्यो सम्झौता गरेर मुख्यमन्त्री खान्न । अहिले नै फिर्ता लैजानुहोस् ।’

उनले विपीको समाजवाद, एमाले अध्यक्ष केपी ओलीको दर्शन र प्रचण्डको जनयुद्धबारे पनि जानकारी राखेको भन्दै उनीहरूले नै उठाएका समाजवादका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेको बताए । ‘मैले विद्यार्थीहरूलाई निःशुल्क रूपमा एउटा गाउँ र पालिकाबाट कृषि र पशुमा छात्रवृत्ति दिएर पढाउनु पर्छ र गाउँमै कृषकहरूलाई सघाउनु पर्छ भनेर राखेको पैसासँग म सांसदले मागेका बजेटसँग साट्न सक्दिन । यही प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भनेर डाक्टर, इन्जिनियर, वकिल, प्रशासन क्षेत्रमा यही प्रदेशका गरिबहरूका बच्चालाई पढ्न राखेको स्कलरसिपको पैसासँग म मेरो पद साट्दिन,’ उनले भने, ‘मैले विपीको इतिहास पढेको छु । मैले केही फरक ढंगले केपी ओली पनि बुझेको छु । जसले जनताका लागि भनेर सामन्ती सक्ने अभियानमा लागेर १४ वर्ष जेल बस्नुभयो । मैले प्रचण्डबाट पनि केही सिकेको छु ।’

मुख्यमन्त्री कार्कीले सांसदहरूले आफ्नो निर्वाचन बाहेक प्रदेशलाई समृद्ध बनाउने तिर नसोचेको पनि बताए । ‘आफू निर्वाचन भएको क्षेत्र बाहेक यो बजेटमा अरू पल्टाएर हेर्‍यौँ ? आफ्नो निर्वाचन क्षेत्र हेर्दै गर्दा भर्खरै बगाएको हेवा खोलाको पुल बनाऊँ भनेर कसैले भन्यो ? तपाईंको बजेट हेवा खोलाको पुल बनाउन हालेको छु । तपाईको अध्यादेशमा त्यो बजेट थिएन । लोकका लागि हामीले बजेट विनियोजन गर्नुपरेन ?,’ उनले प्रश्न गरे, ‘विचारविहीन बजेटलाई विचार दिएको छु । आत्मा नभएको मन्दिरमा आत्मा भरिएको छ । यो बजेट लोकको घरमा पुगेको छ । लोकको घरमा पुर्‍याउन खोजिएको छ ।’

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटमा मन्त्रीहरू हात्ती हुने र त्यही पार्टीका सांसदहरू मुसा हुने अवस्था रहेको उनले बताए । ‘एकातिर हात्तीको रूप छ एकातिर मुसाको रूप छ । त्यो खालको बजेटको आकार थियो । त्यसलाई केही मिलाउनु पर्छ भन्ने लागेको हो । त्यसकारण मलाई मुख्यमन्त्री बनाउने पार्टी र विश्वासको मत दिने सबै माननीयहरूलाई समान हिसाबले हेर्नुपर्छ भन्ने सिद्धान्तका आधारमा केही गर्न खोजियो । काटिने पनि रिसाउने, थपिने पनि थोरै भयो भनेर रिसाउने अवस्था आयो,’ उनले भने, ‘माननीयहरू, पालिका प्रमुखहरू र मेरै पार्टीका ठुला भनिएका नेताहरूले आफ्नो घर नजिकको बाटो, आफूले नेतृत्व गरेको विद्यालय, आफू सम्मिलित सामुदायिक भवन र मन्दिर बाहेक कुनै पनि चिट दिनुभएन । समग्र प्रदेशको विकासमा कसैले सुझाव दिएन । अब यो बहस हुनुपर्छ ।’

उनले पर्याप्त बजेट नराखिएको र हावादारी कार्यक्रम कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न सांसदहरूले उठाएको भन्दै आफूले जसरी पनि पुरा गरेरै छोड्ने दाबी गरे । ‘बच्चाको उपचारका लागि छुट्याइएको पैसा पर्याप्त छ । अपुग भए प्रदेश सरकारले अन्य भौतिक योजना काटेर पनि पहिले मान्छे बचाउने अनि बाटोमा हिंड्छ । भविष्यको कर्णधार बचाउनका लागि हामी केही कम्प्रमाइज गर्न सक्छौँ । यसलाई कार्यविधि बनाएर केही ठुला अस्पताललाई पनि दायरामा ल्याएर सरकारी र निजी अस्पतालसँग सम्झौता गरेर जति लाख लाग्छ त्यति तिरेर बच्चाको उपचार प्रदेश सरकारले गर्छ,’ उनले भने । उनले अर्को पटकको बजेटमा ५० लाख भन्दा मुनिका समावेश नगर्ने दिशामा सरकार गएको बताए । यस्तै बजेटले महिला र युवालाई उद्यमी बनाउने दाबी पनि गरे । 

काँग्रेसकै सांसदको विरोध

यसअघि विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै काँग्रेसकै सांसदहरूले मुख्यमन्त्रीको आलोचना गरेका थिए । काँग्रेस सांसद खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले बजेटमाथि अन्धाधुन्ध डाडुपन्यु चलाएको आरोप लगाए । ‘हिजो पाखेको खानामा सेलाएको थियो, त्यसमा उहाँले केही तातो खाना बनाएर मोलेर जथाभाबी डाडुपन्यु चलाउनुभयो,’ उनले भने, ‘त्यसैले स्वाद राम्रो आएन । त्यसकारण असन्तुष्टि हुने नै भयो ।’

काँग्रेसकै सांसद गोपाल तामाङले यसअघि अध्यादेशबाट आएको बजेटमा आफ्नो क्षेत्रमा आएको बजेटका १३ योजना काटिएको भन्दै उनले त्यसलाई सच्याउन माग गरे । १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भएको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्ने बताए । 

काँग्रेसका सांसद गोविन्द गिरीले सांसदले छानेको एक करोड बराबरको योजना समावेश गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएको भए पनि आफ्नो योजना खल्तीमा मात्र सीमित भएको गुनासो गरे । काँग्रेस सांसद शोभा चेम्जोङले सांसदहरूको गुनासो सम्बोधन गर्न बजेट संशोधन गरेर जानुपर्ने बताइन् । काँग्रेस सांसद प्रदीप सुनुवारले बजेटप्रति सांसदहरूले उठाएको गुनासो जायज भए पनि गोजीबाट निकालेर बजेट वितरण गर्ने प्रणाली अन्त्य हुनुपर्ने बताए । 

यसैबिच प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको र मनपरी रूपमा बजेट विनियोजन गरेको भन्दै प्रदेशसभा बैठकमा नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । संसद्मा एमालेको तर्फबाट सम्बोधन गर्दै दलका उपनेता रामबहादुर राना मगरले मुख्यमन्त्रीको रवैयाको कारण बजेटलाई समर्थन गर्न सक्ने अवस्था नरहेको बताए । बजेटमा मतदान गर्ने अवस्थासम्म मुख्यमन्त्री गम्भीर नभए प्रदेश सरकार सङ्कटमा पर्ने उनको चेतावनी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप