शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
विकास निर्माण

जुम्ला विमानस्थल विस्तार : बजेटबिनै अघि बढाइयो जग्गा अधिग्रहणको कार्य

जस लिन सांसदहरुबिच होड
बुधबार, १३ मङ्सिर २०८०, ०६ : १८
बुधबार, १३ मङ्सिर २०८०

सुुर्खेत । कर्णालीका हिमाली जिल्लाका विमानस्थलमध्ये सबैभन्दा सहज मानिन्छ जुम्ला विमानस्थल । तर, राज्यको उपेक्षाका कारण यो विमानस्थल अहिलेसम्म पनि विस्तार हुन सकिरहेको छैन ।

संघीयतापछि यो विमानस्थल विस्तारका नाममा केही बजेट छुट्याउने काम सुरु भयो । यद्यपि विस्तारको कार्य भने अघि बढेन । सञ्चालनमा आएको दुई दशकपछि बल्ल विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ, त्यो पनि बजेटबिनै । 

विमानस्थलको धावनमार्ग विस्तार, नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । केन्द्रकै निर्देशन बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको छ ।

विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ जग्गा अधिग्रहण गर्नुपर्ने छ । तर, जग्गा अधिग्रहणका लागि भने बजेट नभएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले रातोपाटीलाई बताए । धावनामार्ग विस्तार र जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) को लागि चार करोड ४२ लाख रकम विनियोजन गरिएको थियो । दर्जनौँ व्यक्तिको जग्गा अधिग्रहणबापत मुआब्जा दिनका लागि भने बजेटको व्यवस्थापन नभएको उनले बताए ।

‘क्यानको पत्रका कारण अधिग्रहण गर्ने कामको प्रक्रिया मात्र अघि बढाउने काम भएको हो, सबै काम सक्न केही समय लाग्छ,’ उनले रातोपाटीसँग भने, ‘सबै माननीयज्यूहरुले काम अगाडि बढाउँदै गर्नुहोस्, हामी बजेटका लागि पहल गर्छौँ भनिरहनु भएको छ । कानुनी प्रक्रिया र डकुमेन्ट तयार गर्ने काम गरिरहेका छौँ ।’

चन्दननाथ नगरपालिका–१, मा रहेको यो विमानस्थलको रनवे अहिले ६७५ मिटर लम्बाई र २० मिटर चौडाई छ । उक्त रनवेलाई बढाएर १ हजार ५० मिटरको धावनमार्ग बनाउने योजना रहेको अधिकारी बताउँछन् । पूर्वतर्फ २९० र पश्चिमतर्फ ८५ मिटर धावनमार्ग विस्तार गर्नुपर्ने छ ।

विमानस्थल विस्तारको डीपीआर बनेको चार वर्ष बिते पनि राज्यको उपेक्षाका कारण यो विमानस्थल विस्तारमा ढिलाई भएको सरोकारवाला बताउँछन् । डीपीआर चार वर्षअघि नै नागरिक उड्डयन प्राधिकरण र बुद्ध एअरले तयार गरेका थिए ।

चन्दननाथ नगरपालिका–१ का वडाध्यक्ष तिलक प्रसाद न्यौपानेका अनुसार अधिग्रहण गर्ने क्षेत्रमा ५० भन्दा बढी किसानको खेतीयोग्य जमिन पर्दछ । यसअघिको डीपीआर रिपोर्ट अनुसार किसानलाई ४८ करोड रकम मुआब्जा दिनुपर्ने छ । तर, बजेटको व्यवस्थापन नै नगरेर अधिग्रहणको कार्य अगाढि बढाउँदा जनता भड्किने आशंका उनको छ ।

उनले रातोपाटीसँग भने, ‘अहिले प्रारम्भिक सूचना निकालेको हो तर, जग्गा धनीले दिन मान्ने हुन् कि हैनन् भन्ने विषयमा अहिले छलफल भएको छैन । कसैले नदिन पनि सक्छन्, सुर्खेत विमानस्थलको जस्तै अवस्था नहोला भन्न पनि सकिन्न ।’

सुर्खेत विमानस्थलमा नागरिकहरुले जमिन दिन नमानेकै कारण अहिलेसम्म विस्तारको कार्य अघि बढ्न सकिरहेको छैन ।

न्यौपानेका अनुुसार कतिपय नागरिकले जमिन दिन चाहेका छन् भने कतिपयले हाम्रो सबै खेतीयोग्य जमिन जान्छ, हामी सकुमवासी हुन्छौँ भनिरहेका छन् । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रक्रिया मात्र अघि बढेको र मुआब्जाका लागि बजेटको व्यवस्थापन गर्ने विषयमा आफूहरु लागिरहेको बताएका छन् । सांसद कान्तिका सेजुवाल भन्छिन्, ‘प्रक्रिया पूरा गर्न केही महिना लाग्छ, त्यो बेलासम्म बजेटको व्यवस्थापन गर्न हामी पहल गर्छौं ।’

सधैँ राज्यको उपेक्षामा परेको विमानस्थलको इतिहास

पञ्चायतकालमै अदानसिंह कठायत लगायतको पहलमा विमानस्थल निर्माणको कार्य अघि बढेको थियो । यद्यपि धावनमार्ग कालोपत्रे भने निकै पछि भयो । ०५५ सालमा यसको कालोपत्रेसहितको स्तोरन्नति गरियो । ०५५ पुसबाट साना जहाज सञ्चालनमा आउन थालेका थिए । साविक कर्णाली सडकको पहुँचमा नजोडिँदै प्लेन देख्न पाएका थिए जुम्लावासीले । गाडी देख्नुभन्दा पहिलानै प्लेन देख्न पाउँदा जुम्लावासीको मन रमाएको थियो । तर, विमानस्थल विस्तार नहुँदा यो विमानस्थलमा दुर्घटनाहरु बढे ।

२०५५ साल माघ ३ गते यो विमानस्थलमा नेकोन एअरको सिङ्गल इन्जिन भएको विमान रनवेमै दुर्घटना भएको थियो । जुम्लाबाट नेपालगन्जका लागि उडेको उक्त विमान धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । त्यसपछि अहिलेसम्म अरु दुई वटा दुर्घटना भएका छन् यहाँ ।

०६३ असार ७ गते यति एरलाईन्सको विमान दुर्घटना हुँदा चालक दलका ३ जनासहित ८ जनाको मृत्यु भयो । सुर्खेतबाट जुम्ला उडेको विमान जुम्ला विमानस्थलमै दुर्घटना भएको हो । यस्तै २०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको नाइएन एइभी विमान अवतरणका क्रममा दुर्घटना भयो । विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने पूरै ध्वस्त भयो ।

विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तोरन्नतिका लागि पटक–पटक आवाज नउठेको होइन । शान्ति प्रक्रियापछि नेताहरुले विमानस्थल विस्तारलाई चुनावी एजेण्डा बनाए । तर, पनि राज्यले विमानस्थल विस्तारका लागि पहल गरेन ।

‘धावनमार्ग विस्तार भइ ठुला जहाजहरु सञ्चालनमा आएको भए जुम्ला विकासको अग्रपथमा लम्कीसकेको हुन्थ्यो,’ वडाध्यक्ष तिलक न्यौपाने भन्छन् । उनका अनुसार ठुला जहाजहरु जुम्लाबाट अन्त पनि सञ्चालन हुने अवस्था भइदिए कर्णालीको राजधानी नै जुम्ला हुने सम्भावना हुन्थ्यो तर, त्यसो हुन सकेन । धावनमार्ग विस्तारपछि जुम्लाको आर्थिक विकासमा पनि चलायमान हुने अपेक्षा उनको छ ।

जुम्ला विमानस्थलमा १६ सिटे जहाज अवतरण हुने गरेका छन् । पछिल्लो समय सीता, तारा र समिट एयरलाईन्सका साना जहाज चलिरहेका छन् । जहाज दुर्घटना भएपछि अहिले जुम्ला–सुर्खेत हवाई उडान हुँदैन । अहिले जुम्ला–नेपालगंज बाहेक जुम्लाबाट उडान हुँदैन ।

विमानस्थलका प्रमुख अधिकारीका अनुसार अहिले प्रतिदिन एकदेखि तीन वटासम्म उडान हुने गरेका छन्, त्यो पनि यात्रुको अवस्थालाई हेरेर । उनका अनुसार विमानस्थलको टर्मिनल हल पनि निकै पुरानो भइसकेको छ । त्यसको पनि स्तोरन्नति गर्नुपर्ने देखिन्छ ।

जनयुद्धमा जुम्ला आक्रमण हुँदा टर्मिनल हलमा पनि क्षति पुगेको उनी बताउँछन् । ‘कर्णालीकै हव भएकाले स्मार्ट टर्मिनल हल, टावर आवाश्यक हो,’ उनले भने, ‘प्रहरी आवासगृह पनि निकै पुरानो भइसकेको छ । यो पनि बनाउनु पर्ने छ । कर्मचारी आवास चाहिँ ०७३ सालमा बनेको हो ।’

वडाध्यक्ष न्यौपाने ठुला जहाजहरु नियमित रुपमा सञ्चालनमा आई पोखरा, काठमाडौँसम्म उडान भए हिमाली क्षेत्रको पर्यटनदेखि आर्थिक विकासका ठुलो योगदान पुग्ने बताउँछन् । ‘ठुला जहाजहरु आउने भएभने यहाँबाट हुम्ला, मुगु, डोल्पा, बाजुराका जनतालाई सहज हुन्छ,’ उनी भन्छन्, ‘कर्णाली राजमार्गको अवस्था दयनीय छ, पर्यटकहरु यहीँबाट आउँछन् ।’

जस लिन सांसदहरुबिच प्रतिस्पर्धा

जग्गा अधिग्रहणको कार्य अगाडि बढेसँगै जस लिनका लागि सांसदहरुबिच होडबाजी चलिरहेको छ । माओवादीकी छिरिङ ल्हामु लामा, राप्रपाका ज्ञानेन्द्र शाही र नेपाली कांग्रेसकी कान्तिका सेजुवालबिच अधिग्रहण कार्यको पहल गरेको भन्दै जस लिन होडबाजी नै चलेको छ । अधिग्रहणको समाचार आएपछि सांसद शाहीले सामाजिक सञ्जालमा लेखे, ‘अन्ततः हामी सपनाको नजिक छौँ ।’

उनको जवाफमा माओवादीकी सांसद लामाले कडा प्रतिवाद गरेकी छन् । उनले भनेकी छन्, ‘सत्य र झुटको फैसला प्रमाणले गर्नेछ, अरुले दुःख गरेको काममाथि हस्ताक्षेप गर्न आज तिमीहरूलाई जति सजिलो भएको छ, त्यति गाह्रो प्रमाणित गर्न हुनेछ, यो मेरो चुनौती हो तिमीहरूलाई ।’

सुदन किराती मन्त्री बनेसँगै सुरुममा आफूले नै विमानस्थल विस्तारका लागि ज्ञापनपत्र बुझाएको उनको भनाइ छ । आफुले तीन जोर जुत्ता सिंहदरबारभित्रको मन्त्रालय धाउँदा फटाएको बताउँदै लामाले आफूले गरेको दुःखमाथि अरुले हस्तक्षेप गर्न नहुने तर्क गरेकी छन् । ‘जनतामा भ्रम छाड्नेहरुसँग मेरो सहकार्य कदापि हुने छैन, झुट र छलको साथ अघि बढ्नेहरुसँग मेरो सहमति हुने छैन,’ उनले लेखेकी छन्, ‘एक्लै लड्नेछु तर सत्यको बाटो छोडिन्न ।’

जुम्ला विमानस्थलको धावनमार्ग बढाउने र ४४ सिटे प्लेन जुम्लाको माटोमा ल्यान्डिङ गराउने आफ्नो लक्ष्य रहेको पनि उनले बताएकी छन् ।

यता कांग्रेसकी सांसद सेजुवालले भने अर्थमन्त्री कांग्रेसकै भएको र बजेट छुट्याउनेदेखि डीपीआरको काम पनि आफ्नो पहलमा भएको बताइरहेकी छन् । डीपीआर बन्दा उनी चन्दनाथ नगरपालिकाको मेयर थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप