सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर

सोमबार, ११ साउन २०८३, १५ : १०
सोमबार, ११ साउन २०८३

सारांश

  • दिल्ली उच्च अदालतले 'काला हिरणः द ब्याटल फर लिगेसी' नामक फिल्मको टिजर र सम्बन्धित सामग्री सामाजिक सञ्जालबाट हटाउन आदेश दिएको छ ।
  • सलमान खानले फिल्मको टिजरले आफ्नो छवि र व्यक्तिगत अधिकारमा असर पारेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
  • फिल्मका निर्माता अमित जानीलाई अदालतले कानूनभन्दा माथि नचल्न चेतावनी दिएको छ ।

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानसँग सम्बन्धित रहेको भनिएको फिल्म ‘काला हिरणः द ब्याटल फर लिगेसी’ फेरि समाचारमा छ ।

दिल्ली उच्च अदालतले फिल्मको टिजर हटाउन आदेश दिएको छ । अदालतले फिल्मका निर्माता अमित जानीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालबाट टिजरसहित सम्बन्धित सामग्री हटाउन निर्देशन दिएको हो । यो फिल्म सन् १९९८ को चर्चित कालो हरिण शिकार प्रकरणबाट प्रेरित भएको बताइएको छ । फिल्मको टिजर सार्वजनिक भएपछि सलमान खानले आफ्नो छवि र व्यक्तिगत अधिकारमा असर परेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सुनुवाइका क्रममा अदालतले सामाजिक सञ्जाल एक्स र युट्युबमा रहेका टिजर तथा अन्य सम्बन्धित लिंक हटाउन आदेश दिएको छ । साथै, निर्माता अमित जानीलाई कडा टिप्पणी गर्दै अदालतले आफू कानूनभन्दा माथि रहेको जस्तो व्यवहार नगर्न चेतावनी दिएको छ । अदालतले निर्माता पक्षका कानुनी प्रतिनिधिलाई सम्बोधन गर्दै यसअघि कुनै आदेश जारी नभएकाले उनीहरूको दुस्साहस बढेको टिप्पणी गरेको थियो । अदालतले सामान्य नागरिकप्रति पनि यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

निर्माता अमित जानीका वकिलले भने यो केवल टिजर मात्र भएको र त्यसमा सलमान खानको नाम उल्लेख नगरिएकाले उनको व्यक्तित्व अधिकार उल्लङ्घन नभएको दाबी गरेका थिए । उनले टिजरमा कुनै डीपफेक वा कृत्रिम बौद्धिकता (एआई)बाट तयार गरिएको भिडियो प्रयोग नगरिएको पनि बताएका थिए। ।

यता, सलमान खानका वकिलले नाम उल्लेख नगरिए पनि फिल्ममा देखाइएको पात्रको स्वरूप, कथावस्तु र प्रस्तुतिले सलमान खानलाई स्पष्ट रूपमा संकेत गरेको तर्क गरेका छन् । उनका अनुसार यसले अभिनेता सलमान खानको सार्वजनिक छविमा नकारात्मक असर पार्न सक्छ । सलमान पक्षले कालो हरिण शिकार प्रकरणका चार मुद्दामध्ये तीनमा सलमान खानले सफाइ पाइसकेको र बाँकी एक मुद्दामा सजाय कार्यान्वयन रोकिएको स्मरण गराउँदै फिल्मले पुरानो विवादलाई नयाँ ढंगले प्रस्तुत गरी उनको प्रतिष्ठामा क्षति पुर्‍याउने प्रयास गरेको दाबी गरेको छ । साथै, फिल्मले विश्नोई समुदायलाई पनि सलमान खानविरुद्ध उक्साउन सक्ने आशंका व्यक्त गरिएको छ ।

यो विवाद फिल्मको पहिलो पोस्टर सार्वजनिक भएपछि सुरु भएको थियो। पोस्टरमा मुख्य कलाकार काशिफ इकबाल खानको स्वरूप सलमान खानसँग मिल्दोजुल्दो देखिएको थियो । त्यसपछि सार्वजनिक भएको टिजरमा सलमान खान र ग्याङ्स्टर लरेन्स विश्नोईबाट प्रेरित पात्रहरू देखाइएको तथा कालो हरिण प्रकरणको स्पष्ट सन्दर्भ समावेश गरिएको थियो । टिजरमा फिल्म विश्नोई समुदायलाई समर्पित गरिएको उल्लेख गरिएपछि विवाद थप चर्कियो ।

यद्यपि बढ्दो विवादपछि निर्माता पक्षले आफ्नो फिल्म कुनै एक व्यक्तिलाई लक्षित गरेर नबनाइएको दाबी गरे । अदालतमा यस मुद्दाको थप सुनुवाइ अझै जारी रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप