सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

मुख्यमन्त्रीको पालिकामा ४ महिनादेखि नगर अस्पताल बन्द

पालिकाभित्रको राजनीतिक द्वन्द्वले सर्वसाधारण मर्कामा
बुधबार, १३ मङ्सिर २०८०, १२ : ४२
बुधबार, १३ मङ्सिर २०८०

बारा (सिम्रौनगढ) । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको गृह क्षेत्र सिम्रौनगढ नगरपालिकामा आकस्मिक सेवासहितको नगर अस्पताल ४ महिनादेखि बन्द भएको छ । दक्षिणमा भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका मुख्यमन्त्री यादवको निर्वाचन क्षेत्र हो । यसै पालिकाको वडा नं २ मा यादवको घर छ ।

सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा सबै तहका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख गरेको छ । तर मुख्यमन्त्रीकै पालिकामा जसपा र नेपाली कांग्रेसबिचको राजनीतिक द्वन्द्वका कारण आकस्मिकसहितको स्वास्थ्य सेवा ठप्प छ ।

सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद यादवले पुराना स्वास्थ्यकर्मीलाई हटाएर आफूखुसी कर्मचारी भर्ना गर्न खोजेपछि सुरु भएको द्वन्द्वले स्वास्थ्य क्षेत्र पूरै प्रभावित भएको छ । १५ महिनादेखि सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलन र धर्नामा छन् भने सर्वसाधारणहरू सामान्य उपचारका लागि पनि कलैया, वीरगञ्ज, छिमकी मुलुक भारततर्फ जान बाध्य छन् ।

h1

सिम्रौनगढ नगरपालिका वडा नं ६ अमपुरका ६४ वर्षीय दयाली सिंहले नगर अस्पताल बन्द हुँदा उपचारमा धेरै समस्या भएको बताए । ‘सानो बिरामी हुँदा पनि उपचार गर्न हामी वीरगञ्ज, भारत जानुपरेको छ । खर्च पनि धेरै लाग्छ, धेरै समस्या छ,’ सिंहले भने, ‘यहाँका नेता कुनै काम लाग्ने छैनन्, मेयरले पनि केही काम गरेको छैन, कुनै समस्या समाधान गरेको छैन । शिक्षक, कर्मचारी, डाक्टरले तलब पाउन सकेका छैनन्, विकास पनि केही भएको छैन ।’

नगरपालिकाभित्रको राजनीतिक द्वन्द्वका कारण स्वास्थ्यकर्मीले १४ महिनादेखि तलब सुविधा पाएका छैनन् भने नगरप्रमुख किशोरी प्रसाद यादवले पुराना करारका स्वास्थ्यकर्मीलाई हटाएर नयाँ भर्ना गर्न खोजेपछि अस्पतालमा विरोधको सुरुवात भएको हो । १५ शय्याको नगर अस्पतालमा २७ जना स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये २४ जना करारका कर्मचारी छन् ।

सिम्रौनगढ नगर अस्पतालका ल्याब इन्चार्ज श्यामसुन्दर प्रसाद कुशवाहाले  साढे ४ महिनादेखि  अस्पताल ठप्प भएको बताए । ‘अस्पताल सञ्चालन हुँदा प्रत्येक दिन ८० देखि सय जनासम्म बिरामी उपचारका लागि आउँथे, अहिले पनि दिनको २०÷२५ जना आउँछन्,’ उनले भने, ‘लगभग १४÷१५ महिनादेखि हाम्रो तलब आएन, नगरपालिकाबाट अब पठाइदिन्छु भन्छन् तर असार ३० गतेसम्म तलब नपाएपछि हामी आफैँले बन्द गरेका हौँ ।’

नगर अस्पतालका लामो समय अस्पताल बन्द हुँदा सुगर, युरिया, किड्नी, लिपी प्रोफाइल, सोडियम, पोटासियम, क्यालसियम लगायतका ल्याबमा प्रयोग हुने सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । सो अस्पतालले ओपीडी, इमरजेन्सी, एक्सरे, अल्ट्रासाउन्ड, हातखुट्टा भाँचिएको अवस्थामा प्लस्टर, गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण लगायतका सुविधा प्रदान गर्दै आएको थियो ।

नगर अस्पतालका फर्मासिस्ट रविन हुसेनले नगरप्रमुखले पत्र काटेर तलब नै नदिई अस्पतालमा कार्यरत करारका सबै कर्मचारीलाई हटाएपछि आन्दोलन गर्नुपरेको बताए ।

h3

‘स्रिमौनगढ नगरपालिकाभरि २४ घण्टा चल्ने कुनै अस्पताल छैन, यो अस्पताल बन्द भएर यहाँका जनताहरूलाई धेरै गाह्रो भएको छ,’ फर्मासिस्ट हुसेनले भने, ‘अहिले पनि धेरै बिरामी आउँछन्, अस्पताल किन नखोलेको भन्दै गाली गरेर, चित्त दुखाएर जान्छन् । हामी आफैँ पीडामा छौँ, कसरी खोल्ने ?’

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले म्याद थप भएर १५ महिनादेखि रोकिएको सेवा, सुविधा पाउनासाथ अस्पताल सञ्चालन गर्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा सो पालिकाका ११ वटा वडामध्ये ८ वटा वडा नेपाली कांग्रेस, २ लोसपा र एउटामा जसपाले जितेको छ । झट्ट हेर्दा कार्यपालिकामा बहुमत रहेको कांग्रेसका वडाध्यक्ष र नगर प्रमुखबिच द्वन्द्व जस्तो देखिए पनि पूर्व नगरप्रमुख विजयशंकर यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवबिचको द्वन्द्वले पालिकाका सबै काम ठप्प भएको वडाध्यक्षहरूको भनाइ छ ।

राजनीतिक रूपमा सिम्रौनगढ नगरपालिका नेपाली कांग्रेसको राम्रो पकड भएको क्षेत्र मानिन्छ ।  सोही पालिका अन्तर्गतको बारा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजनीतिक थलो पनि उही हो । चालु आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कानुनी रूपमा नगरसभा सम्पन्न हुन सकेको छैन । जसका कारण पालिकाको खाता खुल्न नसक्दा सबै काम ठप्प प्रायः छ ।

सिम्रौनगढ नगरपालिका वडा नं ४ का वडाध्यक्ष अवधेश कुमार सहनीले मुख्यमन्त्रीको इशारामा नगरप्रमुख चलेको बताए । ‘प्रमुखले नगरपालिका भित्रको समस्या समाधानभन्दा पनि मुख्यमन्त्रीले जे जे भन्नुहुन्छ, त्यही गर्नुभएको छ,’ वडाध्यक्ष सहनीले भने, ‘अहिले नगरपालिकाको सबै काम ठप्प छ, शिक्षा, स्वास्थ्य कर्मचारी आन्दोलनमा छन् ।’

talabandi

पछिल्लो समय २५ प्रतिशत सदस्यसहित नगरप्रमुख यादवले आफ्नै निवासमा नगरसभा गरेका थिए । सो नगरसभालाई वडाध्यक्षहरू मान्न तयार छैनन् भने नगरप्रमुख यादव नगरसभा सम्पन्न भइसकेको दाबी गर्दछन् ।

नगरप्रमुख यादवले नगरसभा सम्पन्न भइसकेकोले केही दिनमा नगरपालिकाको खाता खोलेर तलब खुवाउने बताए । उनले नगरअस्पतालले २ वर्षदेखि राजस्व जम्मा नगरेकाले तलब खुवाउन नसकेको बताए । ‘पुरानो मेयरसाबको पालामा २६३ जना करारमा कर्मचारी भर्ना गर्नुभयो, त्यत्रो कर्मचारी राखेर नगरपालिका तलब खुवाउन सक्दैन, आवश्यक कर्मचारी बसौँ, बाँकी आ–आफ्नो घर जानुस्,’ नगरप्रमुख यादवले भने, ‘खाली विवाद कर्मचारीको हो, अरु केही छैन ।’

अस्पतालमा जम्मा भएको राजस्वको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप