बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’ सुरु

बिहीबार, १४ मङ्सिर २०८०, १५ : १८
बिहीबार, १४ मङ्सिर २०८०

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘चेपाङलाई बिजुली कार्यक्रम’ अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी काम भइरहेको छ ।

राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ । खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।  

विद्युत् विस्तार गर्ने क्रममा वडा नं ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको उनले बताए । रु ३१ करोडको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौँले काम गरिरहेको र विद्युत्को कामका लागि स्थानीयस्तरबाट समेत सहयोग भइरहेको उनले बताए । “मजदुरसँगै स्थानीयले काम गरिरहेका छन्, विद्युत् नपुगेको ठाउँमा पुर्‍याउने र काठेपोल विस्थापित गर्ने अभियानमा लागेका छौँ”, अध्यक्ष मल्लले बताए ।

सहजरूपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि यहाँ सहज हुने छ । यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैँचा उद्योग खोल्नेलगायतका योजना अघि बढेको अध्यक्ष मल्लले बताए । विद्युत् उपलब्ध भएपश्चात घरैबाट गलैँचाको काम गर्न सकिने उनले बताए । 

आगामी वैशाख महिनासम्म यस क्षेत्रमा विद्युत्बाट बत्ती बाल्ने योजना रहेको र सँगसँगै बाटो सफा गर्ने अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ । राक्सिराङ भौगोलिकरूपमा विकट रहेको गाउँपालिका हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप