शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

कुच्चिएको थर्मस

शनिबार, १६ मङ्सिर २०८०, ०७ : ३१
शनिबार, १६ मङ्सिर २०८०

उसको शरीर लखतरान देखिन्थ्यो । कागजका गिलास भरिएको झोला भित्ताको काँटीमा झुन्ड्याउँदै उसले सोधी, “बाबा खोइ त ?” 

“दिनभरि त कोठामा सुतेर बस्नुभएको थियो, एक घण्टा भयो, कता निस्कनुभयो ।” छोरीले भनी । 

“भाइले खाना खाएर सुतेको हो ? बाबाले नि ?” उसले सोधी । 

“भाइले खायो, बाबाले खान्न भन्नुभएको छ । हात धोएर आउनु, म खाना तातो बनाउँछु,” छोरीले भनी । 

“सिल्पट पोइ परेपछि ज्यादै दुःख पाइने रहेछ । दिउँसो कोठामा सुतेर बसेर अहिले कता बरालिएका होलान् ।” हातखुट्टा धुँदै एक्लै कराउन थालिन् । 

भित्र पस्दा छोरीले खाना तातो बनाएर पस्किसकेकी  थिइन् ।  “बिहानै बेलुकै काम गर्दा त ज्यान त बोरामा राखेर कुटे जस्तो हुँदो रहेछ,” उसले भनी । 

“बिहान बाबा गए पनि हुने नि,” आमाको दुःख देखेर  छोरीले भनी । 

खाना खाएर सुत्ने बेलामा बाकसमा राखेको पैसा नदेखेपछि छोरीलाई सोधी, “यहाँको पैसा कता गएछ छोरी ?” 

“मलाई त थाहा भएन,” छोरीले भनी । 

“तिम्रै बाबाको  काम त होला नि । भोलि अब के गरेर चियापत्ती  र चिनी किन्ने हो ?” उसले भनी । 

उसको नजर आफूले राखेको थर्मसमा प¥यो । कुच्चिएको थर्मस देखेर एक घण्टा अघि तालको छेउमा चिया बेच्न नदिएर प्रहरीले लखेट्दा लडेको याद आयो ।

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप