बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रिय सभा निर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने

आइतबार, १७ मङ्सिर २०८०, १५ : २९
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् । 

आइतबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कानुन अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार हुन नसक्ने बताएको हो । 

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने जनाइएको छ । 

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको पनि अर्यालले जनाएका छन् । 

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ ।

यस्तै पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने,  पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने,  सोही दिन दिउसो २ अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप