पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन : उद्योगमन्त्री रिजाल
बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताएका छन् । सिमरा विमानस्थलमा नेपाल आयल निगम लिमिटेड हवाई इन्धन रिफ्युलिङ्ग स्टेसनको उद्घाटन गर्दै उद्योगमन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताए ।
यसअघि आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दा चौतर्फी विरोधपछि बढेको मूल्य फिर्ता लिएको थियो ।
‘हामी राज्यको एउटा एकाइको नाताले सरकारको आग्रहमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेका छौँ, भविष्यमा सकेसम्म जनतालाई कम मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध होस् भन्ने हाम्रो आकाङ्क्षा हो । तर यसरी मूल्य यथावत् राख्ने अवस्था छैन,’ उद्योग मन्त्री रिजालले भने, ‘ग्यासमा हामीलाई २५० रुपैयाँ घाटा छ, यसलाई यथास्थितिमा राख्न कठिन छ, तैपनि कोसिस गरिरहेका छौँ आयल निगमका सीईओलाई म अनुरोध गर्दछु ग्यासमा आम जनताको उपभोगका लागि कम मूल्यमा र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा बढी मूल्य राखेर बिक्री गर्दा हामीले धेरै घाटा कम गर्न सक्छौँ ।’
उद्योगमन्त्री रिजालले आम जनताले उपभोग गर्ने ग्यास र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए । सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजमा पहिलो पटक हवाई इन्धनको रिफ्युलिङ्ग गरेर मन्त्री रिजालले सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भए पनि राज्यको पूर्ण स्वामित्वको संस्था भएकोले सेवामूलक भएको बताए । ‘मन्त्रीज्यूको प्रत्यक्ष निर्देशनमा सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसनको काम तदारुकता साथ गर्यौँ, भरतपुर, सिमरा र जुम्ला विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसन राख्ने हाम्रो नीति तथा कार्यक्रममा पनि थियो,’ थानीले भने, ‘सिमरा विमानस्थलमा रिफ्यूलिङ्गको काम सुरुवात भएको छ । अब चाँडै नै भरतपुर र जुम्लामा पनि गर्ने जानकारी गराउँदछु ।’
कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सिमरा विमानस्थलमा रिफ्युलिङ्ग स्टेसन राख्ने ३ महिनादेखिको प्रयास सफल भएको बताए । पौडेलले विगतमा सिमरा विमानस्थलबाट पोखरा हुँदै आएको हवाई उडान सुचारु गर्न पहल गरिदिन मन्त्री रिजालसँग अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण