शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन : उद्योगमन्त्री रिजाल

आइतबार, १७ मङ्सिर २०८०, २० : २९
आइतबार, १७ मङ्सिर २०८०

बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताएका छन् । सिमरा विमानस्थलमा नेपाल आयल निगम लिमिटेड हवाई इन्धन रिफ्युलिङ्ग स्टेसनको उद्घाटन गर्दै उद्योगमन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताए । 

यसअघि आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दा चौतर्फी विरोधपछि बढेको मूल्य फिर्ता लिएको थियो ।

‘हामी राज्यको एउटा एकाइको नाताले सरकारको आग्रहमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेका छौँ, भविष्यमा सकेसम्म जनतालाई कम मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध होस् भन्ने हाम्रो आकाङ्क्षा हो । तर यसरी मूल्य यथावत् राख्ने अवस्था छैन,’ उद्योग मन्त्री रिजालले भने, ‘ग्यासमा हामीलाई २५० रुपैयाँ घाटा छ, यसलाई यथास्थितिमा राख्न कठिन छ, तैपनि कोसिस गरिरहेका छौँ आयल निगमका सीईओलाई म अनुरोध गर्दछु ग्यासमा आम जनताको उपभोगका लागि कम मूल्यमा र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा बढी मूल्य राखेर बिक्री गर्दा हामीले धेरै घाटा कम गर्न सक्छौँ ।’

उद्योगमन्त्री रिजालले आम जनताले उपभोग गर्ने ग्यास र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए । सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजमा पहिलो पटक हवाई इन्धनको रिफ्युलिङ्ग गरेर मन्त्री रिजालले सो कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भए पनि राज्यको पूर्ण स्वामित्वको संस्था भएकोले सेवामूलक भएको बताए । ‘मन्त्रीज्यूको प्रत्यक्ष निर्देशनमा सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसनको काम तदारुकता साथ गर्‍यौँ, भरतपुर, सिमरा र जुम्ला विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसन राख्ने हाम्रो नीति तथा कार्यक्रममा पनि थियो,’ थानीले भने, ‘सिमरा विमानस्थलमा रिफ्यूलिङ्गको काम सुरुवात भएको छ । अब चाँडै नै भरतपुर र जुम्लामा पनि गर्ने जानकारी गराउँदछु ।’

कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सिमरा विमानस्थलमा रिफ्युलिङ्ग स्टेसन राख्ने ३ महिनादेखिको प्रयास सफल भएको बताए । पौडेलले विगतमा सिमरा विमानस्थलबाट  पोखरा हुँदै आएको हवाई उडान सुचारु गर्न पहल गरिदिन मन्त्री रिजालसँग अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप