शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा देखियो दाह्रा नभएको भाले हात्ती, सतर्कता अपनाउन आग्रह

बुधबार, २० मङ्सिर २०८०, २० : १५
बुधबार, २० मङ्सिर २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति पु¥याउन सक्ने उनले बताए ।  हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भन्दै निकुञ्जले कुमरोज मध्यवर्ती सामुदायिक वनमा उपभोक्तालाई एक्लो हात्तीदेखि नजिस्किन आग्रह गरेको उनले बताए । 

उनले भने, “समूहमा आएका हात्तीभन्दा बथान छोडेर आएका हात्ती खतरनाक हुन्छन् । सबैले सावधानी अपनाउनुपर्छ ।” मकुना कोशी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ । बथान छोडेर आएको हात्ती अरुभन्दा उग्र हुने हुँदा बस्ती पस्ने, क्षति गर्नेलगायतका काम गर्नसक्ने उनको भनाइ छ । 

निकुञ्जका अनुसार बथान छोडेर आएका योसमेत चार वटा हात्ती यहाँ रहेका छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे यसअघि आएका थिए । यी हात्तीले समय समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गरेको तिवारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप