मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

१२ सयौँ खेलमा रोनाल्डोको गोल र एसिस्ट

शनिबार, २३ मङ्सिर २०८०, ०६ : ३८
शनिबार, २३ मङ्सिर २०८०

रियाद । आफ्नो करियरको १२ सयौँ व्यावसायिक खेलमा रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलको लागि अवसर सिर्जना गरेका छन् । शुक्रबार भएको खेलमा अल–नासरले अल–रियादमाथि ४–१ को शानदार जीत हासिल गरेको हो ।

खेलको ३१ औँ मिनेटमा साडियो मानेको क्रसमा गोल गर्दै रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले ओटाभिडोका लागि गोलको अवसर सिर्जना गरे । 

दोस्रो हाफमा टालिस्काले दुई गोल थपे । अल–रियादका लागि आन्द्रे ग्रेले दोस्रो हाफमा एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोलमात्र बन्न पुग्यो ।

खेलपछि ३८ वर्षीय खेलाडीले यो कोशेढुंगा पुग्न मद्दत गर्ने सबैलाई धन्यवाद दिँदै आफूमा अझै खेल बाँकी रहेको जिकिर गरे । पोर्चुगिज फरवार्ड साउदी प्रो लिगमा यो सिजन सर्वाधिक गोलकर्ता हुन् । उनले १५ खेलमा १६ गोल गरेका छन् ।

सबैभन्दा धेरै व्यावसायिक खेल खेल्ने कीर्तिमान इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टनको नाममा रहेको छ । उनले १ हजार ३८७ खेल खेलेका छन् ।

रोनाल्डोले स्पोर्टिङका लागि ३१, म्यानचेस्टर युनाइटेडका लागि ३४६, रियल मड्रिडका लागि ४३८, युभेन्टसका लागि १३४, अल–नासरका लागि ४६ र पोर्चुगलका लागि २०५ खेल खेलेका छन् ।

सन् २०२१ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेडका लागि खेल्दा ८ सय करियर गोल पुरा गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले ८५० गोलको कोशेढुंगा पनि पार गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप