शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

रूपान्तरण अभियानपछि माओवादीमा टिके प्रथा अन्त्य होला ?

सोमबार, २५ मङ्सिर २०८०, ०६ : १३
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिमा अवतरण गरेको १७ वर्षमा निरन्तर धक्का खाँदै सानो आकारमा खुम्चिएको नेकपा माओवादी केन्द्र फेरि बौरिने विभिन्न उपायको खोजीमा छ । त्यसकै सिलसिलामा गत साउन १७ देखि २१ सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा नीति र नेतृत्वमाथि केन्द्रीय सदस्यहरूले खुलेर बहस गरे । 

समूहगत छलफलबाट आएको निष्कर्षलाई टोली नेताले बैठकमा धारणा राख्ने परम्परा तोड्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ५० प्रतिशत सदस्यहरूलाई प्रत्यक्ष रूपमा बहस गर्न समय दिए । बाँकी सदस्यहरूलाई बहस नोट पठाउन निर्देशन दिए । 

‘माओवादी अब सक्किने कि सच्चिने ?’ भन्ने विषयमा तीव्र बहसपछि नेताहरूले समस्या र समाधानको उपाय खोजी गरे । बहस गर्ने अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि केन्द्रीय सदस्यहरूको नैतिक प्रश्न तेर्स्याए । पार्टी कमजोर हुनुमा नेतृत्वको कार्यशैली र जीवनशैली मुख्य रहेको आरोप लगाए । 

शान्ति प्रक्रियामा आएपछि नेताहरूको अपारदर्शी र सुविधाभोगी जीवनशैली समस्याको जड रहेको उनीहरूको निष्कर्ष थियो । यस्तै भद्दा र निष्क्रिय सांगठनिक संरचना, प्रयोगविहीन विभाग, प्यारालाइज्ड जनवर्गीय संगठनले काम गर्न नसक्ने उनीहरूको निष्कर्ष थियो । टिके प्रथा अन्त्य गरी केन्द्रीय पदाधिकारीसहित वडा तहसम्म कार्यकर्ताबाट निर्वाचित भएर आउनु पर्नेमा अधिकांशले जोड दिए । पार्टी रूपान्तरणका लागि पहिले नेतृत्व रूपान्तरण हुनुपर्ने त्यसका लागि सबै नेता अभियान लिएर जनतामा जानुपर्नेमा सुझाव दिए । 

समाजवादी कार्यदिशा तय गरेर त्यहीअनुसार नीति, सिद्धान्त र कार्यक्रम तय गर्न सकिए फेरि माओवादी बलियो शक्तिका रूपमा जाग्नेमा अधिकांश नेताहरूले धारणा राखे । केन्द्रीय सदस्यहरूको धारणालाई आत्मसाथ गर्दै अध्यक्ष प्रचण्डले तीन महिने विशेष रूपान्तरण अभियान लिएर जनताको घरदैलो जाने, मंसिरमा विधान सम्मेलन गरी वैचारिक, राजनीतिक तथा सांगठनकि समस्या हल गर्ने, त्यसलगत्तै विशेष महाधिवेशन गरी नेतृत्व छनोट गर्ने प्रस्ताव गरेका थिए । 

प्रचण्डको प्रस्तावलाई सर्वसम्म रूपमा केन्द्रीय समिति बैठकले अनुमोदन पनि गर्‍यो । बैठकको निर्णयअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गर्दै सबै नेता तथा कार्यकर्ता अहिले वडावडामा केन्द्रित रहेका छन् । 

थपिएको एक महिनाको समयपछि माओवादी रूपान्तरण अभियान पुस १६ गते सकिँदैछ । १५ गतेभित्र समीक्षात्मक प्रतिवेदन केन्द्रमा पठाउन नेतृत्वले निर्देशन दिइसकेको छ । त्यसपछि केन्द्रीय समिति बैठक बसेर प्रतिवेदनमाथि गम्भीर समीक्षा गरी विधान सम्मेलनको मिति तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् । 

उनले पनि घुमाउरो शैलीमा आन्तरिक बेतिथिबारे प्रश्न उठाउँदै दलहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा पार्टी कमजोर भएको तर्क गरे । पार्टीलाई बलियो बनाउन विचारको संश्लेषण गरेर जानुपर्नेमा सापकोटाले जोड दिए । 

‘अहिले पार्टीभित्र विचारको बहस नै हुँदैन । मेरो विचारमा राजनीति पार्टीले आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्छ । आन्तरिक लोकतन्त्रको कमीले विचारको विकास नहुँदा  समस्या देखिएको छ,’ उनले भने, ‘राजनीति पार्टीहरूले कार्यक्रमको साथै विचारको संश्लेषण गर्दै जानुपर्छ । देखाउनका लागि होइन साँच्चै गम्भीरतापूर्वक लाग्नुपर्छ । जनतालाई विश्वासमा लिने गरी कमीकमजोरी र त्रुटि सच्याउनुपर्छ ।’

तीन महिने रूपान्तरण अभियान समापन भएपछि केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गरी विधान सम्मेलनको एजेण्डा तय गर्ने उनले बताए । फागुनसम्म विधान सम्मेलन हुने र त्यसले नै कार्यदिशा, सांगठनिक संरचना, नीति, सिद्धान्त र कार्यक्रम तय गर्ने उनले विश्वास व्यक्त गरे । 

माओवादी केन्द्रका नेताहरूले विधान सम्मेलनपछि पनि पार्टीभित्र टिके प्रथाको अन्त्य हुनेमा संशयसहित विश्वास व्यक्त गरेका छन् । यही केन्द्रीय समिति बैठकमा नीति र नेतृत्वमाथि निर्मम बहस गरेका उनीहरूले विधान सम्मेलनबाट राजनैतिक, वैचारिक र सांगठनिक अन्तर्विरोध हल हुने संशयसहित विश्वास व्यक्त गरेका हुन् । 

वैचारिक नेता एवं सचिव राम कार्कीले संगठन र नेतृत्व निर्माणमा वैचारिक तथा राजनैतिक साथसाथै नैतिक पक्ष निकै बलियो हुने तर्क गरेका छन् । अहिलेको नेतृत्वको विकल्पको रूपमा युवाहरू अग्रसर हुनुपर्नेमा उनको जोड छ । 

‘राजनीतिमा वैचारिक, सैद्धान्तिकको साथसाथै नेताहरूमा नैतिकताले ठुलो अर्थ राख्छ । अपारदर्शी जीवनशैली र नेताहरूमा देखिने नैतिक पतनले पार्टीलाई कमजोर बनाइरहेको हुन्छ’, उनले भने, ‘यस्तै समाजवादी क्रान्तिका लागि पार्टीले आवश्यक कार्यदिशा, सिद्धान्त र कार्यक्रम तय गर्न सकेको छैन । यसका लागि नेतृत्वको विकल्पमा नयाँ पुस्ता आउनुपर्छ ।’   

नेतृत्वले लिएको नीति र कार्यदिशाप्रति केन्द्रीय समिति बैठकमै तीव्र असहमति राखेका नेता लेखनाथ न्यौपानेले अभियानले टिके प्रथा अन्त्य हुनेमा विश्वास नभएपनि चलायमान बनाउन मद्दत गरेको बताए । समग्रमा एउटामात्र विषयले समस्या हल नहुने तर्क गर्दै उनले पहिला सैद्धान्तिक विषय हल गर्नुपर्नेमा जोड दिए । 

‘अभियानले नै टिके प्रथा हट्छ भन्ने छैन । यद्यपि दबाब दिएको छ । जाग्न त अलिकति जागेको छ । कतिको स्थायी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ । अभियानलाई निरन्तरता दिए जाग्ने हो, नत्र त सेलाउँछ । समग्रमा एउटामात्र इस्यूले समस्या समाधान हुँदैन’, उनले भने, ‘पार्टीभित्र सैद्धान्तिक अन्तर्विरोध छ, त्यसको हल गर्नुपर्छ । माओवादीले प्रतिस्पर्धात्मक राजनीतिलाई अन्तिम मान्ने हो भन्ने स्पेस कमजोर हुँदै जाने क्रम तीव्र हुन्छ । यसका लागि पहिल्यै काँग्रेस र एमाले छँदैछ । माओवादी आवश्यक छैन ।’

यस्तै नेताहरूमा नै नैतिकता कमजोर भएकाले पार्टी बलियो हुनेमा उनले शंका व्यक्त गरे । त्यसमा नेताहरूले उच्च नैतिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो मोरल बेस नै कमजोर भएको छ । मोरल बेस बलियो हुने हो भने अलिकति केन्द्रित गर्न सकिन्थ्यो । तर अहिलेको अवस्थामा कसैले सुन्दैन र कसैले पत्याउँदैन । यो सबै मोरल पावर कमजोर भएर हो । यसलाई सुधार गर्नुपर्छ’, उनले भने । 

यस्तै प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि पार्टीको आन्तरिक प्रतिस्पर्धा पनि स्विकार्नु पर्ने उनले बताए ।  ‘बाहिर प्रतिस्पर्धा गराउने तर भित्र उही अवस्था रहे टिक्दैन । यद्यपि यसमा केही विमति छन् । पैसावालाहरूले कार्यकर्ता किन्न सक्छन् । प्रभाव पार्ने र आफ्नो पक्षमा परिणाम ल्याउन कोसिस गर्छन् नै । जे भए पनि त्यसकै नेतृत्वमा प्रतिस्पर्धा गर्दै जाने परिपाटी बस्छ । त्यसैले आन्तरिक प्रतिस्पर्धाको पाटोलाई खुला गर्नुपर्छ,’ उनले सुझाव दिँदै भने । 

यद्यपि संसदीय प्रणाली माओवादीका लागि उपयुक्त नभएको उनको भनाइ छ । क्रान्तिकारी कार्यदिशा तय गरेर जनवादी क्रान्ति गर्नका लागि विद्रोह अपरिहार्य भएको बताए । यो प्रणालीमा जति इमानदार भए पनि समस्याको हल नहुने उनको बुझाइ छ ।  

केन्द्रीय समिति बैठकमा नीति र नेतृत्वमाथि चर्को रूपमा प्रस्तुत भएका केन्द्रीय सदस्य लेखनाथ दाहालले भने विधान सम्मेलनपछि धेरै अन्तर्विरोध हल हुने विश्वास व्यक्त गरे । रूपान्तरण अभियानमा ८० प्रतिशत नेताहरू कार्यकर्ताबिच गएको निष्कर्ष निकाल्दै उनले यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्ने जिकिर गरे ।  

‘अभियान सकिए लगत्तै केन्द्रीय समिति बैठक बसेर विधान सम्मेलनमा जाने र विधान सम्मेलनपछि विशेष महाधिवेशनको तयारी हुन्छ । महाधिवेशनसम्म पुग्दा यी सबै समस्या हल हुन्छ । विचारमा बहस हुनुपर्छ । कस्तो पार्टी बनाउने ? बहसले समाजवादी क्रान्तिको आधार तयार गर्ने काम हुन्छ । माओवादीलाई जनतामै छाड्नुपर्छ । जबरजस्ती पार्टीमा लाद्न हुँदैन । जनताबाट चुनिनुपर्छ,’ उनले भने । 

आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर हुँदा पार्टी कमजोर भएको र नेतृत्वको क्षमता पनि कमजोर भएको उनको बुझाइ छ । यसले पार्टी नै बन्ध्याकरण जस्तो भएको भन्दै यस विषयमा अब सम्झौता नहुने उनले जिकिर गरे । 

२०४५ को सेक्टर काण्डपछि नेतृत्वमा आएका प्रचण्ड त्यसयता लगातार पार्टी अध्यक्ष छन् । ३५ वर्षसम्म लगातार महासचिव/अध्यक्ष भएका उनले बेलाबेला आफूलाई हटाएर देखाउन नेताहरूलाई चुनौती दिँदै आएका छन् । 

पछिल्लो पटक असोज २१ गते पार्टीभित्र प्रतिपक्षको भूमिकामा देखिएका कार्कीको पुस्तक ‘विकल्प’ लोकार्पण कार्यक्रममा आफूलाई हटाएर देखाउन चुनौती दिएका थिए । पार्टीभित्र नेतृत्व हस्तान्तरण गर्ने उपयुक्त पात्र नभेटिएको गुनासो गर्दै आफूभन्दा सक्षम नेता आए पद छोड्न तयार भएको बताएका थिए ।

२०५२ देखि २०६२ सालसम्म राज्यसत्ताविरुद्ध सशक्त विद्रोह गरेको माओवादी शान्ति प्रक्रियामा आएको १७ वर्षमा आधा दर्जन बढी टुक्रामा विभाजित भइसकेको छ । यीबिचमा पटक–पटक सत्तामा गएको तर जनता र कार्यकर्ताका लागि केही काम नहुँदा चरम निराशा थपिएको नेताहरूले आरोप लगाएका छन् । 

नेताहरूको सत्ता आरोहणसँगै जनताबाट निरन्तर टाढिँदै जाँदा पार्टी कमजोर भएको उनीहरूको गुनासो रहेको छ । यद्यपि पार्टी सक्किने वा सच्चिने अवस्थामा पुगेकाले विधान सम्मेलनपछि माओवादी शक्तिको पुनरुदय हुनेमा उनीहरू आशावादी देखिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप