बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हरिबोल गजुरेलको राजीनामाले तरङ्ग : असन्तुष्टि कि नयाँ जिम्मेवारीको तयारी ?

सोमबार, २५ मङ्सिर २०८०, १७ : ०२
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिए । उनले राजीनामा दिएपनि हालसम्म स्वीकृत भने भएको छैन ।

एकाएक गजुरेलले पदबाट राजीनामा दिएपछि माओवादीभित्र एक खालको तरङ्ग पैदा भएको छ । मन्त्रीसरह सुविधा लिएर प्रधानमन्त्रीको सल्लाहकारमा करिब १० महिना काम गरेका उनी पछिल्लो समय प्रचण्ड र उनका अन्य सचिवालय सदस्यसँग असन्तुष्ट देखिन्थे । यद्यपि उनले आफ्नो राजीनामाको कारणबारे हालसम्म मुख खोलेका छैनन् । 

रातोपाटीको जिज्ञासामा गजुरेलले राजीनामा दिनुको कारणबारे पछि बताउने प्रतिक्रिया दिएका छन् ।  गजुरेलसहित माओवादीका अन्य केही उच्च नेताहरूले समेत बालुवाटारमा सचिवालय हाबी भएको गुनासो पोख्दै आएका छन् । प्रचण्डले पदाधिकारीमध्ये तीन/चार जना नेताहरूसँग मात्र सल्लाह लिने गरेको एक नेताले आरोप लगाए । बालुवाटारको ढोका प्रचण्डका आवश्यकता अनुसार केही नेतालाई खुल्ने गरेको र यस मामिलामा महासचिव देव गुरुङसमेत पीडित रहेको एक नेताको भनाइ छ । 

अहिले प्रधानमन्त्रीको सचिवालयमा गजुरेलसहित गोविन्द आचार्य, रामदीप आचार्य, देवेन्द्र पराजुली, डा. रुपक सापकोटा सल्लाहकार छन् । गोविन्द प्रेस सल्लाहकार छन् । रामदीप प्रशासन, देवेन्द्र जनसम्पर्क र सापकोटा परराष्ट्र सल्लाहकार छन् । यस्तै स्वकीयतर्फ सन्तु दराई, रमेश मल्ल र  गंगा दाहाल प्रमुख स्वकीय सचिव छन् ।

यीबाहेक स्वकीय सहसचिव र प्रेस सहसंयोजक गरी झन्डै तीन दर्जन सदस्य छन् । 

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले आफू निकटका केही व्यक्तिलाई नियुक्ति गर्न सिफारिस गरेका थिए । तर आफ्नो सिफारिस कार्यान्वयन नगरेकामा उनले  निकटस्थसँग गुनासो समेत गर्ने गरेका थिए ।  प्रधानमन्त्री प्रचण्डले हुन्छ भनेर आश्वासन दिएर पनि अर्कै व्यक्तिलाई नियुक्ति दिएपछि उनी थप चिढिएको बताइएको छ  । 

प्रधानमन्त्रीको व्यवहारबाट आक्रोशित भएका गजुरेलले कात्तिकमै राजीनामा दिन खोजे पनि बाहिर सन्देश नराम्रो जाने भएकाले राजीनामा पत्र गोजीमा राखेर बसेको ती नेताले बताए । त्यसमाथि राजनीतिक नियुक्ति, सरुवा–बढुवा र भेटघाटको चाँजोपाँजो मिलाउनेमा प्रचण्ड पुत्रीलगायत सचिवालयका अरु हाबी हुने गरेकोमा गजुरेलको गुनासो रहने गरेको बताइएको छ । 

राजीनामा पत्र आफूले २० गतेमात्र प्रधानमन्त्रीलाई बुझाएको गजुरेलले स्वीकारेका छन् । तर प्रचण्ड निकट एक नेताले भने काम गर्न नसकेकाले राजीनामा दिएको आरोप लगाए । राष्ट्रिय सभामा जानका लागि गजुरेलले बार्गेनिङ गरेको उनको आरोप छ ।

‘मूलभूत रुपमा काम गर्न नसकेको हो । अर्को कुरा उहाँलाई राष्ट्रिय सभा चाहियो । राष्ट्रिय सभाको अध्यक्ष चाहिएको छ । काम गर्न नसकेपछि बहिस्कारमा परिन्छ’, उनीमाथि आरोप लगाउँदै ती नेताले भने ।

गत निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट गजुरेल दाबेदार थिए । तर, पार्टीले उनलाई टिकट नदिएर जुनियर नेता राजन दाहाललाई दियो । राजनले चुनाव त जिते तर गजुरेल असन्तुष्ट बन्दै आएका थिए । उसो त तत्कालीन नेकपा विभाजन ताका नै निकै जोडबलका साथ गजुरेललाई माओवादी कित्तामै उभ्याइएको माओवादीका नेताहरूले बताउने गरेका छन् । त्यतिबेला रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूसँग गजुरेल पनि एमालेतिरै लहसिएको आरोप लागेको थियो । 

उनले राजीनामा दिएसँगै अब राष्ट्रियसभा सदस्यका लागि दाबेदारी प्रस्तुत गर्ने बताइएको छ । तर, उनले टिकट पाउने नपाउने भने निश्चित छैन ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ । जसका लागि माघ ११ गते कोशी प्रदेशबाट २ , मधेस प्रदेशबाट २ , बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदै छ । 

पदावधि सकिन लागेका एमाले तर्फका ९ सदस्यमध्ये गठबन्धन दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिच भागबन्डा निष्कर्षमा पुगिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप