बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एकाएक किन फुकुवा गरियो नेपाली श्रमिक जापान पठाउने १४ मेनपावरको निलम्बन ?

सोमबार, २५ मङ्सिर २०८०, १७ : २४
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेको भन्दै १४ वटा मेनपावर कम्पनी निलम्बनमा परेका थिए । वैदेशिक रोजगार विभागको १५ असोज २०८० को निर्णय अनुसार १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । तर, सरकारले ति कम्पनीहरूको निलम्बन एकाएक फुकुवा गरिदिएको छ । 

अनुसन्धान प्रक्रिया जारी नै राख्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले निलम्बन फुकुवा गर्ने निर्णय गरेका हुन् । विभागको निलम्बनको निर्णयविरुद्ध मन्त्रालयमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । सोही आधारमा व्यवसायीहरूले मन्त्रालयमा पुनरावेदन गरेका थिए । निलम्बनको कारवाहीमाथि पुनरावलोकन गर्दै मन्त्री भण्डारीले निलम्बन फुकुवा गरेका हुन् । निलम्बन फुकुवा गरेको निर्णय भने मन्त्रालयले गोप्य राखेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले अनुसन्धानको क्रम जारी रहेको तर, निलम्बन भने फुकुवा भएको बताए ।

‘मन्त्रीस्तरीय निर्णयबाट निलम्बन फुकुवा भएको छ । अनुसन्धान प्रक्रिया जारी राख्नुहोस्, श्रमिकहरू जापान जाने कुरामा त्यसले अप्ठ्यारो ल्याउन सक्छ । भनेर निलम्बन फुकुवा गरियो’ उनले भने ।

उनीहरूमाथि अनुसन्धानको क्रम जारी नै रहेकाले के कारबाही भन्ने विषय टुंगोमा पुगिनसकेको उनको भनाइ छ । तर, अझै पनि केही श्रमिक जापान बाँकी रहेकोले उनीहरूलाई समस्या पर्ने देखिएपछि निलम्बन फुकुवा गरिएको उनको भनाई छ ।

ति कम्पनीमाथि जापान कामदार पठाउन नक्कली सर्टिफिकेट पेस गरेको आरोप छ । त्यसका लागि विभागले निर्देशक उप्रेतीकै संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा १४ कम्पनीलाई निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने सुझाव पेस गरेको थियो । सोही आधारमा विभागका हालै सरुवा भएर गएका महानिर्देशक मदन दहालले निलम्बन गरेका थिए । निलम्बन गरिएका मेनपावरहरू मन्त्रालयमा पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए । उक्त निवेदनमाथि अध्ययन गर्दै मन्त्री भण्डारीको मन्त्रीस्तरीय निर्णयले निलम्बन फुकुवा गर्ने तर, अनुसन्धान भने जारी राख्ने निर्णय गरेका थिए ।

त्यसरी निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी थिए । जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेस गरेको आरोप थियो । २०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शङ्कास्पद कागजात पेस गरेको पाइएको भन्दै विभागमा उजुरी परेको थियो । सोही आधारमा विभागले उनीहरूमाथि थप अनुसन्धान थालेको थियो ।

यो विषयमा विभागमा गत असारमा नै उजुरी परेको थियो । उजुरी परेकामध्ये केहीको प्रमाण पुगेपछि उनीहरूले सफाइ पाएका थिए । प्रमाण नपुगेकाहरूको हकमा निलम्बन गरेर थप अनुसन्धान थालिएको थियो ।

जापानका कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप