शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विश्व शान्तिको कामना गर्दै रामग्राममा  ७ हजार दीप प्रज्वलन

सोमबार, २५ मङ्सिर २०८०, २१ : ४४
सोमबार, २५ मङ्सिर २०८०

बुटवल  । बुद्धको अस्तु धातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तूपमा  ७ हजार दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ  विश्व शान्तिको कामना गर्दै ७ हजार दीप प्रज्वलन गरिएको हो ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्ति दीप प्रज्वलनको उद्घाटन गरेका हुन् ।  लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा दीप प्रज्वलन गरिएको हो । 

deep1

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले रामग्रामलाई लुम्बिनीको जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए । उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्त्विक स्थलहरूको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने बताए । 

कार्यक्रममा रामग्राम नगरपालिकाका नगर मुख धनपति यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरै पटक ध्यानाकर्षण गराएको बताउँदै अहिलेको कार्यक्रमले रामग्राम स्तूपको महत्त्व विश्वमाझ पुर्‍याउने बताए । 

उक्त अवसरमा भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तु धातु रहेको पवित्र स्थल रहेकाले यसको महत्त्व विश्वभर फैलाउन आवश्यक रहेको बताए । 

deep3

रामग्राम स्तूप गौतम बुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । यूनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तूपको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ ।

रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सो क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भ हुँदै छ ।

deep4

कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ  । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताए । 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप