सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा रंगशाला व्यवस्थापनका लागि बल्ल बन्यो समिति

मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ४०
मङ्गलबार, २६ मङ्सिर २०८०

पोखरा । पोखरा रंगशाला भद्रगोल रूपमा चलिरहेको छ । संघ र प्रदेशको टकरावका बीच रंगशालामा संरचनाहरु थपिने क्रम जारी छ । तर यसको सञ्चालन राम्रोसँग हुन नसकेको हो । यसैबीच सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद्ले हस्तक्षेप गरेको छ । परिषद्ले यसको सञ्चालन र व्यवस्थापन गर्न जिल्ला खेलकुद विकास समितिलाई जिम्मेवारी तोकेको हो ।

सदस्य सचिव श्रीधर शर्मा आफै उपस्थित भएर प्रदेश खेलकुद परिषद्का सदस्य दिलबहादुर गुरुङको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिदिएका छन् । कार्यदलमा परिषद्का सदस्य केशव पाठक, खगेन्द्र क्षेत्री, विनय थापा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ र सचिव कन्चन थापा सदस्य छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा सदस्य सचिव छन् ।

कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङ, पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुलीलाई राखिएको छ । भदौ २८ गते राखेपको बोर्ड बैठकले सातै प्रदेशका खेल पूर्वाधार प्रदेश खेलकुद परिषद्बाट व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि रंगशालामा रहेको क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड हटाइएको छ । रंगशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण हुने र कर्मचारी व्यवस्थापन, सुरक्षा, सरसफाइ लगायत व्यवस्थापन प्रभावकारी बनाउने निर्णय परिषद्ले गरेको सदस्य सचिव शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप