आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
सङ्कल्प यात्रा

कोशी झरेपछि ओली पहिचानवादीसँग ‘लचक’

मतभेद भए सँगसँगै बसेर छलफलबाट औचित्य पुष्टि गर्न सुझाव
मङ्गलबार, २६ मङ्सिर २०८०, १८ : ४८
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अचानक ‘लचक’ बनेका छन् । मङ्सिर १४ गतेबाट एमालेले सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत सङ्कल्प यात्राका क्रममा मंगलबार कोशी प्रदेश प्रवेश गरेका ओली ओखलढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै पहिचान पक्षधरसँग लचक बन्न पुगेका हुन् ।

यसअघि पहिचान पक्षधरको प्रसङ्गमा कडा शब्दवाण प्रहार गर्दै आएका उनी कोशी प्रदेश झरेसँगै केही लचक बन्न पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बरु राजनीतिक रूपमा विमति हुन सक्ने तर त्यसको समाधान वैधानिक र कानुनी रूपले गर्न सकिने आश्वासन दिए । सम्बोधनका क्रममा पहिचान पक्षधरहरूलाई लक्षित गर्दै ‘भावनामा’ बग्न जरुरी नभएको र राष्ट्रिय एकताको अभियानमा जोडिनुपर्ने भनेर उनले सम्झाउने प्रयास समेत गरे ।

कोशी प्रदेश नामकरणको विरोधमा एमाले अध्यक्ष ओलीसहितका नेताहरूलाई कोशीमा प्रवेश नदिने चेतावनीसहित राजमार्ग बन्द आह्वान गरेको पहिचान पक्षधरहरूको आन्दोलनलाई मध्यनजर गर्दै कडा सुरक्षाकाबिच एमालेले हर्कपुरमा मंगलबार सभा गरेको थियो ।

पहिचान पक्षधरबाट विरोध भइरहेकोमा जानकार रहेका ओलीले उक्त सभामा सम्बोधन गर्ने क्रममा नेकपा एमाले सामाजिक न्याय र समानताका लागि लड्ने पार्टी रहेको र त्यसकै आधारमा राष्ट्रिय एकतासहित देशको विकास गर्न सम्भव रहेको प्रस्टाउने प्रयास गरेका थिए ।

‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने र त्यसका आधारमा सामाजिक सद्भाव कायम गर्ने हो । सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्दै  देशको विकास गर्न सकिन्छ । त्यसैले म आग्रह गर्छु– भावनामा बग्न हुँदैन’, ओलीले एमालेको नीति बताउँदै भने, ‘हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’

ओलीले देश बनाउन बलियो राष्ट्रिय एकता र समझदारी चाहिने पनि बताए । ‘नेपाली जनताका बिचमा फाटो ल्याउने होइन । जनताका बिचमा राष्ट्रिय एकता बनाउनु पर्छ’, ओलीले भने, ‘राजनीतिमा मतभेद हुनसक्छ । ती मतभेदको समाधान गर्ने वैधानिक प्रक्रिया छन् । कानुनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा होइन ।’

उनले राजनीतिमा भएका त्यस्ता मतभेद सँगसँगै बसेर छलफलबाट औचित्य पुष्टि गर्न सुझाव पनि दिए । उनले भने, ‘त्यस औचित्यको आधारमा समस्याहरू समाधान गर्नुपर्छ, एमालेको त्यो नीति छ ।’

उनले सबै दाजुभाइ दिदीबहिनीहरुलाई एकताबद्ध भएर राष्ट्र निर्माणको अभियानमा जुट्न पनि आह्वान गरे ।

यसअघि सङ्कल्प यात्रा अभियानकै क्रममा पहिचान पक्षधरका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले दुईचार जना सडकमा उफ्रदैमा केही नहुने टिप्पणी गरेका थिए ।

oli

सङ्कल्प यात्राकै क्रममा पाँच दिनअघि अर्थात् मङ्सिर २१ गते बिहीबार पर्वतमा आयोजित सभामा उनले कोशी प्रदेशको नामकरणका विषयमा विदेशबाट सञ्चालितहरूले स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको गम्भीर आरोप लगाएका थिए ।

‘सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर विदेशबाट सञ्चालित, नेपालमा एकता, शान्ति हुन नदिने, लोकतन्त्र हुन नदिने, अशान्ति मच्चाउने, देशलाई अप्ठ्यारोमा पारेर अरूकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरु लागिरहेका छन्’, ओलीले पहिचान पक्षधर लक्षित अभिव्यक्ति दिएका थिए ।

त्यतिमात्रै होइन, अध्यक्ष ओलीले ‘एमालेलाई कोशीमा प्रवेश गर्न दिन्न भन्नेहरू को हुन् ?’ भन्दै प्रश्नसमेत गरेका थिए । त्यस क्रममा उनले नेपाली भूभाग कसैको बिर्ता नभएको र सबैले शान्तिपूर्ण गतिविधि गर्न छुट रहेको बताएका थिए ।

‘एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश–१ मा प्रवेश गर्न दिन्नौँ भनिरहेका छन् । किन नदिने ? नदिने फेरि को हुन् उनीहरू ?’, ओलीले त्यसबेला भनेका थिए, ‘नेकपा (एमाले) कहाँ जान पाउने, कहाँ जान नपाउने ? एमाले त त्यही प्रदेश–१ मा छ । खास जान नपाउने को ? कसैको बिर्ता होइन ।’

harkapur

सङ्कल्प यात्राका क्रममा एमाले कोशी प्रवेश गरे आक्रमण गर्ने धम्की दिनेहरूलाई उनले पछि हट्न चेतावनीसमेत दिएका थिए । ‘फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । यो बुद्धि छोडिहाल । होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्नेछ’, ओलीले चेतावनी दिँदै भनेका थिए, ‘कत्रा–कात्राको क्रान्ति, क्रान्तिका नाउँमा, जनयुद्धका नाउमा फाइँफुर्ती त समाप्त भयो भने चार वटा केटा उफ्रिएका छन् ।’

तर न ओलीले भनेझैँ पहिचान पक्षधरहरू पछि हटे, न पहिचान पक्षधरहरूले भनेजस्तै एमालेले नै आफ्नो कार्यक्रम रद्द वा माफी नै माग्यो । बरु एमालेको कार्यक्रम बिथोल्न खोज्ने केही व्यक्ति पक्राउ परे, अनि करिब ५ हजार प्रहरी परिचालन गरेर एमाले नेता कार्यकर्ता लावालस्करसहित मंगलबार ओखलढुंगा हुँदै खोटाङ प्रवेश ग¥यो । ‘स्थानीय सम्बन्ध राष्ट्रिय सन्देश’ भन्ने नारासहित एमालेले सुरु गरेको यो अभियान पुस २ गते पाँचथरको  चिवाभञ्ज्याङ पुगेर समापन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप