आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री डा.महतको प्रश्न– साफ्टा नेपालले मात्रै मान्नुपर्ने ?

बुधबार, २७ मङ्सिर २०८०, १७ : २७
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले साफ्टा सम्झौता नेपालले मात्रै मान्नुपर्ने भन्दै प्रश्न गरेका छन् । मन्त्रालयमा बुधवार आयोजित अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा सम्बोधन गर्दै साफ्टा मान्ने जिम्मेवारी नेपालको मात्रै नरहेको समेत बताएका हुन् ।

उनले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर लगाउँदा अन्य मुलुकलाई समस्या नपरे पनि नेपालीलाई परेको बताए । ‘अन्य देश साफ्टाको व्यवस्थामा मतलब गर्दैनन् । पाकिस्तान, बङ्गलादेश र भारतले मानेका छैनन्,’ डा.महतले भने, ‘सार्कले नै काम नगरिरहेको समयमा हामीले चाहीँ मान्नै पर्ने ?’

बङ्गलादेशले सार्क मुलुकबाटै आयात हुने कृषि उपजका वस्तुमा आवश्यकताअनुसार १५० प्रतिशतसम्म कर लगाउँदै आइरहेको छ । नेपालमा भने भ्याट लगाउनसाथ साफ्टा–साफ्टा भन्ने आवाज उठेको डा.महतले बताए । कुनै पनि देशले यसलाई स्वीकार नगरेको अवस्थामा साफ्टाको आवश्यकता नै नरहेको डा. महतको भनाई छ ।

उनले आलु र प्याजको आन्तरिक उत्पादन बढाउने लक्ष्यसहित भ्याट लगाएको समेत बताए । तर, भारतबाट आयात गरेर खेलिरहेको व्यापारीको स्वार्थपूर्ति गर्न आलु र प्याजमा आन्दोलन नै भएको उनको भनाई छ । भारतले आन्तरिक माग बढ्दा आयात रोक्ने गरेको तथ्य पछिल्लो अवस्थाबाट समेत पुष्टि भएको महतको भनाई छ ।

‘व्यापारीले भ्याटको विरोध गर्दै आलु र प्याज लुकाइरहेका छन्,’ डा. महतले थपे, ‘र, उनीहरूको स्वार्थ सिद्ध गर्नका लागि हामीले लचिलो बन्न हुँदैन ।’ भारतबाट आयात हुने आलु र प्याजमा भ्याट लगाउँदा आन्तरिक उत्पादनमा वृद्धि आउने अपेक्षा सरकारको रहेको उनले बताए । ‘किसानको उत्पादनलाई ध्यान नदिने र भारतबाट आयात गर्नेहरूको रजाइँ छ,’ उनले भने ।

कृषि उपज वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न पनि केही निर्णय लिनुपर्ने उनले बताए । अन्य देशमा अर्थ मन्त्रालयले आवश्यकता अनुसार करका दर हेरफेर गर्ने गरेको छ । तर, नेपालमा भने सोअनुसार गर्न नमिल्ने भाष्य निर्माणको भएको अर्थमन्त्रीको भनाई छ । ‘आयातमा आवश्यकताअनुसार प्रत्येक देशले कर लगाउँछन्,’ उनले भने, ‘कर बढाउने र घटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हुन्छ र सोही अनुसार गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप