शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्कृष्ट खेलाडी अवार्डको दौडमा मेस्सी, एमबाप्पे र हल्यान्ड

शुक्रबार, २९ मङ्सिर २०८०, १७ : ५०
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२३ को सर्वोत्कृष्ट फुटबल खेलाडी अवार्डका लागि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले सर्वोत्कृष्ट पुरुष खेलाडी, सर्वोत्कृष्ट महिला खेलाडी र पुस्कास अवार्डका लागि तीन–तीन जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

फिफाले सर्वोत्कृष्ट पुरुष फुटबल खेलाडी अवार्डका लागि अर्जेन्टिनी स्टार लियोनल मेस्सी, नर्वेका अर्लिङ हल्यान्ड र फ्रान्सका केलियन एमबाप्पेको नाम सार्वजनिक गरेको हो । कीर्तिमानी रूपमा आठ पटक बालन डी’ओरको उपाधि जितिसकेका मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् ।

यसैगरी हल्यान्ड इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायीक फुटबल खेल्छन् । एमबाप्पे भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्छन् । यसअघि गत अक्टोबरमा बालन डी’ ओर अवार्डका लागि घोषित खेलाडीको सूचीमा पनि माथिल्लो स्थानमा यी तीन खेलाडी नै थिए । त्यतिबेला बालोन डी’ओर अवार्ड मेस्सीले जितेका थिए ।

फिफाले सर्वोत्कृष्ट महिला खेलाडी अवार्डका लागि पनि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । महिला विश्वकप विजेता टोली स्पेनका दुई खेलाडी सूचीमा परेका छन् । महिला खेलाडीको सूचीमा स्पेनकी आइताना बोनमती, कोलम्बियाकी लिन्डा सिसेडो र स्पेनकी जेनिफर हर्मोसो रहेका छन् ।

यसैगरी पुस्कास अवार्डका लागि पनि तीन खेलाडीको नाम सार्वजनिक गरिएको छ । पुस्कास अवार्डका लागि सार्वजनिक गरिएको नाममा पराग्वेका जुलियो एनसिसो, ब्राजिलका गुइलहेर्म माड्रुगा र पोर्चुगलका नुनो सान्तोष रहेका छन् । फिफाले आगामी जनवरी १५ तारिखमा लन्डनमा हुने विशेष समारोहबिच सर्वोत्कृष्ट खेलाडी अवार्ड विजेताको घोषणा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप