बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

थमन विक प्रकरण : आन्दोलनकारीलाई जन्मकैदको फैसला गरेकोमा जनमतको आपत्ति

शनिबार, ३० मङ्सिर २०८०, १५ : ०५
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका प्रदेश सभा सदस्य अभिराम शर्मा लगायतमाथि महोत्तरी जिल्ला अदालतले गरेको जन्मकैदको फैसलाप्रति आपत्ति जनाएको छ । जनमत पार्टीको प्रवक्ता डा.शरतसिंह यादवले आज विज्ञप्ति जारी आपत्ति जनाएका हुन् ।

महोत्तरी जिल्ला अदालतको मंसिर २८ गतेको फैसलाले मधेस आन्दोलन तथा किसान आन्दोलन लगायत अधिकार प्राप्तिका लागि गरिएका आन्दोलनको मर्म तथा भावना माथि कुठाराघात गरेको ठहर गर्दै जनमत पार्टीले सशस्त्र जनयुद्धमा भएका घटनामध्ये कतिपय मुद्दामा हालसम्म पीडितले न्याय नपाएको तर मधेसी आदिवासी जनजाति थारु मुस्लिमले गरेको आन्दोलनमा भएको घटनामा अदालतले फैसला दिनु भनेको सीमान्तकृत जनता माथिको विभेद रहेको उल्लेख गरेको छ । मधेस तथा किसान आन्दोलनलगायत अधिकार प्राप्ति आन्दोलनमा लगाइएका सबै झुटा मुद्दाहरू अविलम्ब फिर्ता लिन जनमतले माग गरेको छ । 

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो । 

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप