शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

देशमा संकट परेको बखत कांग्रेसले निकास दिने गरेको छ : मन्त्री महत

मङ्गलबार, ०३ पुस २०८०, १५ : ५३
मङ्गलबार, ०३ पुस २०८०

हेटौंडा । अर्थमन्त्री डा प्रकाशशरण महतले समस्या परेका बखत देशलाई निकास दिने काम कांग्रेसले गर्ने गरेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले वर्तमान सरकारले समस्याको चाङ्लाई पन्छाउँदै देशलाई सकारात्मक बाटोमा डोर्‍याउने काम गरेको र सो काममा कांग्रेसका मन्त्रीहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

पछिल्लो समय देशले परिवर्तनको बाटोमा सकारात्मक दिशा पहिल्याएको उनले बताए । उनले देशको अर्थतन्त्रमा निकै सुधार आएको र त्यसको नेतृत्व अर्थ मन्त्रालयमार्फत आफूले गरेको बताए ।

‘देशलाई संकट परेको बखत कांग्रेसले नै समस्या समाधान गर्ने गरेको छ । वर्तमान अवस्थामा पनि देशको अर्थतन्त्र संकटमा थियो । थुप्रै समस्याको चाङलाई समाधान गर्दै सरकारअघि बढिरहेको छ । त्यसको नेतृत्व कांग्रेसका तर्फबाट अर्थ मन्त्रीको भूमिकामा मैले गरिरहेको छु,’ उनले भने, ‘अहिले अर्थतन्त्रको सम्पूर्ण इन्डिकेटर सकारात्मक दिशामा अग्रसर भइरहेको छ । एक वर्षका लागि डलर सञ्चिति सुनिश्चित छ । सेयर बजार र घरजग्गा कारोबार बढ्दो क्रममा रहेको छ । अब आर्थिक गतिविधि चलायमान हुन थालेको छ ।’

मन्त्री महतले अर्थतन्त्रलाई बलियो बनाउने प्रयत्न स्वरूप ४ विधामा सरकारले काम गर्ने रणनीति लिएको बताए । सरकारले जलविद्युत उत्पादन र विक्री गर्ने योजनामा काम गरिरहेको उनले बताए । जल विद्युतमा लगानी बढाउने र उत्पादित विद्युत विदेशमा बिक्री वितरणसँगै स्वदेशमा विद्युतीय सवारी तथा उपकरणको बढुवा दिएर पेट्रोलियम पदार्थको खपत घटाउनेतर्फ सरकारले काम गरेको उनको भनाई छ ।

सरकारले कृषिमा आधुनिक प्रविधिको विकास गर्दै उत्पादन वृद्धि गर्ने र आत्मनिर्भरतर्फ केन्द्रित हुने योजनामा काम गर्ने तयारी गरेको उनले बताए । सरकारले विदेशी वस्तु आयात रोक्ने र देशमा नै आत्मनिर्भर हुने रणनीति अनुसार प्याज आयातमा भन्सार दर बढाउँदा आलोचना खेप्नु परेको उनले गुनासो गरे । सरकारले व्यापार घाटा कम गर्न र उत्पादनमा वृद्धि गर्न उत्पादनमा आधारित अनुदान वितरणको योजना लिएको उनको भनाई छ ।

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र प्रचार प्रसारको काममा सरकारले काम गर्ने तयारी गरेको उनको भनाई छ । आइटी क्षेत्रमा लगानी बढाएर युवाहरुलाई देशमा नै सम्भावनाको खोजी गर्न प्रेरित गर्ने योजना सरकारको रहेको उनको भनाई छ ।

सरकारले गरेका काममा सहयोग गर्न पार्टीका कार्यकर्ताहरुलाई एक जुट भएर अघि बढ्न मन्त्री महतले आग्रह गरे । उनले कांग्रेस एक ढिक्का भएर विपक्षीको विरुद्धमा खरो उत्रिन पर्ने बताए । गठबन्धन ठिक वा बेठिकभन्दा पनि पहिले कांग्रेसलाई बलियो बनाउने अभियानमा लाग्न र जनताको काममा सहजता प्रदान गर्न अग्रसर हुनुपर्ने उनले बताए । पार्टीभित्र नै एकको विरुद्ध अर्को लाग्नुभन्दा तहगत रुपमा छलफल र संवादबाट समस्या समाधान गरेर अघि बढेको खण्डामा आगामी निर्वाचनमा कांग्रेस बलियो शक्ति बन्न सक्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप