आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

फागुनको पहिलो हप्ताभित्र विधान सम्मेलन गर्नेगरी मस्यौदा समिति बनाउँदै माओवादी

बैठकमा के भने अध्यक्ष प्रचण्डले ?
मङ्गलबार, ०३ पुस २०८०, २० : ०२
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्नेगरी विधान मस्यौदा समिति बनाउने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, विधान सम्मेलनलाई मुख्य एजेण्डका रुपमा बैठकमा पेस गरेको उनले बताए । बैठकमा सातै प्रदेशका इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।

‘बैठकले विधान सम्मेलन, सांगठनिक संरचनामा बढी जोड दिएको छ । माघको अन्तिम सातासम्म सम्मेलन गर्ने गरी छलफल भइरहेको छ । नभए फागुनको पहिलो हप्ता हुनेछ’, छलफलबारे जानकारी दिँदै शर्माले भने, ‘विधान सम्मेलनको तिथिमिति तोक्न विधान मस्यौदा समिति बनाउने तयारी भइरहेको छ । तर यी लगायत एजेण्डाबारे बुधबार निर्णय हुन्छ ।’

यस्तै सरकारले राम्रो काम गरेपनि जनतामा स्थापित गर्न नसकेकोमा गुनासो पोखेका थिए । बैठकमा एनसिएल प्रकरणमा नेताहरूले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डले राज्यव्यवस्था तथा सुशासन समितिमा पेस गरेका विषय दोहोर्‍याएका र आफूले कर छलीमा एनसिएललाई कानुनी दायरमा ल्याउन पहल गर्दागर्दै पनि बदनाम गर्न खोजेकोमा गुनासो पोखेका थिए ।

‘एनसिएल प्रकरणमा राज्यव्यवस्था समितिमा पेस गरेका प्रस्ताव नै बैठकमा सुनाउनुभयो । कर छली गरेको आशंका लागेर आफूले करको दायरमा ल्याउन पहल गर्दासमेत विरोधीले खेल्न खोजेको गुनासो पोख्नुभयो । कर छली भएको ५७ अर्ब रुपैयाँ आफ्नै पहलमा असुल गर्दासमेत उल्टै आफू र आफ्नो परिवारको बदनाम गर्न खोजिएको बताउनुभयो’, प्रचण्डको भनाइ उदृद्ध गर्दै शर्माले भने । तर असुल गर्ने गराउनेलाई नै राखेर फेरि समिति गठन भएकोमा नेताहरूले प्रश्न गरेका थिए ।

यस्तै प्रचण्डले सरकारले गरेको कामको बचाउ गर्दै बिग्रिएको अर्थतन्त्र र राष्ट्रिय संकट समाधानका लागि राम्रो काम गरेको बताएका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध स्थापित भएको बैठकमा उनले बताए । १२/१३ महिनालाई कुल ग्रहास्थका लागि सञ्चिति  भएको र अर्थतन्त्र बिस्तारै लयमा फर्किएको प्रचण्डले बताएको शर्माले जानकारी दिए । 

यसैगरी सरकारको बारेमा बाहिर विभिन्न टीकाटिप्पणी भएपनि तलमाथि केही नभएको प्रचण्डले बताएका थिए । पुरै कार्यकाल वर्तमान गठबन्धन सरकार नै अगाडि जाने, राष्ट्रिय सभामा गठबन्धन बनाएर विश्वासका साथ अगाडि बढेको उनले जानकारी गराएका थिए । बाबुराम र विप्लवसमेतलाई राखेर छलफल गर्दै जाने गरी बैठकमा सामान्य छलफल भएको थियो । बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप