शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रोहित शर्माले क्लब नछाडने मुम्बई इन्डियन्सको दाबी, अरु खेलाडीले के गर्लान् ?

बुधबार, ०४ पुस २०८०, १५ : ४२
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन सकिएलगत्तै बुधबारदेखि आईपीएलमा ‘ट्रेडिङ विन्डो’ खुला गरिएको छ । ‘ट्रेडिङ विन्डो’ खुला भएपछि मुम्बई इन्डियन्सका केही प्रभावशाली खेलाडी अन्य क्लबमा आबद्ध हुने चर्चा सुरु भएको छ ।

मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्डेयालाई नयाँ कप्तान बनाएपछि टोलीभित्र असहज स्थिति देखिएको छ । मुम्बई इन्डियन्सका सिनियर खेलाडीहरु नै क्लबको उक्त निर्णयबाट रुष्ट बनेको समाचारहरुमा दाबी गरिएको छ ।

रोहित शर्मालाई कप्तानबाट हटाएपछि सूर्यकुमार यादब, जसप्रित बुमराह, ईशान किशनलगायतका खेलाडी क्लबसँग रुष्ट बनेको बताइएको छ । त्यसैले ‘ट्रेडिङ विन्डो’ खुला भएको मौकाको फाइदा उठाउँदै यी खेलाडी अन्य क्लबमा जान सक्ने अनुमान गरिएको हो ।

तर, मुम्बई इन्डियन्सका एक बरिष्ठ अधिकारीले भने रोहित शर्मा वा अन्य कुनै खेलाडी क्लब छाडेर अन्यत्र जाने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । ‘रोहित शर्मा वा अन्य खेलाडीले मुम्बई इन्डियन्स छाड्दैछन् भन्ने समाचारमा कुनै सत्यता छैन । हामी यो सिजन आफ्ना कुनै पनि खेलाडीलाई अर्को क्लबमा पठाउन तयार छैनौं,’ ती अधिकारीले भनेका छन् ।

मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । ‘हार्दिक पाण्डेयालाई कप्तान बनाउने निर्णय लिनुअघि हामीले सबै खेलाडीसँग सल्लाह गरेका थियौं । सबै खेलाडीलाई विश्वासमा लिएर नै यो निर्णय गरिएको हो । यो विषयमा रोहितलाई पनि जानकारी गराइएको थियो । हार्दिकलाई कप्तान बनाइए पनि आगामी दिनमा समेत रोहित नेतृत्व तहमै रहने छन्,’ ती अधिकारीले भनेका छन् । ‘ट्रेडिङ विन्डो’ आगामी सिजनको आईपीएल सुरु हुनुभन्दा ३० दिन अघिसम्म खुला रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप