शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकामा खोकीको झोल औषधिको मिश्रण प्रयोगमा भारतले लगायो प्रतिबन्ध

बिहीबार, ०५ पुस २०८०, १७ : १२
बिहीबार, ०५ पुस २०८०

नयाँ दिल्ली । भारतको शीर्ष औषधि नियन्त्रकले चार वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा खोकीको झोल औषधिको मिश्रणको प्रयोगमा रोक लगाएको छ । गएको वर्ष भारतीय कम्पनीले बनाएको खोकीको औषधि खाएर गाम्बिया र उज्बेकिस्तानमा एकपछि अर्को गर्दै दर्जनौँ बालबालिकाहरूको मृत्यु भएपछि यो प्रतिबन्ध लगाइएको हो ।

भारतमा पनि सन् २००१ देखि सन् २०२० को बीचमा त्यस्तै खालको औषधि खाएर कम्तीमा १२ जना बालबालिकाहरूको मृत्यु भएको थियो । यी औषधि बनाउने कम्पनीहरूले आफूले कुनै पनि गलत काम नगरेको भन्दै आफ्नो प्रडक्ट प्रयोग गर्न सुरक्षित भएको दाबी गरिरहेका छन् ।

बुधवार प्रतिबन्धको आदेश दिइएको छ । औषधि निर्माताहरुले औषधिको प्याकेजिङ वा बोतलमा चार वर्षभन्दा कम उमेरका बालबालिकामा औषधिको प्रयोग गर्न हुँदैन भनेर अनिवार्य रूपमा चेतावनी राख्नुपर्नेछ ।

प्रतिबन्ध लगाइएको औषधिहरूमा क्लोरफेनिरमिन मेलिएट र फिनाएलेफ्रिन रहेको छ । यो औषधिलाई सन् २०१५ मा अनुमति दिइएको थियो । यसलाई खोकीको झोल औषधि बनाउन र रुघा खोकीको लक्षणहरूको उपचारमा चलाइने चक्की औषधि बनाउन प्रयोग गरिन्छ ।

गाम्बियामा भारतीय कफ सिरफको औषधि खाएर ६६ जना बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले पनि भारतमा बनाइएका खोकीका औषधिहरूको प्रयोग नगर्न भन्दै विश्वभर नै चेतावनी जारी गरेको थियो ।

उज्वेकिस्तानमा पनि भारतमा बनेको खोकीको औषधि खाएर १८ जना बालबालिकाहरूको मृत्यु भएको थियो । सन् २०१९ मा भारतकै जम्मु क्षेत्रमा पनि विषालु खोकीको औषधि खाएर २ महिनादेखि ६ वर्ष बिचका कम्तीमा १२ जना बालबालिकाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप