शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गण्डकीको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार

शुक्रबार, ०६ पुस २०८०, १२ : ५०
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो भने कर्णालीको दोस्रो हार ।

प्रतियोगिताको पहिलो दिन बिहीबार खेलिएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । सोहीदिन खेलिएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको थियो ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एकसय ४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो ।

कर्णाली प्रदेशका लागि गौरी बोहराले सर्वाधिक २६ रन बनाइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी उनले केवल १६ बलको सामना गरी चार चौका हिर्काइन् । ओपनर यमुना थारुले पनि २१ रनको योगदान गरिन् । उनले ४८ बलमा एक चौका पनि हिर्काइन् ।

अर्की ओपनर तृषणा विश्वकर्माले पनि टोलीको खातामा १९ रन थपिन् । उनले २६ बलमा तीन चौका प्रहार गरिन् । कप्तान किरण कुँवर आठ रन बनाउँदै पेभेलियन फर्किइन् । बिना थापा र अञ्जु गुरुङले भने खातासम्म खोल्न सकेनन् ।

रश्मी खड्का सात रनमा अविजित रहिन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा १६ रन पायो । गण्डकी प्रदेशकी बलर रचना चौधरीले दुई विकेट लिइन् । ज्यात्सनिका मरासिनी र सुमन खतिवडाले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशका लागि दुई ब्याटरले अर्धसतक बनाएका थिए । ओपरन अञ्जली विश्वकर्माले टोलीका लागि ५१ रनको योगदान गरिन् । उनले ४८ बलमा आठ चौका पनि प्रहार गरिन् ।

पाँचौँ नम्बरकी ब्याट्र ज्योत्सनिका मरासिनीले पनि टोलीका लागि ५० रनको योगदान गरिन् । मरासिनीले ४० बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । सुमन खतिवडाले २२ रन बनाइन् । उनले १७ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् ।

गण्डकी प्रदेशले अतिरिक्त रुपमा १५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर यमुना थारु र अञ्जु गुरुङले दुई–दुई विकेट लिए । रश्मी खड्काले पनि एक विकेट हात पारिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप