शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एपीएफ क्लबले १० विकेटले हरायो मधेश प्रदेशलाई

शुक्रबार, ०६ पुस २०८०, १५ : ५९
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मधेश प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेश प्रदेशले १९.२ ओभरमा अलआउट हुनुअघि ४० रनमात्र बनाउन सकेको थियो ।

सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले ५.५ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गर्यो । एपीएफ क्लबको जितमा ओपनर ज्योति पाण्डेले अविजित १६ रनको योगदान गरिन् । उनले २६ बलमा तीन चौका पनि प्रहार गरिन् । अर्की ओपनर सीता रानामगरले अविजित १९ रन जोडिन् । कप्तानसमेत रहेकी उनले केवल नौ बलमा चार चौका हिर्काइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि ६ रन पाएको थियो ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेश प्रदेशका लागि एक खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । केवल १५ रनको कुल स्कोरमा पाँच महत्वपूर्ण विकेट गुमाइसकेको मधेश प्रदेशका लागि छैटौँ नम्बरकी ब्याटर प्रतिमा शाहले १५ रन बनाएकी हुन् । उनले ३४ बलमा एक चौका पनि हिर्काइन् ।

ओपनर एलिसा यादब खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । अर्की ओपनर सना प्रविन पनि तीन रनभन्दा अगाडि बढ्न सकिनन् । पूजा महतो शून्य रनमै आउट भइन् । सरस्वती कुमारीले सात रन बनाइन् । रोजी कडारी शून्य रनमै आउट भइन् ।

आरती महतो र भूमी सिंहले पाँच–पाँच रन बनाए । साक्षी यादव शून्य रनमा आउट भइन् । कप्तान कविता गौतमले एक रन बनाइन् । मीना महतो शून्य रनमा अविजित रहिन् । मधेश प्रदेशले अतिरिक्त रुपमा चार रन पायो । एपीएफ क्लबकी बलर सीता रानामगरले तीन विकेट लिइन् । रेखा रावल र सुमन बिष्टले पनि एक–एक विकेट हात पारे । इन्दू बर्माले एक विकेट लिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप