शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आफू पढेको क्याम्पस पुगेर राष्ट्रपतिले भने, ‘गाउँ रित्तिँदैछ, समस्याको समाधान खोजौँ’

मङ्गलबार, १० पुस २०८०, १० : ३३
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् । 

आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले भने,  ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ । यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रूपमा हजारौँ नेपाली युवाहरू ताँती लागेर विदेशीने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।’  

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरूप निर्धारण हुनुपर्नेमा उनले जोड दिए । बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो भन्ने उनको भनाइ थियो । “यसका लागि सामूहिक प्रयत्नको जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूबाट हुन आवश्यक छ”, राष्ट्रपति पौडेलले भने ।   

उनले आफू स्वयम्ले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा निकै खुसी लागेको बताए ।  ‘मेरा जीवनको ऊर्जावान् समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भईरहँदा अलिकति भावुक पनि भएको छु । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ,’ उनले भने । 

सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनहरूमा पनि सस्तो र सुलभ ढङ्गले नेपाली जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पस  नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत पनि रहेको उनले उल्लेख गरे ।  

विभिन्न विषयका विज्ञ प्राध्यापकहरूको अथक प्रयास र विद्यार्थीहरूको मेहनतका कारण सरस्वती क्याम्पसले आफूलाई अब्बल सावित गर्ने मौका पाएको उनले बताए । ‘यति धेरै शैक्षिक उन्नति र प्रगतिका बाबजुद पनि यस क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय हो । म सरकारलाई देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न आग्रह गर्दछु,’ राष्ट्रपति पौडेलले भने ।

समारोहमा त्यसबेला आफूलाई अध्यापन गराउने गुरु प्राडा शंकरराज पाठकले गर्नुभएको आग्रहप्रति संकेत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो,“ गुरुको आज्ञा उल्लङ्घन नगर्नु भन्ने हाम्रो संस्कार हो, शिक्षकको अनुशासनमा बस्नेकै उन्नति हुन्छ, गुरुले मलाई आज्ञा त गर्नुभयो तर उहाँले पढाउनुभएको शिक्षाबाटै आज म जुन पदमा छु, जुन सीमामा छु त्यसलाई पनि उहाँले ख्याल गर्नु नै हुनेछ भन्ने मलाई विश्वास छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप