शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि

मङ्गलबार, १० पुस २०८०, १५ : ३३
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ जना खेलाडीले खेल्न पाउने छन् ।

तर, यसपटक नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चारजना खेलाडीले सहभागिता जनाउने छैनन् । सोही कारणले अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन् । शुक्रसँगै १४औँ वरीयताका टंकबहादुर राई, १५औँ वरीयताका बलभद्र राई र १६औँ वरीयताका कमल तामाङले व्यक्तिगत कारणले प्रतियोगिता नखेल्ने भएका हुन् ।

चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहने छन् । १७औँ वरीयताका दीपक मगर, १८औँ वरीयताका तोरणविक्रम शाही, १९औँ वरीयताका प्रदीपकुमार लामा र २०औँ वरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् ।

म्याच प्लेको ड्रअनुसार, भुवन नगरकोटीले पहिलो चरणमा रामकृष्ण श्रेष्ठसँग खेल्ने छन । तेस्रो वरीयताका नीरज तामाङको सामना १९औँ वरीयताका प्रदीपकुमार लामाले गर्नेछन् । डिफेन्डिङ च्याम्पियन तथा चौथो वरीयताका दिनेश प्रजापतिले तोरणविक्रम शाहीसँग खेल्ने छन् ।

यसैगरी दीपक मगरले पाँचौँ वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् । पहिलो चरणकै अर्को खेलमा  छैटौँ वरीयताका सञ्जय लामा र १३औँ वरीयताका शिवराम पौडेलबिच प्रतिस्पर्धा हुनेछ । सातौँ वरीयताका रवि खड्काको सामना १३औँ वरीयताका रमेश अधिकारीले गर्नेछन् । अर्को खेलमा आठौँ वरीयताका रामे मगर र ११औँ वरीयताका सूर्यप्रसाद शर्माबिच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

यसैगरी नवौँ वरीयताका धनबहादुर थापा र १०औँ वरीयताका भुवनकुमार रोक्काले पहिलो चरणको खेलमा एकअर्काको सामना गर्नेछन् । पहिलो चरणका विजेता आठ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल खेलहरू बिहीबार हुनेछन् । सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ । शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ । खेलाडीहरूले कुल दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा पराजित हुने आठ  खेलाडीले जनही ६ हजार र क्वार्टरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमशः ३२ हजार र २४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले  व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप