शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
वेथिति

ग्यालेक्सीमा डुब्यो सूर्यदर्शन, सूर्यदर्शनमा डुबे १९ हजार बचतकर्ता

बुधबार, ११ पुस २०८०, १० : १०
बुधबार, ११ पुस २०८०
  • कारोबार १

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड । खाता नम्बर ११६–०००४३६४ । मिति २०७७ चैत ३० गते । कर्जा १ करोड ।

  • कारोबार २

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड । खाता नम्बर ११६–०००४८०१ । मिति २०८० असार १३ गते । कर्जा १ करोड ३० लाख ।

  • कारोबार ३

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड । खाता नम्बर १०३९–०००६६७५७ । रकम १ करोड । मिति २०७८ असार ३१ गते । सोही मितिमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेस्की फर्स्यौट ।

  • कारोबार ४

माथिका तीनवटै कारोबार कृत्रिम खाता खोलेर गरिएको गैर कानुनी कारोबार हो । गीतेन्द्रबाबु राईले २०७९ असार २७ गते गोर्खा मिडिया प्राइभेट लिमिटेडलाई ५० लाख एडभान्स दिएको देखिन्छ । उक्त रकम रकमान्तर गरेर गीतेन्द्रको नामको पेस्की फर्स्यौट गरिएको छ ।

विभिन्न समयमा पेस्की र ऋणसहित १० करोडभन्दा बढी रकम गोर्खा मिडियाको नाममा जम्मा भएको छ । गोर्खा मिडिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै समय प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोर के टीभीको माउ कम्पनी हो । गीतेन्द्र राई टीभीका अध्यक्ष हुन् भने सूर्य दर्शन सहकारीका पूर्व अध्यक्ष ।

उक्त रकम पोखरामा रहेको सूर्य दर्शन सहकारीका करिब १९ हजार बचतकर्ताको पसिनाको कमाइ हो । सहकारीमा १ अर्ब ३५ करोड ५३ लाख निक्षेप जम्मा भएको थियो भने १८ हजार ७ सय जना बचतकर्ता छन् । हालसम्म १ अर्ब ३१ करोड ५३ लाख कर्जा लगानी गरिएको छ । ४ सय ३३ जनाको नाममा यी कर्जा प्रवाह भएका छन् ।

अचम्म के छ भने एउटा पनि कर्जामा सहकारीले धितो राखेको छैन । अधिकांश रकम कृत्रिम सदस्य बनाएर कारोबार गरिएको छ । सहकारीले बचतकर्ता खोजी गर्दा पनि सुनको सिक्कादेखि विभिन्न स्किम राखेर प्रलोभनमा पारेको थियो । सहकारी लगभग डुबेको अवस्थामा छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि दिनहुँ प्रशासनमा धर्ना दिइरहेका छन् ।

‘कृषि विकास बैंकमा राखेको पैसा सञ्चालकहरूले जबरजस्ती निकालेर सहकारीमा राख्न लगाए । अहिले आफैँ घर न घाटको भएको छु,’ सहकारीमा २० लाख राखेका सराङकोटका भीमप्रसाद चपाईं भन्छन्, ‘सहकारीले उठिबास भयो । घरबाट एक्लिएँ ।’ उनले आफू डिप्रेसनमा रहेको बताए । आक्रोशित मुद्रामा भेटिएका उनले अगाडि भने, ‘अब यो राज्यबाट मैले न्याय पाउने आश मर्‍यो । म मरिहालेँ भने लास घाटमा नलैजानू, प्रशासनमा फाल्दिनू ।’

पीडितको समस्या सुनेपछि पोखरा महानगरपालिकाको सहकारी महाशाखाले सहकारी विज्ञ दीपक प्रकाश आचार्य र चार्टर्ड एकाउण्टेण्ट अनिल लामिछानेलाई खटाएर उक्त सहकारीको रिपोर्ट निकालेको हो । उनीहरूले करिब २ महिना लगाएर ४ सय ४० पेजको विस्तृत अध्ययन प्रतिवेदन बुझाएका छन् । सोही प्रतिवेदनका आधारमा कास्की प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा १९ जना दोषी देखिएपछि उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीका पूर्व अध्यक्ष गीतेन्द्रबाबु राईसहित संलग्न सबैविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । भदौ २४ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि सबै फरार छन्, कोषाध्यक्ष कुमार रम्तेल बाहेक । उनी अनुसन्धानपछि कारागार चलान भइसकेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले साउन २२ गते मुद्दा दर्ता गरेको हो । १ हजार ३५ जनाले १ अर्ब ११ करोडभन्दा बढी ठगी भएको भनी उजुरी दिएका थिए ।

  • करोडभन्दा बढीकै १६ वटा खाता

सूर्यदर्शनमा १ हजारभन्दा तल बचत भएका १० हजार ६ सय ५४ वटा खातामा ३१ लाख ८६ हजार रकम छ । १ हजारदेखि ९ हजार ९ सय ९९ सम्म बचत भएका ४ हजार ८ सय ३३ वटा खाताको कुल रकम १ करोड ५२ लाख रुपैयाँ छ । १० हजारदेखि १ लाखसम्म १ हजार ९ सय ४२ वटा खातामा ६ करोड ६८ लाख रकम छ भने १ लाखदेखि १० लाख ९ सयसम्म जम्मा भएका ७० वटा खातामा २९ करोड ९३ लाख, १० लाखदेखि १ करोडसम्म जम्मा भएका २ सय ८५ वटा खातामा ६६ करोड ७० लाख र १ करोडभन्दा माथि जम्मा भएका १६ वटा खाता छन् । यस्तो रकम ३० करोड ३७ लाख जम्मा भएको देखिन्छ ।

  • एक वर्षमा ७ सय खाता बन्द

सहकारीमा रहेको करिब ७ सय खाता १ वर्षमा बन्द भएको छ । २०७९ साउन १ गतेदेखि २०८० भदौ २१ गतेसम्ममा ६ सय ७१ वटा खाता बन्द भएको प्रतिवेदनमा उल्लेख छ । ती खातामा १० लाखभन्दा माथिको १ अर्ब १ करोड रकम जम्मा गरिएको थियो । यति धेरै खाता बन्द हुनुमा सहकारीको छुट्टै अनुसन्धान आवश्यक पर्ने अध्ययन समितिमा एक सदस्यले बताए ।

  • अस्वाभाविक कारोबार धेरै

संस्थाको कम्प्युटर लेखा प्रणालीमा उल्लेख भए अनुसार क्राइसिस म्यानेजमेण्ट एकाउण्ट नामक खाता खोलेर पूर्व अध्यक्ष गीतेन्द्र राई र सञ्चालक हेमन्त अधिकारीको खाताबाट ७ करोड ८८ लाख रुपैयाँ रकमान्तर भएको छ । पूर्व अध्यक्षको खाताबाट २०७९ भदौ १ गतेदेखि २०८० साउन ३ गतेसम्म अस्वाभाविक कारोबारबाट ६ करोड ९६ लाख जम्मा भएको छ भने २०७९ भदौ २३ गतेमात्रै २ करोड २५ लाख कारोबार भएको छ ।

सञ्चालक हेमन्त अधिकारीको खातामा २०७९ असोज ४ गतेदेखि २०८० साउन ३ गतेसम्म ९१ लाख ६१ हजार जम्मा भएको छ भने यो खाताबाट ५ जना व्यक्तिको नाममा रकम पठाएर कर्जाको हिसाब मिलान भएको देखिन्छ । गैर सदस्य कारोबार, कृत्रिम सदस्य कारोबार र अस्वाभाविक कारोबारका आधारमा बचत अपचलन गर्ने नियत प्रस्ट भएको प्रतिवेदनले दर्साएको छ ।

यस्तै, जिम्मेवार व्यक्तिको नाममा रहेको कर्जा हिसाब मिलान गर्ने उद्देश्यले संस्थाको अफिस बिल्डिङ भनी बचत खाता खोलेर ८ करोड ५० लाख जम्मा गरिएको छ । उक्त खाताबाट विभिन्न व्यक्तिका नाममा रकम रकमान्तर गरिएको छ । २०७९ असार ३२ गते शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेको नाममा नयाँ कर्जा खाता खोलेर भवन शीर्षकमा ८ करोड ५० लाख जम्मा गरिएको थियो । उक्त रकमबाट पुराना पेस्की मिलान गरिएको छ । यसको कुनै पनि तमसुक वा कागजात नभेटिएको अध्ययन समितिले जनाएको छ । यसअघि गरिएको कर्जाको कारोबारमा भने १ करोड २ लाखको तमसुक बनाइएको थियो ।

यसबाहेक जग्गा शीर्षकमा ३७ लाख ७ हजार खर्च गरेको देखिन्छ । तर संस्थाको नाममा कुनै पनि जग्गा खरिद गरेको प्रमाण नरहेको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीलाई दिने पेस्की खाता छुट्टै खोलेर त्यहाँबाट पनि बदमासी गरिएको छ । उक्त खातामा २०७६ मङ्सिर ३० गतेसम्म २ करोड १० लाख मौज्दात थियो । त्यसपछि २०८० भदौ २१ सम्म २ सय ७१ पटकमा २८ करोड १३ लाखको कारोबार देखिन्छ । गत भदौ २१ गतेसम्म यो खातामा १ करोड ८३ लाख रुपैयाँ मात्रै बाँकी छ ।

  • आफ्नै ग्रुपको सहकारीमा रकम ट्रान्सफर

सूर्यदर्शन सहकारीले नियम विपरीत विभिन्न सहकारीमा कारोबार गरेको देखिएको छ । सहारा चितवन बचत तथा ऋण सहकारीलाई ६० लाख ५० हजार दिन बाँकी रहेको देखिन्छ भने सुप्रिम बचत तथा ऋण सहकारीलाई ४६ लाख ५० हजार, स्वर्णलक्ष्मी सहकारीलाई ८४ लाख ३१ हजार दिनुपर्ने छ । नेपालगञ्जको समानता सहकारीबाट ५ लाख लिन बाँकी छ । यस्तै, सानोपाइला सहकारीबाट १ करोड १८ लाख, भैरहवाको सुप्रिम सहकारीबाट २ लाख ५५ हजार, जीतपुरको सुप्रिम सहकारीबाट १ लाख, महाराजगञ्जको स्वर्णलक्ष्मीबाट १ लाख ३३ हजार, न्यूरोडको स्वर्णलक्ष्मीबाट २० लाख ७५ हजार लिन बाँकी छ ।

  • राज्यलाई तिरेन कर

सहकारीले राज्यलाई तिर्नुपर्ने करसमेत तिरेको छैन भने विभिन्न कामको हिसाब मिलाउन बाँकी छ । व्याजकर मात्रै ८५ लाख ६१ हजार तिर्न बाँकी छ भने सामाजिक सुरक्षा कर ८९ हजार, पारिश्रमिक कर १ लाख ३० हजार, टीडीएस १२ हजार र लेखा परीक्षण शुल्क १ लाख तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । २०७८ सालमै सहकारी विभागले अनुगमन गरेर कानुनी व्यवस्था कार्यान्वयन गर्न चेतावनी दिएको थियो ।

  • स्थापनामै गलत नियत

सहकारीको स्थापना गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङको अध्यक्षतामा भएको छ । २०६५ असार १ गते गुरुङको अध्यक्षतामा दर्ता भएको सहकारी सोही वर्षको असार २६ गते अर्थात् २५ दिन नबित्दै ज्ञानबहादुर बमजनको नाममा सरेको देखिन्छ । ‘प्रारम्भिक भेलाबाटै सहकारी बाहिरियाको कब्जामा गइसकेको छ । सहकारीमा बदमासी गर्ने नियत पहिलो भेलाबाटै पुष्टि हुन्छ,’ स्रोतले भन्यो । पहिले आफैँ अध्यक्ष भएर खोलेको सहकारीमा मीना पछि उपाध्यक्ष बनेकी छन् । अर्को रोचक कुरा के छ भने इमेज सहकारीका पूर्व अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि यही सहकारीका सञ्चालक हुन् । आफू अध्यक्ष नहुने देखेपछि २०६८ साल फागुन ३० गते उनले राजीनामा दिएर इमेज सहकारी खोलेका थिए । तत्कालीन समयमा जीवी अध्यक्ष हुँदा उनी उपाध्यक्ष भएर काम गरे ।

सहकारीमा ४ करोड ४० लाख सेयर पुँजी छ भने २ हजार २ सय ५९ जना सेयर सदस्य छन् । सहकारी ऐन अन्तर्गत नाफा कमाउने संस्थालाई सेयर सदस्य बनाउन र कर्जा प्रवाह गर्न पाइँदैन । जसले लिन नमिल्ने हो, उही सदस्य बनेको छ र उसैले कर्जा पाएको छ । सहकारीले ३३ करोड ८० लाख रुपैयाँ व्याजलाई पुँजीकृत गरेको छ । धेरै रकम शून्य व्याजमा पनि लगानी गरेको भेटिएको छ ।

नउठ्ने अधिकांश रकम सञ्चालक आफैँले चलाएका हुन् । ‘ऐन पालना कत्ति पनि छैन । आन्तरिक सुशासन डामाडोल छ,’ अनुसन्धानमा खटिएका विज्ञ दीपक आचार्यले भने, ‘कुनै पनि कर्जा लगानीमा धितो छैन । समितिमा हालीमुहाली गर्नेहरुकै कम्पनीमा पैसा लगानी भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप