मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

समाजवादी मोर्चाको बैठक : नेतृत्व परिवर्तनसहित चार एजेन्डामाथि छलफल

बुधबार, ११ पुस २०८०, ११ : ५१
बुधबार, ११ पुस २०८०

काठमाडौँ । समाजवादी मोर्चाले चारवटा एजेन्डा अगाडि सारेर छलफल थालेको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा चार एजेन्डामाथि छलफल भएको हो ।

बैठकमा मोर्चामा सम्बद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी थिए । आजको बैठकमा प्रचण्ड, माधव नेपाल, नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) धारणा राखेका थिए ।

प्रकाण्डका अनुसार बैठकमा समाजवादी मोर्चाले अहिलेसम्म गरेका काम कारबाहीको समीक्षा, मोर्चाको आगामी कार्यक्रम, नेतृत्व परिवर्तनका साथै देशको समसामयिक राजनीतिलाई एजेन्डा बनाइएको छ ।

यस्तै नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी पनि छलफलको विषय बनेको छ । आजको छलफलमा आफूहरु विरुद्धको पक्राउ पुर्जीका विरुद्धमा समाजवादी मोर्चाले विज्ञप्ति जारी गरेकोमा विप्लव र प्रकाण्डले धन्यवाद दिए ।

मुद्दा खारेजीका लागि समाजवादी मोर्चाले पहल गर्नुपर्ने विप्लवको भनाइ थियो । विप्लव र प्रकाण्डमाथि जारी पक्राउ पुर्जीबारे आफूहरू गम्भीर रहेको प्रचण्ड र माधव नेपालले बताएका थिए । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आजको बैठकमा एजेन्डाको प्रवेश मात्र भएको बताए ।

उनले भने, ‘बैठकमा समाजवादी मोर्चा गठन भए पछि के के भए भन्ने रिपोर्टिङ भयो । सातै प्रदेशमा प्रदेशस्तरीय सभा सम्पन्न भए । ४७ जिल्लामा समाजवादी मोर्चाको कमिटी गठन भएको छ । अब के गर्ने भन्नेबारे भरखर छलफल प्रवेश गरेको छ ।’

वर्तमान व्यवस्थाको रक्षाका लागि समाजवादी मोर्चा कसरी अगाडि बढ्ने भन्नेमा सल्लाह र सुझाव दिने काम सुरु भएको उनको भनाइ छ । मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन र राजनीतिक अभियानबारे एउटा निष्कर्ष निकाल्ने पाण्डेको भनाइ छ ।

समाजवादी मोर्चाको संयोजक परिवर्तनबारे पनि छलफल सुरु भएको छ । गत असार ४ मा राष्ट्रिय सभागृहमा कार्यक्रमको गरी माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा मिलेर समाजवादी मोर्चाको घोषणा भएको थियो ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा असार २३ मा बसेको समाजवादी मोर्चाको प्रथम बैठकले मोर्चाको अध्यक्षता ६–६ महिना गर्ने समझदारी भएको थियो । पहिलो ६ महिना एकीकृत समाजवादीका अध्यक्षता माधव नेपालले गरेका थिए ।

उनको ६ महिने अवधि मङ्सिरमा सकिएको छ । मोर्चाको अध्यक्षता अब जसपा अध्यक्ष उपेन्द्र यादव वा नेकपा महासचिव विप्लवमध्ये एकले गर्ने नेताहरू बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेकाले माधव नेपालपछि यादव र विप्लव मध्येबाट एकजना नेतृत्व गर्ने तयारी छ । मोर्चाले बैठकबाट नेतृत्व विषय टुङ्ग्याउन प्रकाण्डले बताए ।

आज ११ बजे एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले नेताहरू एक घण्टामै उठेका थिए । पाण्डेकाअनुसार आज साँझ ६ बजे मोर्चाको बैठक बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप