शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

महन्थ ठाकुरको भण्डाफोर गर्दै मधेसमा राजेन्द्र महतोले बढाए सक्रियता

बुधबार, ११ पुस २०८०, २१ : २०
बुधबार, ११ पुस २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बिचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष ठाकुरको काम कारबाहीबाट असन्तुष्ट भएर पार्टीका बैठक तथा अन्य कार्यक्रम बहिष्कार गर्दै नेता महतो अहिले मधेसमा ‘मुभ’ भएका छन् ।

महतो सर्लाहीबाट यात्रा सुरु गर्दै जनकपुर, महोत्तरी, सप्तरी, सुनसरी, मोरङ हुँदै काठमाडौँ फर्किएका छन् । अब उनी पश्चिम मधेस जाने तयारीमा लागेका छन् ।

महतोले एक चरण पूर्वी मधेसको घुमफिर सकेका छन् भने अब पश्चिम मधेस जाने तयारीमा लागेको उनी निकट लोसपाका उपमहासचिव सन्तोष मेहताले बताए । नेता महतो आन्दोलनको तयारीमा लागिसकेको र त्यसकै लागि मधेसमा सक्रिय भएको मेहताको भनाइ छ ।

पटक पटक भएको आन्दोलन अधुरो छ, त्यो पूरा गर्नका लागि २०८४ अघि नै एउटा आन्दोलन गर्नुपर्ने सोचका साथ महतोले मधेसमा सक्रियता बढाएका हुन् ।

ठाकुरको भण्डाफोर

आन्दोलनको तयारीका लागि हिँडेका नेता महतोले मधेसमा अध्यक्ष ठाकुरको भण्डाफोर गरिरहेका छन् । मंगलबार सप्तरीमा पत्रकार सम्मेलन गरेर महतोले अध्यक्ष ठाकुर किनारा लागिसकेको दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘महन्थजी आफैँ किनारा लाग्ने मान्छे, मलाई किनारा लगाउन सक्नुहुन्न ।’ महतोले आफैँ वरिष्ठ नेता रहेको लोसपालाई ‘लोसे’ पार्टीको संज्ञा दिए । महतोले भनेका थिए, ‘लोसपा लोसे पार्टी भइसक्यो ।’

यसबाट पनि महतोले लगभग लोसपा छाडिसकेको संकेत गर्दछ । कतिपयले महतो नयाँ पार्टी बनाउने तयारीमा रहेको र त्यसका लागि मधेस दौडाहामा निस्केको टिप्पणी गरिरहेका छन् ।

यद्यपि नेता महतो नयाँ पार्टी बनाउने योजना नरहेको बताउँछन् । उनी भन्छन्, ‘म लोसपामै छु, लोसपा छाडेको छैन र अहिले कुनै पार्टी बनाउने योजना छैन ।’

आफू लोसपामै रहेर मधेसका लागि बोल्ने र आन्दोलन गर्ने उनले बताए । उनी निकट नेता मेहताले पनि महतोले पार्टी नछाडेको र तत्कालै पार्टी खोल्ने योजना नरहेको दाबी गरे ।

तर मधेसका जिल्ला जिल्ला गएर त्यहाँका जनताको मनोभावना बुझेर आगामी रणनीति बनाउने सोचका साथ महतोले आफ्नो सक्रियता बढाएको स्रोत बताउँछ ।

माघ ५ गतेदेखि औपचारिक रुपमा आफ्नो संगठनलाई लिएर मधेसमा गतिविधि बढाउने तयारीमा रहेका उनी मधेस केन्द्रित दलले आन्दोलनमा साथ नदिए एउटा कुनै संगठन बनाएर मधेसमा आन्दोलन गर्ने योजनामा रहेको बताइएको छ । एक नेताका अनुसार नेता महतो तुरुन्तै पार्टी खोल्दैनन्, सुरुमा एउटा लुज फोरम बनाएर मधेसमा सक्रिय हुने र त्यो फोरममार्फत आउने सुझावको आधारमा नयाँ पार्टी गठन गर्ने तयारी उनको छ ।

आफ्ना निकटस्थसँग भेटघाट

महतो मधेसमा आफ्ना पुराना कार्यकर्तालाई जोड्ने काम गरिरहेका छन् । जिल्ला जिल्लामा गएर लोसपामा रहेका र त्यसबाहिर रहेका विभिन्न नेतालाई सम्पर्क गरी आफूसँग जोड्ने काम उनले गरिरहेका छन् । खासगरी उनले नेपाल सद्भावना पार्टीका पुराना नेताहरुलाई भेटेर छलफल चलाइरहेका छन् ।

महतोले लोसपाका अध्यक्ष ठाकुरले पार्टी चलाउन नसक्ने, पार्टी जथाभाबी सञ्चालन गरिरहेको, पार्टीमा परिवारवाद हाबी भएको र त्यस प्रकारको कार्यशैलीबाट मधेसले मुक्ति नपाउने भन्दै नयाँ ढंगबाट मधेसका लागि काम गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

मधेस आन्दोलनमा लागेका व्यक्तिलाई अदालतले जन्मकैदको फैसला सुनाएको प्रसङ्ग निकाल्दै उनले यसबाट मधेस अन्दोलनको अपमान भएको टिप्पणी गर्दै आएका छन् । लोसपाले सरकारलाई समर्थन गरेको, सरकारमा सहभागी भएको तर मधेस आन्दोलनमा संलग्न नेता तथा कार्यकर्तालाई जन्मकैदको फैसला सुनाएका कारण लोसपाका अध्यक्ष ठाकुर पनि यसमा उत्तिकै दोषी रहेको महतोको तर्क छ ।

लोसपाका नेता अभिराम शर्मालाई जन्मकैदलको फैसला सुनाएपछि आफूले अध्यक्ष ठाकुरलाई फोन गरेर सरकारबाट फिर्ता भएर संघर्षमा जान आग्रह गरेको तर ठाकुरले विज्ञप्ति जारी गरेर तीन वटै तहको सरकारलाई दिएको समर्थन यथावत रहने बताएको पनि महतोले खुलासा गरे । अध्यक्ष ठाकुरले पनि मधेस आन्दोलनमा लागेका नेता तथा कार्यकर्तालाई अपमान गरेको महतोको दाबी छ ।

महतोको असन्तुष्टि लोसपाको केन्द्रीय समितिप्रति छ । लोसपाका अध्यक्ष ठाकुरले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार गर्दा त्यसमा आफ्ना मान्छे नपरेको भन्दै महतो असन्तुष्ट भएका थिए । केन्द्रीय समितिलाई संशोधन गर्न महतोले अध्यक्ष ठाकुरलाई आग्रह गरेका थिए ।

तर अध्यक्ष ठाकुर तयार नभएको भन्दै महतोले केन्द्रीय समितिको बैठक बहिष्कार गरे । त्यसपछि उनी अहिले मधेसमा गएर ठाकुरको भण्डाफोर गर्दै मधेस आन्दोलनको तयारीमा लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप