आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपा विवाद : महतो संवादको प्रतीक्षामा, महन्थ ठाकुर आफ्नै सुरमा

मङ्गलबार, ०३ पुस २०८०, १९ : ३६
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालभित्र शीर्ष दुई नेताबिचको द्वन्द्व चर्किँदै गइरहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले मङ्सिर २४ गते बोलाएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता राजेन्द्र महतोले बहिष्कार गरेपछि दुई जनाबिचको द्वन्द्व ‘पिक’ मा पुगेको छ ।

पछिल्लो समय दुवै जनाको बिचमा बोलचालसमेत बन्द भएको छ । मङ्सिर २४ गते अघि प्रत्येक दिन पार्टी कार्यालय जाने महतो अचेल पार्टी कार्यालय जान पनि छाडेका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि लोसपाका अध्यक्ष ठाकुरले संवादलाई अगाडि बढाउन् भन्ने चाहना महताको छ तर ठाकुरले कुनै रेसपोन्स गरिरहेका छैनन् ।

अध्यक्ष ठाकुरले केन्द्रीय समिति निर्माण गर्दा महतो पक्षका थुप्रै नेतालाई समेटेनन् । त्यसमा नेता महतोले असन्तुष्टि जनाउँदा अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार चाँडै गर्ने र छुटेकालाई समावेश गर्ने प्रतिबद्धता जनाएका थिए । सो प्रतिबद्धता जनाएको दुई महिनाभन्दा बढी भइसक्यो, तर अझै पूरा भएको छैन ।

त्यसैमा असन्तुष्टि जनाउँदै नेता महतोले केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । बैठक बहिष्कारपछि महतो र ठाकुरबिच बोलचालसमेत बन्द भएको छ । लोसपाका मधेस प्रदेश सभा सदस्य अभिराम शर्मालगायत अन्य नेतालाई अदालतले जन्मकैदको फैसला सुनाएपछि महतोले मङ्सिर २९ गते अध्यक्ष ठाकुरलाई फोन गरेर यस घटनामा पार्टीले बोल्नुपर्ने सुझाएका थिए । महतोसँगको फोन संवादमा पनि अध्यक्ष ठाकुरले त्यति राम्रो रेसपोन्स गरेका थिएनन् ।

राम्रो रेसपोन्स नपाएपछि महतोले एउटा विज्ञप्ति जारी गरेर सरकारबाट समर्थन फिर्ता लिन अध्यक्ष ठाकुरलाई आग्रह गरेका थिए । सरकारमा बस्नुको औचित्य समाप्त भएको धारणा उनले विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए ।

त्यसपछि त्यही दिन अध्यक्ष ठाकुरले पनि अदालतले गरेको फैसलाप्रति पार्टीको ध्यानाकर्षण भएको र त्यसको कानुनी उपचार खोज्ने भनेका थिए । अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिभन्दा महतोले जारी गरेको विज्ञप्तिले बढी चर्चा पाएको थियो ।

त्यसको भोलिपल्ट अध्यक्ष ठाकुरले अर्को विज्ञप्ति जारी गरेर गठबन्धनलाई निरन्तरता दिँदै सरकारलाई दिएको समर्थन कायमै रहने जनाएका थिए । सो विज्ञप्तिका कारण दुई जनाबिचको दुरी झन् बढ्यो ।

नेता महतो छुट्टै संगठन बनाउने तयारीमा रहेको बुझिएको छ । माघ ५ गतेदेखि मधेसमा जागरण अभियान चलाउने र त्यसपछि जनताबाट आउने प्रतिक्रियाका आधारमा अगाडि बढ्ने सोचमा महतो रहेको उनी निकट नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप