शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मा पक्षको बैठक आह्वान : छलफलका एजेन्डा तय

बिहीबार, १२ पुस २०८०, २१ : ३४
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बैठक बोलाएको छ । ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेको आरोप लगाउँदै आधिकारिकता दाबी गरिरहेका शर्माले सोमबार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठक आह्वान गरेका हुन् । 

 शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर नयाँ कमिटी घोषणा गरेको दाबी गर्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेर महाधिवेशन सम्पन्न गरेको र त्यससम्बन्धी सबै डकुमेन्ट बुझाएकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ ।  शर्मालाई ११ ‍ ‍औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका महेश श्रेष्ठ तथा पूर्वअध्यक्षलगायतकाे समूहको साथ छ ।

एनआरएनएभित्र भएको धाँधलीको विवादकै बीच बद्री केसीले  शपथ लिएका थिए । केसी पक्षले कुनै धाँधली नभएको दाबी गर्दै आएपनि उनको हरेक कार्यको शर्मा पक्षले विरोध गर्दै आएको छ । यस्तै दुई पक्षबीचको विवाद परराष्ट्र मन्त्रालयमा समेत विचाराधीन रहेको छ । 

सरकारले निर्णय लिन ढिला गर्दा आफूहरूलाई कतिपय काम गर्न  समस्या रहेको भन्दै शर्माले भने, ‘हामीहरूलाई कामहरू गर्न ढिला भइसक्यो । नागरिकताका विषय सम्बोधन गराउन ढिलाइ भएको छ ।’

शर्माले संस्था एकताबद्ध बनाउनु आजको आवश्यकता भएको र त्यो आफूहरूबाट सम्भव भएको बताए । उनका अनुसार सोमबारको आईसीसीको बैठकमा सामाजिक सुरक्षा कोषको विषय, रुस–युक्रेन युद्धको विषयदेखि वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोगेका समस्यालगायतका  समग्र  विषयमा छलफल हुनेछ  । उक्त छलफलमा निस्केका निचोडका आधारमा काम कामकारबाही अघि बढाइने उनको भनाइ छ । 

उनका अनुसार बैठकका लागि विभिन्न एजेन्डा तय भइसकेको छ । भेरो भोटिङमा भएको अनियमितता, परराष्ट्रसँगको सम्बन्ध र सीआईबीको रिपोर्टसम्बन्धी छलफलको एजेन्डा तय गरिएको छ । 

यस्तै हालसम्म भएका कामहरूको समीक्षा,  आईसीसी सदस्य, एनसीसी र पञ्जीकृत सदस्यहरूसँगको समन्वय र जिम्मेवारीका साथै गैरआवासीय नेपाली नागरिकता लिन भएको कठिनाइ सम्बन्धमा पनि छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । 

यस्तै नेपालमा लगानी गर्ने सम्बन्धमा, श्रमिक तथा प्रवासी नेपालीहरूको समस्याका सम्बन्धमा, पूर्ति गर्नु पर्ने पद, पदाधिकारी एवं सदस्य मनोनयन सम्बन्धमा र  समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ ।  बैठक भर्चुअल माध्यमबाट बस्ने छ । 

यसैबीच बद्री केसी पक्षले संस्थाको वेबसाइट डोमेनसँग मिल्दोजुल्दो हुने गरी केही समूहले संघको आधिकारिक इमेल भएको भ्रम सृजना गर्दै विभिन्न व्यक्तिहरूलाई इमेल पठाएको पाइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो पक्षका प्रवक्ता फणीन्द्र पन्तले संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका  इमेलमा प्राप्त हुने सूचनाहरू मात्र संस्थागत र आधिकारिक हुने बताएका छन् ।  

 संघका पदाधिकारीहरूले आन्तरिक रूपमा  इमेल पठाउँदा जीमेल, हटमेल, याहु वा कुनै व्यक्ति र कम्पनीको इमलेबाट प्राप्त हुने सूचनाहरू मान्य नहुने उनको भनाइ छ । एनआरएनएको अक्टोबरमा भएको विश्व सम्मेलन अन्तर्गत चुनावी नतिजाका क्रममा भएको त्रुटिपछि दुई पक्षीय विवाद सतहमा रहेको छ । चुनावी नतिजापछि अध्यक्षका उम्मेदवार रहेका आरके शर्मा र महेश श्रेष्ठले नतिजा स्वीकारेका थिएनन् । तर विवाद नमिल्दै बीच केसीले शपथ लिएपछि असन्तुष्ट पक्षले पनि शर्माको नेतृतवमा अर्को कमिटी बनाएर गतिविधि गर्दै आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप