सुपारीसँगै फस्टायो मरिच खेती
झापा । सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् ।
थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिचखेती गरेका छन् । झापामा पछिल्लो समय ‘जहाँ सुपारी त्यही मरीच’खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय हात्ती प्रभावित क्षेत्रमा मरिचको खेती बढिरहेको छ ।
मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा १५ हेक्टर जमिनमा मरिचको व्यावसायिक खेती भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिहेक्टर एक हजार पाँच सय किलोका दरले मरीच उत्पादन हुन्छ ।
ज्ञान केन्द्रकै तथ्याङ्कका आधारमा यहाँका किसानले मरीच बिक्री गरेर वर्षेनी रु दुई करोड ७० लाख आर्जन गरिरहेका छन् । धेरैजसो मरीच भारतीय व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । बुद्धशान्ति गाउँपालिकाका नेत्र सङ्ग्रौलाले झापामा मरिचखेती गर्ने पहिलो किसान आफू भएको बताए ।
उनले विसं २०४० देखि मरिचको व्यावसायिक खेती गरिरहेको बताए । उनको डेढ बिगाहा जमिनमा अहिले मरीच लहरिएको छ । “पोहोर साल सुपारीको बोटमा लगाएको मरीच १० हजार किलो फल्यो”, उनले भने, “समयमा सिँचाइ गर्न पाएको भए दोब्बर फल्थ्यो, कतैबाट सहयोग पाइँदैन, आफ्नै बलबुतामा यति फलाइयो ।”
पोहोर प्रतिकिलो रु नौ सयमा बिक्री भएको मरीच यसपाली रु एक हजार दुई सयका दरले बिक्री भइरहेको छ । रु नौ लाखमा मरीच बेचिसकेको उनले जानकारी दिए । चालीस वर्ष अघि रोपेको मरिचका बोटले अहिलेसम्म उत्पादन दिइरहेको उनले बताए । नयाँ बिरुवा हुर्काएको तीन वर्षपछि मरीच फल्न थाल्छ ।
किसानको आकर्षण बढे पनि सरकारी निकायले खेती प्रवद्र्धनमा खासै सहयोग नपुर्याएको किसानहरुको गुनासो छ । सरकारी प्रोत्साहन हुने हो भने मरिचखेतीको विस्तार हुने सङ्ग्रौलाले बताए ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान निलकण्ठ तिवारीले एउटै बोटमा पाँच किलोसम्म मरीच फलाएको बताए । उनले दुई सय ५० सुपारीका बोटमा मरीच लगाएको जनाउँदै वार्षिक रुपमा दुई सय किलो उत्पादन भइरहेको जानकारी दिए । “मरिचका आधा जति बोट मरिसके”, उनले भने, “के रोग लागेको हो, पत्तो हुँदैन, विज्ञ प्राविधिक छैनन् ।”
मेचीनगरको वडा नं ४ मा घरैपिच्छे सुपारीखेती र सुपारीको बोटैपिच्छे मरिचका लहरा देख्न पाइन्छ । स्थानीय कृषक युवराज गिरीले वर्षेनी दुई सय किलो मरीच फलाउने गरेको बताए ।
मरिचखेतीमा अरु जस्तो धेरै झञ्झट गर्नु नपर्ने र उत्पादनको बिक्रीका लागि बजारको कुनै समस्या नभएको उनको अनुभव छ । सुपारी बाहेक, आँप र अरु प्रजातिको रुखमा पनि मरीच लहराउने उनले जानकारी दिए ।
नेपालमा इण्डोनेसिया, श्रीलङ्का लगायतका तेस्रो मुलुकबाट मरीच आयात हुने गरेको छ । तेस्रो मुलुकबाट आएको मरिचका कारण स्वदेशी मरिचले भनेजस्तो मूल्य नपाएको किसान बताउँछन् ।
“मूल्यका हिसाबले मरीच कालो सुन हो”, कृषक तिवारीले भने, “यसको व्यावसायिक उत्पादनलाई सरकारले प्रोत्साहित गर्ने हो भने धेरै किसान मरिचखेतीमा लाग्ने थिए, मुलुकमा आर्थिक समृद्धि ल्याउन मरिचले मदत्त पुर्याउने थियो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण