आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालकुमारी घटना : मन्त्री प्रकाश ज्वालाको हर्कतप्रति श्रम मन्त्रालय असन्तुष्ट

आइतबार, १५ पुस २०८०, १८ : ०५
आइतबार, १५ पुस २०८०

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी भयो । ग्वार्को–बालकुमारी सडक खण्डमा मन्त्री ज्वालाको बा.२ झ ५८६१ नम्बरको गाडीमा आगजानी भएको थियो ।

त्यो बेलाको सार्वजनिक गरिएको भिडियोहरूमा मन्त्री ज्वाला नै घटनास्थलमा देखिएका छन् । उनलाई सुरक्षा गार्डले सुरक्षा दिएर सुरक्षित स्थानतर्फ लगेको देखिन्छ ।

ईपीएस मार्फत कोरिया जाने आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका युवाहरू र प्रहरीबीच झडप भएको थियो । त्यही बेला मन्त्री ज्वाला झण्डा फहराउँदै सोही सडकखण्डमा पुगेका थिए ।

मन्त्री ज्वालाले भने उक्त घटनामा आफ्नो कुनै कमजोरी नरहेको भन्दै प्रष्टिकरण दिइरहेका छन् ।

यो घटनामा मन्त्री ज्वालाले आफू घटनास्थलमा भएर पनि थिइनँ भनेर झुट्टो बोलेको भने पुष्टि भइसकेको छ । उनले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएको र आफूलाई बैठकस्थलमा छोडेर फर्किंदा गाडीमा आगजनी भएको बताएका थिए । मन्त्री ज्वालाले शुक्रवार मध्यान्ह रातोपाटीसँग भनेका थिए,  ‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला गाडीमा आगो लगाएछन् ।'

रातोपाटीले मुलुकको जिम्मेवार मन्त्रीको भनाइमा विश्वास गरेर समाचार बनाएको थियो l तर अहिले  सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ । दृश्यमा प्रदर्शनकारीले मन्त्री ज्वालालाई पछाडिबाट धकेलेको र सुरक्षाकर्मीले उनलाई जोगाउन खोजेको पनि देखिन्छ ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि मन्त्री ज्वालाको हर्कतप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

मन्त्रालयका अधिकारीहरूले उक्त घटनाको जिम्मेवार नै मन्त्री ज्वाला रहेको दाबी गर्दै आएका छन् । नाम उल्लेख नगर्ने सर्तमा श्रम मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यत्रो आन्दोलन चर्किरहेको जानकारी मन्त्री ज्यूलाई नहुने कुरा नै थिएन होला । त्यही बाटो जानुपर्ने, बाहिर ओर्लिएर आन्दोलनकारीलाई सम्झाउनुपर्ने काम गलत थियो । उहाँको हर्कत गलत छ ।’  

आन्दोलनकारीहरूले सरकारी अधिकारीमाथि आक्रोश व्यक्त गर्नु स्वभाविक हो । त्यसैमाथि मन्त्री नै झण्डा फहराउँदै निस्किएपछि आन्दोलनकारी थप उग्र बनेको मन्त्रालयका अर्का अधिकारीले बताए ।

ती अधिकारीको भनाई अनुसार उक्त घटनाको जिम्मेवारी मन्त्री ज्वालाले पनि लिनुपर्छ ।

शुक्रबार आन्दोलनरत आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो  भने अर्का एक जनाको लाठी प्रहारबाट मृत्यु भएको थियो ।

उक्त घटनापछि सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ । यसैगरी फिल्डमा खटिएका प्रहरी, ईपीएस कोरिया शाखाका निर्देशकलाई निलम्बन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप