सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको प्रष्टीकरण : बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्नुभयो

सोमबार, १६ पुस २०८०, १६ : ४१
सोमबार, १६ पुस २०८०

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् । नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालको सो प्रतिक्रिया आएको हो । 

सोमवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको सिलसिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको पनि बताए । 

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । ठ्याक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन । आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला । हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर । हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन । त्यसपछि उहाँ सरकारी कामको सिलसिलामा बाहिर निस्कनु भएछ । त्यसमा फस्नुभएको हो । त्यसो हुनाले अरू कुनै सिलसिलामा होइन । आफ्नो पार्टीको बैठकबाट बाहिर निस्किने सिलसिलामा सम्भवतः त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो । यसलाई अन्यथा रूपमा कसैले पनि लिनुपर्ने आवश्यकता छैन । यो मैले प्रस्ट पार्नै पर्ने भएकाले मैले भनेको छु । तर हाम्रो पार्टी यस मामिलामा गम्भीर छ । र, यस सवालमा सरकार पनि गम्भीर छ । र, सरकारले जुन गोली चलेको घटनाको सन्दर्भमा, दुई जनाको मृत्यु भएको सन्दर्भमा त्यसलाई गम्भीरताका साथ लिएर त्यसमा छानबिन गर्ने काम पनि गर्न अगाडि सरेको छ । र, जहाँबाट गल्ती भएको छ । तिनीहरू दण्डित हुनुपर्दछ ।’

अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरू जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए । ‘घटनाले हामी सबैलाई घचघच्याएको छ । नेपाली युवाहरूको विदेशमा पलायन । यो नेपाली युवा, नेपाली जनता विदेशमा जानका लागि ओइरो लागेर जाने स्थिति जुन बनिराखेको छ । गाउँमा युवाहरू खाली भइरहेका छन् । गाउँ युवाविहीन बनिरहेको छ । यस्तो घटना घटेको सन्दर्भमा सबै सरोकारवाला निकायले पनि आफैले आत्म चिन्तन गर्नुपर्ने आवश्यकता पनि छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप