सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ल्याण्डफिल क्षेत्रमा छोराको विवाह हुनै गाह्रो

बुधबार, १८ पुस २०८०, १० : ५५
बुधबार, १८ पुस २०८०

नुवाकाेट । काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ । 

यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन् । त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ । कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ । स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशीलतामा असर गरेको छ । 

ल्याण्डफिल साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच हुँदैन । साथै बैंकले धितोसमेत अस्वीकार गर्न थालेको छ । यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प भएको छ । 

ककनी गाउँपालिका २ का स्थानीय विश्वनाथ बजगाईं र राजकुमार घिमिरे फोहोर आएपछि अहिले ६५ प्रतिशत मानिसलाई क्यान्सर बढेको बताउछन् । जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरूमा रहेको जिकिर उनीहरुको छ । उनीहरुले कृषि उत्पादनहरुमा पनि किरा लाग्ने र बिग्रिने गरेको बताए । फोहोरको गन्धले टाउको दुख्ने समस्या त दैनिक रूपमा नै भोग्नुपर्ने अवस्था रहेको बताए ।

ल्याण्डफिल साइट क्षेत्रमा आर्थिक चक्रमात्र बिथोलिएको होइन, सामाजिक चक्रसमेत प्रभावित हुन थालेको छ । स्थानीय युवतीहरूको विवाह गाउँ बाहिर भए पनि बाहिरबाट विवाह भएर आउनेमा कमी भइसकेको छ । यस क्षेत्रमा बाहिर गाउँ समुदायको कसैले पनि छोरीचेली दिन मान्दैनन् । छोराको बिहेवारिमा कमी हुँदै गएको छ । 

आफ्नो जग्गा छोडेर स्थानीयहरू विस्थापित हुनुपर्ने अवस्था आइसकेको गुनासो उनीहरूको छ । नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहने गरी सुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिलमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौँ उपत्यकाको फोहोर निरन्तर फाल्न थालेको १९ वर्ष बढी भइसकेको छ । 

फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् । यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ । स्थानीय गाउँ छोडेर बसाइँ सर्न थालेका छन् । केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप