सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वैकल्पिक पेसा

रेस्टुरेन्ट व्यवसायमा हिरो हिरोइनको बढ्दो क्रेज

दयाहाङदेखि खुस्बुसम्म अभिनय र व्यवसायलाई एकसाथ लैजाँदै
बुधबार, १८ पुस २०८०, १६ : २३
बुधबार, १८ पुस २०८०

काठमाडौँ । पहिले पहिले कलाकार पूरै फिल्ममा भर पर्थे । फिल्मी गतिविधि बढ्दा उनीहरूको आर्थिक अवस्था मजबुत हुन्थ्यो, घट्दा बिग्रन्थ्यो ।

पछिल्लो समय भने कलाकार कलाकारिताका साथै वैकल्पिक पेसा रोज्न थालेका छन् । यसले उनीहरूलाई सङ्कटको अवस्थामा बचाउने गरेको छ । त्यसैले पनि होला कतिपय कलाकारका लागि वैकल्पिक पेसा अनिवार्य चाहिन्छ भन्न थालेका छन् । अचेल धेरै कलाकारले कलाकारितालाई मात्र आम्दानीको बाटो बताएका छैनन्, विभिन्न पेसामा आबद्ध पनि छन् । तीमध्ये एउटा रेस्टुरेन्ट व्यवसाय सञ्चालन पनि हो । नेपाली चलचित्रका हिटदेखि फ्लपसम्म र नयाँदेखि पुरानासम्म हिरो हिरोइन अहिले रेस्टुरेन्ट धन्दामा आबद्ध छन्, जसको चर्चा यहाँ गर्दै छौँ ।

दयाहाङ राई (अभिनेता) : पछिल्लो समयका सर्वाधिक व्यस्त अभिनेता हुन् दयाहाङ राई । यो वर्ष तीन हिट फिल्म दिन सफल दयाहाङ रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहँदै आएको छन् । थापागाउँस्थित मण्डला थिएटरको माथिल्लो तलामा रहेको ‘लेन्चा खिम रेस्टुराँ एन्ड मुकुन्डो बार’का मुख्य सञ्चालक दयाहाङ नै हुन् । उनका अलवा अभिनेत्री सिर्जना सुब्बा, कलाकार विजय बराल, बुद्धि तामाङको समेत रेस्टुरेन्टमा लगानी छ । दयाहाङ पछिल्लो समय ‘डिग्री माइला’ अभिनयमा व्यस्त छन् । 

प्रदीप खड्का (अभिनेता) : ‘प्रेम गीत’ फिल्मबाट चर्चामा आएका अभिनेता प्रदीप खड्का पछिल्लो समयका स्टार हुन् । ‘पूजार सार्की’, ‘ऐरी’, ‘एक्टर’ लगायत करिब आधा दर्जन फिल्म अभिनयको तर्खरमा रहेका उनले भर्खर रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् । नील सरस्वती मार्गमा रहेको सो रेस्टुरेन्टमा उनका केही पार्टनर छन् । फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेस्टुरेन्टमा जोडिएको प्रदीपले बताए । रेस्टुरेन्ट २ करोडभन्दा बढीको लागतमा खुलेको हो ।

पूजा शर्मा (अभिनेत्री) : अभिनेत्री पूजा शर्माले पनि साउनदेखि ललितपुरको झम्सीखेलमा ‘ट्याग स्पोर्ट्स लाउन्ज एन्ड बार’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छन् ।  चार करोडभन्दा माथिको लगानीमा उनले रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन् । उनको रेस्टुरेन्ट राम्रै चलिरहेको बताइन्छ । उनी पछिल्लो समय ‘दान्भी’ फिल्म अभिनय गरिरहेकी छन् । यो फिल्ममा उनको एक्सन भूमिका छ । उनले अभिनय गरेको र रिलिजको तयारीमा रहेको फिल्म भने ‘उपहार’ हो । उनी रेस्टुरेन्टको अलवा फिल्म निर्माणको सोचमा पनि छिन् ।

सलिनमान बनियाँ (अभिनेता) : फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनयमा देखिएका सलिनमान पनि पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा आबद्ध छन् । उनले गत असोजमा साथीहरूसँग मिलेर काठमाडौँको पर्यटकीय क्षेत्र वसन्तपुरमा कोरियन रेस्टुरेन्ट ‘कोरियन किनी’ खोलेका छन् । त्यसको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका थिए ।

‘चिया अड्डा’ रहेको भवनको माथिल्लो तल्लामा उनको  रेस्टुरेन्ट छ । रेस्टुरेन्टमा कोरियन खानाका परिकारहरू पाइन्छ । सलिनमान आफैँ ‘कोरियन खाना’ का पारखी हुन् । सलिनमानले दोस्रो फिल्मका रूपमा ‘यात्रा’ अभिनय गरेका थिए । त्यसपछि उनी अभिनयमा देखिएका छैनन् ।

वर्षा राउत (अभिनेत्री) : अभिनेत्री वर्षा राउत पनि रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् । वर्षाको काठमाडौँका केही स्थानमा ‘चिया अड्डा’ नामक कफी सप छन् । त्यसका अलवा दरबारमार्गमा रहेको ‘छेजुदो’ कोरियन रेस्टुरेन्टमा समेत उनी आबद्ध छिन् । म्युजिक भिडियोमा पनि बाक्लै देखिने वर्षाले भर्खरै फिल्म ‘महाजात्रा’ अभिनय सकाएकी छन् । उनका हातमा अहिले केही फिल्मसमेत छन् ।

सलोन बस्नेत (अभिनेता) : अभिनेता सलोन बस्नेत पनि रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहँदै आएका छन् । केही वर्ष अगाडि उनले ललितपुरस्थित झम्सीखेलमा ‘आसन लाउन्च एन्ड बार’ सञ्चालनमा ल्याएका थिए । अहिले उनले त्यो छोडेर काठमाडाँैको दरबारमार्गस्थित ‘छेजुदो’ नामक कोरियन रेस्टुरेन्टमा आबद्ध छन् । सलोन पछिल्लो समय फिल्म ‘राजमहल’ अभिनयको तरखरमा छन् । उनको पछिल्लो समय फिल्म ‘जय हो’ प्रदर्शनमा आएको थियो ।

खुस्बु खड्का (अभिनेत्री) : केही समययता अभिनयबाट टाढा रहेकी अभिनेत्री खुस्बु खड्का पनि रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहँदै आएकी छन् । खड्का ठमेलमा  रहेको ‘प्ले ब्वाई लाउन्च एन्ड क्लब’ रेस्टुरेन्टमा विगत पाँच वर्षदेखि आबद्ध छिन् । खड्का अभिनीत पछिल्लो फिल्म ‘रातो टीका निधारमा’ हो । थुप्रै म्युजिक भिडियो अभिनय गरेकी खड्का अहिले दुईवटा फिल्म अभिनयको तरखरमा छिन् । म्युजिक भिडियो अभिनयमा रमाउँदै आएकी खड्काले केही समयअगाडि स्वास्थ्य सामग्रीका साथै ‘रियलस्टेट’ समेतको व्यवसाय गरेकी थिइन् ।

गजित विष्ट (अभिनेता) : अभिनेता गजित विष्ट पनि रेस्टुरेन्ट व्यवसायमा पनि आबद्ध छन् । उनले विगत दुई वर्षदेखि ‘डोरी’ नामक रेस्टुरेन्ट मैतीदेवीमा चलाउँदै आएका छन् । गजित अभिनयको अलवा फिल्म निर्माण पनि सक्रिय छन् । ‘मायाज बार’ बाट अभिनेताका रूपमा डेब्यु गरेका विष्टले ‘हैरान’ लगायत थुप्रै फिल्म अभिनय गरेका छन् । विष्ट पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ४’ मा देखिएका थिए । उनी अभिनीत फिल्म ‘पोखराकी काली’ भने प्रदर्शनमा आउन बाँकी छ । विष्ट म्युजिक भिडियोमा पनि बाक्लै देखिने अभिनेता हुन् ।

नम्रता श्रेष्ठ (अभिनेत्री) : थुप्रै हिट फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठ पनि रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् । उनी ज्ञानेश्वरमा रहेको ‘एटिक’ रेस्टुरेन्टमा आबद्ध छिन् । पहिले ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेस्टुरेन्ट सञ्चालन गरेकी उनले त्यसपछि ज्ञानेश्वरमा सुरु गरेकी हुन् । ‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी नम्रता पछिल्लो समय निर्माताका रूपमा समेत चिनिएकी छन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी उनी लभ स्टोरी फिल्ममा भने राम्रोसँग जम्ने गरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ र ‘जाइरा’ हो । मोडलिङबाट करियर सुरु गरेपछि थिएटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेकी नम्रता बेलाबेलामा प्रेम प्रसङ्गका कारण पनि चर्चामा रहने गर्छिन् । उनी पछिल्लो पटक स्वर्गीय अभिनेता सारुख ताम्राकारको अत्महत्या प्रकरणको विवादमा तानिएकी थिइन् ।

स्वेता खड्का (अभिनेत्री) : स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग फिल्म ‘कहाँ भेटिएला’मार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री स्वेता खड्का पछिल्लो समय अभिनयभन्दा बाहिर छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गरेकी स्वेता अहिले दुईवटा रेस्टुरेन्टमा आबद्ध छिन् । पहिलो दरबारमार्गस्थित राइजिङ मलमा उनको ‘हिमालयन जाभा’ नामक रेस्टुरेन्ट छ । दोस्रो बालुवाटारमा ‘एनिभेन्ट्स’ नामक रस्टुरेन्ट छ । उनले ‘कोहीनूर’, ‘श्रीमान श्रीमती’, ‘हाँसिदेऊ एकफेर’ र ‘कान्छी’ लगायतमा अभिनय गरेकी छन् । ‘कान्छी’ उनी आफैँले बनाएको फिल्म हो । 

सपना लामिछाने (अभिनेत्री) : फिल्म ‘बिन्दास लाइफ’ की अभिनेत्री सपना लामिछाने पनि रेस्टुरेन्ट व्यवसायमा आबद्ध छन् । पछिल्लो समय अभिनयबाट टाढा रहेर उनले काठमाडाँैको तीनकुनेमा ‘द मसरुम हेड लन्च एन्ड बार’ नामक रेस्टुरेन्ट चलाउँदै आएकी छन् । फिल्म ‘फुटपाथ’ बाट अभिनयमा डेब्यु गरेकी उनले टेलिभिजन भिजे हुँदै कलाकारिता रोजेकी हुन् । थुप्रै म्युजिक भिडियो अभिनय गरेकी उनी ‘बिन्दास लाइफ’ पछि अभिनयमा देखिएकी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप