आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको युनान प्रान्तले नेपालसँग कृषि र पर्यटनमा सहकार्य गर्ने

प्रान्तका उपप्रमुखको टोली आजदेखि नेपाल भ्रमणमा
बिहीबार, १९ पुस २०८०, १२ : ३१
बिहीबार, १९ पुस २०८०

चीन । जनवादी गणतन्त्र चीनको युनान प्रान्तले नेपालसँग कृषि उद्यम, प्रविधि र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रस्ताव अगाडि सारेको छ । गत सेप्टेम्बर महिनाको पहिलो साता नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको चीन भ्रमणका क्रममा कृषि उद्यम र पर्यटनमा सहकार्य गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको टोलीमा सरकारका कृषिमन्त्री बेदुराम भुसाल पनि सहभागी थिए । नेता नेपाल र मन्त्री भुसालसहितको टोलीले युनान प्रान्तस्थित कृषि तथा ग्रामीण विकास विभागका अध्यक्ष ली यानसँग कृषि प्रविधि उद्यमसम्बन्धी सहकार्यका विषयमा सहयोगका लागि आग्रह गरेका थिए । सोही अनुसार युनान प्रान्तले पनि नेपालसँग कषि क्षेत्रसँग सहकार्य गर्न सकिने क्षेत्रहरुको पहिचानसहित अगाडि बढ्न पहल गरेको हो ।  

यसैबिच, नेपालको कृषि र पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा सहकार्य अगाडि बढाउने विषयमा छलफल गर्न युनान प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) उपप्रमुख शी युगाङको नेतृत्वको टोली बिहीबार (आज) नेपाल पुग्दैछ । टोलीले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृषि मन्त्री भुसाल र विभिन्न राजनीतिक दलका नेतासँग भेट गर्ने जनाइएको छ ।

चीन भ्रमणका क्रममा कृषिमन्त्री भुसालले उन्नत बिउ, मल, आधुनिक कषि औजारका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका थिए । उनले युनान प्रान्तसँग कृषि क्षेत्रमा सहकार्य गर्न सक्ने सात वटा प्रस्ताव अगाडि सारेका थिए । मन्त्री भुसालले राखेको प्रस्ताव निकै सकारात्मक र दुई देशको कृषि उद्यम आदानप्रदानमा उपयोगी हुने भएपछि युनान प्रान्तका अधिकारीहरुले चासो राखेका थिए ।

चीनले उन्नत जातको धान उत्पादन सुरु गरेको र त्यो प्रविधिलाई नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुक रहेको मन्त्री भुसालले चिनियाँ कृषि प्राविधिकहरुसँगको छलफलमा बताएका थिए । चीनले विकास गरेको सुक्खा भूमिमा पनि धान उत्पादन गर्ने प्रविधि र सिपलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । चीनले प्रतिहेक्टर ८ टन धान उत्पादन गर्ने प्रविधिको विकास गरेको छ । नेपालमा प्रतिहेक्टर ३ दशमवल ७ टनमात्र धान उत्पादन हुने गर्दछ ।

उन्नत जातका धान उत्पादन प्रविधि र जनशक्तिका बारेमा नेपाल सरकार चीनसँग सहकार्य गर्न इच्छुक रहेको मन्त्री भुसालको प्रस्तावपछि युनान प्रान्तले नेपाललाई सहयोग गर्ने कार्ययोजनामा काम सुरु गरेको थियो ।

युनान प्रान्तले नेपालबाट दुध र मासु, अमिलोजन्य फलफूल चीनमा ल्याउने र चीनबाट नेपाल पठाउने वस्तुको बारेमा विस्तृत छलफल गर्न खोजेको छ । युनान प्रान्त चिया उत्पादनका लागि प्रसिद्ध मानिन्छ । युनानले नेपालमा उत्पादन हुने चिया चीनमा आयात गर्न सक्ने प्रस्ताव अगाडि सारेको छ ।

नेपालको कृषि अनुसन्धान परिषद् र युनान प्रान्तस्थित कृषि अनुसन्धान परिषद्बिच सहकार्य गर्ने, नेपालमा रहेको कृषि तथा वन विश्वविद्यालय र युनानस्थित कृषि विश्वविद्यालयबिचको शैक्षिक सहकार्य गर्ने विषयमा पनि छलफल अगाडि बढेको छ ।

कृषिमन्त्री भुसाल र चिनियाँ ग्रामीण विकास विभागका अध्यक्ष लीबिचको बैठकमा सहभागी पूर्व प्रधानमन्त्री नेपालले तत्काल नेपाल सरकार कृषि मन्त्रालय र युनान प्रान्तको विभागका अधिकारीहरुबिच कार्यदल गठन गरी काम सुरु गर्ने प्रतिबद्धता जनाएपछि युनानले सहकार्यमा अलि बढी चासो दिएको हो ।

नेपालबाट युनान प्रान्तले घाँस आयात गर्न चासो राखेको छ । यसअघि नेपालबाट चीनको तिब्बतमा घाँस निर्यात भइसकेको छ । नेपालबाट मासुजन्य खाद्य सामग्री आयात गर्न सक्ने प्रस्ताव पनि युनानले गरेको छ । त्यस विषयमा यस पटक युनान प्रान्तबाट नेपाल भ्रमणका गएका टोलीले छलफल गर्ने भएका छन् ।

चीनले विदेशबाट पनि मासु आयात गर्दै आएको छ । विशेषगरी दक्षिण एसियाली देशबाट चीनले मासु आयात गर्ने गरेको छ । युनान प्रान्तले नेपालबाट पनि मासु आयातको सम्भावनाका विषयमा अध्ययन सुरु गरेको छ ।  

युनान प्रान्त धान, चिया, फलफूल र फूल उत्पादनमा प्रख्यात छ । युनान प्रान्तस्थित कृषि तथा ग्रामीण विभागका अनुसार विश्वका ११० भन्दा बढी देशसँग कृषि उत्पादन आयात निर्यातमा सहकार्य भएको छ । चीनका १५० भन्दा बढी सहरमा युनानमा उत्पादित चिया, फलफूल लगायत कृषिजन्य सामग्री निर्यात हुने गरेको छ । विभिन्न जातका सयौँ फूल र फल उत्पादनका लागि युनान प्रान्त प्रमुख मानिन्छ । 

युनानस्थित कृषि अनुसन्धान केन्द्र चीनको सबैभन्दा क्रियाशील केन्द्र हो । युनानमा रहेको कृषि विश्वविद्यालयले पनि कृषि उत्पादनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेको छ ।

पर्यटकीय केन्द्र युनान

घुमफिरका लागि चीनको युनान प्रान्त प्रमुख पर्यटकीय गतन्य मानिन्छ । युनान प्रान्तको हावापानी जाडो र गर्मी दुवै समयमा समान हुने भएका कारण चिनियाँहरु युनान प्रान्तका पर्यटकीय क्षेत्र घुम्न आउने गरेका छन् । तथ्याङ्कअनुसार सन् २०१९ मा ६७ करोड चिनियाँले युनान घुमेका थिए । सन् २०२३ मा पनि युनान घुम्नेको संख्या वृद्धि भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना महामारी हुनुभन्दा पहिले युनान प्रान्तको राजधानी खुमनिङदेखि काठमाडौँसम्म चाइना इस्टर्नले दैनिक दुई वटा हवाईजहाज मार्फत सेवा दिएको थियो । सन् २०२३ को अगष्ट १४ देखि हप्तामा ३ तीन दिनमात्र हवाई सेवा सुरु गरेको छ ।

यस पटक युनान प्रान्तको उपप्रमुखको भ्रमणमा चिनियाँ र नेपाली टोलीबिच हुने छलफलबाट युनानमा दैनिक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल हुनेछ । आगामी मार्च महिनादेखि दैनिक उडान गर्ने र खुमनिङबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको सिधा उडानको विषयमा पर्यटन मन्त्रालय र चिनियाँ टोलीबिच वार्ता हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप