शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
रहनसहन

थारू कलासंस्कृति संवर्धन गर्न होमस्टेमा लगानी बढाउँदै सुदूरपश्चिम सरकार

सामुदायिक र निजी गरी सुदूरपश्चिममा २५ वटा होमस्टे सञ्चालनमा
शुक्रबार, २० पुस २०८०, ०७ : ५६
शुक्रबार, २० पुस २०८०

धनगढी । स्थानीय तहमा पर्यटन प्रवर्धनको आधारका रूपमा रहेको होमस्टे पछिल्लो समय अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि बढ्न थालेको छ । स्थानीय उत्पादनको स्थानीय स्तरमै खपत तथा बजारीकरण हुने र रोजगारी सिर्जना हुनेहुँदा होमस्टे व्यवसाय बढ्न थालेको हो । पर्यटन प्रवर्धनको अभिन्न अङ्गका रूपमा रहेको यो व्यवसायबाट आम्दानी पनि बढ्न थालेपछि स्थानीयस्तरबाटै होमस्टेप्रति चासो बढ्न थालेको हो । तर पनि सुदूरपश्चिम होमस्टे अझै फस्टाउन भने सकेको छैन ।

एक साताअघि कैलालीको गोदावरी नगरपालिका–८, मजगाउँ थारू सामुदायिक होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन समिति गठन भयो । सो व्यवस्थापन समितिले विधिवत् रूपमै होमस्टे सञ्चालन गर्न थालेको छ । होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चौधरीले थारू कला, संस्कृति, वेशभूषा, खानपान, रहनसहनको संरक्षण संवर्धन गर्ने मुख्य उद्देश्य रहेको बताइन्  । यसबाट पर्यटन प्रवर्धन हुने र स्थानीयवासीलाई रोजगारी पनि उपब्ध हुने उनको दाबी छ । 

योसँगै सुदूरपश्चिममा होमस्टेको सङ्ख्या २५ पुगेको बताइएको छ । होमस्टे महासङ्घ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले सामुदायिक र निजी गरी २५ वटा होमस्टे सञ्चालनमा रहेको जानकारी दिए ।

तर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय धनगढीको २०७८ को तथ्याङ्क अनुसार १३ वटा होमस्टे दर्ता भएका छन् । तीमध्ये सामुदायिक स्तरमा सञ्चालित कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे, गाउँ भादा, घोडाघोडी नगरपालिका–४ स्थित माघी थारू गाउँ सामुदायिक होमस्टे, लम्कीचुहा नगरपालिका–३ स्थित बसेरा थारू होमस्टे व्यावसायिक रूपमा सफल भएका छन् ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित विजयसाल होमस्टे, भीमदत्त नगरपालिका–१४ स्थित रानाथारू सामुदायिक होमस्टेले व्यावसायिक गतिविधि तीव्र पार्दै आएको महासङ्घका अध्यक्ष दहितले बताए ।

Bhada homstay (1)

बझाङको खप्तड छान्ना गाउँपालिका–३ स्थित मुनाल कृषि तथा पर्यटन होमस्टेले पनि व्यावसायिक कारोबारमा राम्रो रहेको बताइएको छ । तथापि सरकारका कार्यक्रमहरू होटलमुखी भएपछि अपेक्षित कारोबार गर्न नसकिएको होमस्टे सञ्चालकहरूको गुनासो छ ।

थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले प्रदेश सकार तथा स्थानीय तहका सबै कार्यक्रम सहरका सुविधा सम्पन्न होटल, रिसोर्टमै हुने हुँदा होमस्टेहरू सरकारबाटै उपेक्षित भएको बताए । थारू कला, संस्कृति, खानपानलाई आधार बनाएर सन् २०११ देखि सञ्चालित थारू होमस्टे गाउँ भादाले पुस १७ गते २२ गतेसम्म होमस्टे महोत्सव नै चलाएको छ ।

होमस्टेमा सरकारको लगानी
पछिल्लो समय होम स्टेको विकास र प्रवर्धनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी गर्दै आएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले भने, ‘पर्यटन प्रवर्धन गरी स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जनामा होमस्टेको विकास गर्न जरुरी छ । सोहीअनुसार प्रदेश सरकारले होमस्टे विकास र विस्तार गर्न लगानी बढाउँदै गएको छ । हामीले प्रदेशवासीलाई भनेका छौँ, होमस्टे व्यवसायमा अग्रसर हुनुहोस्, सहयोग गर्न हामी तत्पर छौँ ।’

Bhada homstay (2)

प्रदेश सरकारले बर्सेनि होमस्टे व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको छ । योसँगै होमस्टेभित्रका घरको भित्री सजावट तथा सुविधामा लगानी गर्दै आएको छ । मन्त्री धामीले भने, ‘हाम्रा परम्परागत घरको बाहिरी स्वरूप कायम गर्नुप¥यो । घरभित्र के कस्तो सुविधा हुने, कस्तो सजावट गर्ने त्यसमा हाम्रो लगानी हुन्छ ।’

प्रदेश सरकारले प्रतिहोमस्टे व्यवस्थापनमा २० लाखसम्ममा खर्च गर्दै आएको बताइएको छ । प्रदेश सरकारले चालु वर्षमा भने १५ लाख बजेट होमस्टे व्यवस्थापनका लागि खर्च गर्ने बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप