बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

शुक्रबार, २० पुस २०८०, ११ : ५०
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । 

३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन् । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ । 

प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ । साथै अन्य सुविधाहरू पनि क्रमशः विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।  गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तव्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाईडिङ स्कुल महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।

  पाउँपालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनले बताए । ‘पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाउँछन्’ उनले भने ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि ९ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको एड्भेन्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो । त्यसपश्चात उनीहरुले स्कुलसँग सहकार्य गर्ने प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए ।

अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन् । सामान्य प्याराग्लाइडिङ विश्वको प्रायः ठाउँमा उपलब्ध रहेको भएपनि हाई अल्टिच्युड नभएको उनले बताए । नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको उच्च सम्भावना रहेकाले यो स्कुल निकै महत्वपूर्ण हुने उनको भनाइ छ । 

‘हामीजस्तो हिमालयको मुलुकमा विभिन्न हिमश्रृंखलाहरूबाट प्याराग्लाडिङ गर्न र एक्स्ट्रिम एड्भेञ्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,’ उनले भने । स्कुल सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन गर्न समेत भूमिका खेल्ने उनको भनाइ छ ।

यसो हुँदा विदेशी मुद्रा आर्जनमा समेत स्कुलले सहयोग गर्ने छ । यसअघि पर्यटकले हेलीबाट हिमाल हेर्दै आएकोमा स्कुल सञ्चालनमा आएपछि अब हिमाल हेर्नका लागि प्याराग्लाइडिङको समेत सम्भावना बढ्ने देखिन्छ’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप