शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
खोरमा कुकुर पस्दा...

मध्यरातमा सरकारी कार्यालयमा कुकुर आतंक, २२ च्याङ्ग्रा मार्दा करिब ५ लाखको क्षति (भिडियोसहित)

शुक्रबार, २० पुस २०८०, १८ : ५०
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । राजधानीको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालयमा नसोचेको घटना भएको छ । बुधवार मध्यरातमा प्रवेश गरेको ५ वटा कुकुरले कम्पनीको खोरमा राखिएका २२ वटा च्याङ्ग्रा मारेका हुन् । 

दसैँ र तिहारका लागि राजधानी बाहिरबाट ल्याइएका च्याङ्ग्रामध्ये बिक्री नभएकालाई कम्पनीले थापाथलीस्थित खोरमा राखिएको थियो । तर, सरकारी कार्यालयमा राखिएका उक्त च्याङ्ग्रामाथि मध्यरातमा कुकुरले समूहमा आक्रमण गर्दा २२ वटा मरेका हुन् ।  जसबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीकी प्रमुख ज्ञानु थापाले बताइन् । उनका अनुसार प्रतिच्याङ्ग्रा करिब २० किलो बराबरका थिए । हाल जिउँदो च्याङ्ग्राको प्रतिकिलो १ हजार १ सय २५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । जसअनुसार २२ च्याङ्ग्राको मूल्य करिब ४ लाख ९५ हजार पर्न जान्छ । 

उनका अनुसार कम्पनीले पर्वका लागि ल्याएको ५ सय ४२ वटा च्याङ्ग्रामध्ये ४७ वटा अझै बाँकी थिए । सोही च्याङ्ग्रालाई थापाथलीस्थित कम्पनीको एउटा खोरमा राख्ने गरिएको थियो ।

 कार्यालयको परिसरमा राखिएका ४७ वटा च्याङ्ग्रामाथि बुधवार मध्यरातमा ५ वटा कुकुरले आक्रमण गरेको थापाले बताइन् । ‘हामीले नियमित रूपमा च्याङ्ग्राको स्याहार गर्दै आएका थियौँ,’ उनले भनिन्, ‘कुकुरले मध्यरातमा पसेर आक्रमण गर्ला भनेर सोचेका समेत थिएनौँ ।’

पुस १८ गते (बुधवार) नियमित रूपमा च्याङ्ग्रालाई घाँस पनि दिएर खोरमा राखेको उनले सुनाइन् । ‘राति १२ बजेदेखि २ बजेको बिचमा कुकुरले आक्रमण गरेको सीसीटिभी फुटेजमा छ,’ उनले भनिन् ‘राति घटना भएकाले सुरक्षा गार्डले समेत थाहा पाएनन् । बिहान हामी आइपुग्दा राति नै घटना भएकाले २२ च्याङ्ग्रा मरिसकेका थिए ।’

कुकुरले आक्रमण गर्दा थप १३ वटा च्याङ्ग्रा घाइते छन्  । १२ वटा भने सकुशल रहेको कम्पनीका बिक्री विभाग प्रमुख भीम थापाले बताए । मरेका च्याङ्ग्रालाई शुक्रवार खाल्डो खनेर मापदण्डअनुसार गाडिएको छ ।  ‘२२ वटा च्याङ्ग्रा मापदण्ड अनुसार गाडेका छौँ,’ उनले भने, ‘१२ वटा सकुशल छन्, १३ घाइते छन् ।’ 

रातोपाटीलाई प्राप्त सीसीटिभी फुटेजमा अनुसार पाँच वटा कुकुरले च्याङ्ग्रामाथि धमाधम आक्रमण गरिरहेको देखिन्छ । आक्रमणपछि च्याङ्ग्रा एकपछि अर्को गर्दै भुईँमा ढलेको देख्न सकिन्छ । आक्रमणपछि रगत बढी बगेर च्याङ्ग्राको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको केन्द्रीय रिफरल पशु चिकित्सालयका अधिकृत तथा पशु चिकित्सक डा. सुदिप रेग्मीले बताए । 

‘बढी रगत बगेर च्याङ्ग्राको मृत्यु भएको हो,’ उनले भने, ‘च्याङ्ग्रालाई टोकेको कुकुरमा रेबिज रोग छ कि भनेर पनि हामीले रेपिड टेस्ट गर्‍यौँ,’ उनले भने, ‘रेबिजको नेगेटिभ अर्थात् रिपोर्टमा रेबिज लागेको छैन भन्ने आएको छ, अन्य रोग छ कि भनेर थप परीक्षण गर्दै छौँ ।’ उनका अनुसार एक हप्तामा सबै रिपोर्ट आउनेछ ।

डा. रेग्मीले घाइते च्याङ्ग्रालाई एन्टिबायोटिक र रेबिज विरुद्धको खोप लगाएको बताए । रेबिज खोप र एन्टिबायोटिक औषधि लगाएको च्याङ्ग्रा खाना मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा रेग्मीले भने, ‘एन्टिबायोटिक र रेबिज खोप लगाएपछि २० दिनदेखि एक महिना पर्खनु पर्ने हुन्छ, त्यसपछि ती च्याङ्ग्राको मासु खाना योग्य हुन्छ ।’ 

खाद्यले नबिकेका करिब २०० हाराहारीका च्याङ्ग्रा एकमुस्ट बिक्रीका लागि टेन्डरसमेत आह्वान गरेको थियो, तर खरिदका लागि कुनै टेन्डर परेको थिएन । त्यसपछि आक्कलझुक्कल कार्यालयबाटै एक/दुई वटा गरेर च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीकी प्रमुख थापाले बताइन् । 

कम्पनीको खोरमा कुकुर कसरी पस्यो भन्ने प्रश्नमा अधिकारीहरूसँग पनि ठोस जवाफ छैन । कम्पनीले काठमाडौँ महानगरपालिकालाई कुकुरको विषयमा बुझ्नका लागि आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप